हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको समापन

221

 काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा २५ जना महासेनानी दर्जाका शिक्षार्थी सहभागी गराई गत चैत्र ०५ गतेबाट संचालन भएको हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको बुधबार एक विशेष समारोह बीच नारायणहिटीस्थित श्री उपत्यका पृतना हे.क्वा.मा अन्तिम प्रवचन गर्नु भई समापन गर्नुभएको छ ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानसेनापति थापाले नेपाली सेनाको अपरेशनल तहका नेतृत्व वर्ग तयार गर्ने उद्देश्य अनुरुप विगत ६ वर्ष अगाडि देखि नेपाली सेनाले सञ्‍चालन गर्दै आईरहेको यस किसिमको उच्चस्तरको तालिमले जटिल अपरेशनल परिस्थितिको सुक्ष्म मुल्याङ्कन गर्दै सहि निर्णय लिन सक्षम तुल्याउनुका साथै मातहतका नेतृत्व वर्गलाई समेत सोहि बमोजिम निर्देशित गर्न योग्य बनाउन मद्धत पुग्ने जनाउनुभयो । सम्बोधनको क्रममा उहाँले यस तालिमबाट संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यको विविध कार्यहरु प्रभावकारी ढंगले सम्पादन गर्न र अन्य बहुराष्ट्रिय वातावरणमा कमाण्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने जेष्ठ अधिकृतहरु तयार पार्न मद्धत पुग्ने विचार व्यक्त गर्नुभएको थियो । सोहि क्रममा उहाँले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले नेपालको सुरक्षा चुनौतिको विश्‍लेषणको लागि पेशागत दक्षताका साथ उच्च सैनिक संस्कार र मान्यताको थप विकासमा समेत यस किसिमको तालिम फलदायी सावित हुने विश्‍वास व्यक्त गर्नुभएको थियो ।

सोहि क्रममा प्रधानसेनापति थापाले राष्ट्रिय सुरक्षा सँग सम्बन्धित चुनौतिहरुलाई लक्षित गर्दै त्यसको समाधानको लागि राष्ट्रिय सुरक्षा सँग सम्बन्धित सबै निकायहरुलाई एकै ठाउँमा ल्याई प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्ने उद्देश्यका साथ नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय सुरक्षा विश्‍वविद्यालय (National Defence University) को स्थापनाको अवधारणा राखिसकेको उल्लेख गर्नुभएको थियो । राष्ट्रिय सुरक्षा सँग सम्बन्धित चुनौतिहरुलाई समेटेर अध्ययन, विश्‍लेषण र सुझावहरु दिई राष्ट्रिय सुरक्षा विश्‍वविद्यालय स्थापनाको अवधारणालाई परिणाममुखी बनाउन यस तालिम एक कोशे ढुंगा सावित हुने विश्‍वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा प्रधानसेनापति थापाले तालिम सफलतापूर्वक सम्पन्‍न गर्ने सम्पूर्ण शिक्षार्थी अधिकृतहरु तथा तालिमको दौरान सहयोग गर्नु हुने उहाँहरुको परिवारजनहरुलाई बधाई ज्ञापन गर्नुका साथै तालिम सञ्‍चालनको समयमा सहयोग पुर्‍याउनु हुने सबै विभाग, संस्था, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, सञ्‍चार गृहका प्रतिनिधिहरु, आमन्त्रित शिक्षक, प्राध्यापक, प्राज्ञिक तथा बिज्ञहरुलाई आफ्नो अमूल्य समय दिई शिक्षार्थी अधिकृतहरुलाई ज्ञान तथा अनुभवहरु प्रदान गर्नुभएकोमा कृतज्ञता व्यक्त गर्नुभएको थियो । साथै, यस तालिमलाई सफलतापूर्वक सम्पन्न गराउन पुर्‍याएको योगदानको निमित्त सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक, मुख्य शिक्षक, शिक्षकहरु, नेपाली सैनिक वार कलेज र अन्य सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रधानसेनापति थापाले उक्त तालिममा Best Student in Individual Research Paper Writing तर्फ सर्वोत्कृष्ट हुनु हुने महासेनानी माधव थापालाई शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार रु ३० हजार तथा अन्य शिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

समापन कार्यक्रमको प्रारम्भमा तालिमको मुख्य शिक्षक श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी ईश्‍वर हमालले स्वागत मन्तव्य राख्‍नुभएको थियो । उक्त समापन कार्यक्रममा विभिन्‍न विषयका प्राध्यापक, काभ्रेपलाञ्‍चोक जिल्ला मन्डन देउपुर नगरपालिकाका प्रमुख, पूर्व प्रधानसेनापति, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, पूर्व न्यायधिवक्ता, पूर्व सचिवहरु, पूर्व राजदूतहरु, विभिन्‍न विषयका विज्ञहरु, प्राज्ञिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here