डोटी- रष्ट्रिय पुनर्जागरण अभियान नेपालको गत जेठ १७ र १८ गते काठमाडौंको गोंगबूमा सम्पन्न राष्ट्रिय भेलाले जिल्ला संगठनहरु पुनर्गठन गर्ने निर्णय गरे बमोजिम अभियानका जिल्ला संगठनहरु पुनर्गठन अभियान सक्रियतापूर्वक सम्पन्न भइरहेको जानकारी जिल्लाबाट आइरहेका छन् । यसै क्रममा डोटी जिल्लामा आषाढ १८ गतेका दिन भएको एक भेलाले राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको जिल्ला तदर्थ समिति गठन गरेको छ । अभियानका केन्द्रिय सदस्य वीरबहादुर देउवाको पहल र आयोजनामा भएको सो भेलामा जिल्लाका सबै क्षेत्रहरुबाट प्रतिनिधित्व रहेको थियो।
अभियानले कांग्रेसका हातबाट राष्ट्रिय उद्योगधन्धाहरुको बिक्रि, दासढुंगा हत्याकाण्ड, माओवादी युद्ध, दरबार हत्याकाण्ड तथा १२ बुँदे समझदारीलाई नेपालका विरुद्धमा रचिएका विदेशी षडयन्त्रहरु भएको र २०६३ सालदेखि षडयन्त्रमूलक ढंगले संघीयता र धर्मनिरपेक्षताको खोलमा सुरु गरिएको कथित लोकतन्त्रिक प्रणाली नेपालको विघटन गर्ने ईण्डो-पश्चिमा साम्राज्यवादी शक्तिहरुको योजनामा आधारित रहेको निष्कर्ष निकालेको छ।
‘राष्ट्र पहिलो’को सिद्धान्त अनुसार नेपालको मौलिकतामा आधारित दृष्टिकोण, विचार र मूल्यबाट निर्देशित राज्य प्रणाली तथा सामाजिक जीवन पद्धतिको स्थापनाको लक्ष्यलाई अघि बढाउने अभियानको मान्यताको उद्घोषका साथ भएको उक्त भेलाले गोपाल सूचीकारको संयोजकत्वमा भीमबहादुर बोहरा उप-संयोजक, ध्रुवबहादुर बोगटी सचिव, लोकेन्द्र बोहरा कोषाध्यक्ष तथा सदस्यहरुमा प्रतापसिं विक, प्रकाशबहादुर चन्द, गणेश भट्टराई, करण देउवा, कैलाश खड्का, यदु पाण्डे, भीम पुजारा, अमर देउवा, दिनेश देउवा, ठक्कर साउद, रोशनबहादुर विष्ट, दिपक साउद, तेज महत र निर्मलादेवी महत रहेको जिल्ला तदर्थ समिति गठन गरेको जनाइएको छ । यसअघि अन्य विभिन्न जिल्लाहरुमा जिल्ला तदर्थ समितिहरु गठन भइसकेका छन् ।