बिमा ठगीमा परेको सिजी र चिनियाँ कम्पनीबीच सम्झौता

341

काठमाडौं- सिजी इलेक्ट्रोनिक्सका नाममा आफ्नै कम्पनीमा भएको आगलागीको बढी बिमा दाबी गरी करोडौं ठगी गरेको आरोप लागेका नेपालका अर्बपति विनोद चौधरी र अमेरिकाको कालो सुचीमा परेको चिनियाँ कम्पनी हुवावेबीच नेपालमा फोरजी सेवा विस्तार गर्न सम्झौता भएको छ ।

सिजी टेलिकम्युनिकेसन र चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेबीच सम्झौता भएको हो । हुवावेले पछिल्लो समय अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ । नेपालमा फोरजी सेवा सञ्चालनका लागि विनोद चौधरीको सिजी टेलिकम्युनिकेसनले अनुमति पाएको छैन । सिजी टेलिकम्युनिकेसनले फ्रिक्वेन्सी र रोयल्टी समेत नबुझाएका कारण नेपाल सरकारले यस कम्पनीलाई पनि कालो सुचीमा राखेको बुझिएको छ ।

३६ करोड रूपैँया रोयल्टी वापत बुझाउनुपर्नेमा सिजीले नबुझाएको हुँदा उसको अनुमति पत्र रोकिएको जनाइएको छ । जबकि सिजीले २५ अर्ब नेपाली रूपैँया लगानी गर्ने प्रचार गरिरहेको छ । ३६ करोड राष्ट्रलाई रोयल्टी नबुझाएको र ६५ करोड बिमा ठगी गरेकोमा अदालतबाट प्रमाणित समेत भइसकेको अर्बपति विनोद चौधरीको सिजीसंग अमेरिकाको कालो सुचिमा परेको चिनियाँ कम्पनी हुवावेबीचको सम्बन्धकोे रहस्य नेपाली बजारमा भने रहस्यमय नै देखिएको छ । स्मरणीय छ : हुवावेलाई फोरजी सेवा विस्तारको लागि अनुमति दिँदा नेपाल सरकारले एनसेललाई दिएको भन्दा १२ करोड रूपैँया राष्ट्रलाई घाटा गराउने गरी दिएको आरोप लाग्दै आएको छ ।

यसैबीच विनोद चौधरीको सिजी इलेक्ट्रोनिक्सले बिमा ठगी गरेको ठहरसहित उच्च अदालत पाटनका न्यायधीशद्धय नीता गौतम दिक्षित र विष्णु प्रसाद कोइरालाको संयुक्त इजलासबाट भएको फैसला विरुद्ध सर्वोच्च अदालतमा ०७४ चैत १८ मा विनोद चौधरीकै स्वामित्वको युनाइटेड इन्सुरेन्स कम्पनीले पुनरावलोकनका लागि निवेदन दर्ता गराएकोमा हालै मात्र पुनरावलोकनको आदेश समेत भइसकेको बुझिएको छ ।

प्राप्त जानकारी खनुसार १४ जेठ ०७४ को मन्त्रिपरिषद् बैठकले सिजी टेलिकमलाई आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र प्रदान गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो । तर, निर्णयअनुसार राजपत्रमा सूचना प्रकाशित नहुँदा अनुमतिपत्र दिन नसकिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । सिजीले बुझाउन बाँकी फ्रिक्वेन्सी र रोयल्टीसमेत गरी करिब ३६ करोड रूपैयाँ बुझाउनुपर्ने आदेश भएको पनि डेढ वर्ष बितिसकेको छ तर सिजीले बुझाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here