गुनासो त्यसैसँग गरिन्छ जोसँग केही आशा र भरोसा हुन्छ : गृहमन्त्री थापा

187

चितवन /  गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले परिवर्तित अवस्थामा सूचना प्रविधिको प्रयोगबाट हुने आपराधिक क्रियाकलाप रोक्नका लागि नेपाल प्रहरीलाई आवश्यक पर्ने वैज्ञानिक स्रोतसाधनको सहजीकरण गर्दै संगठन सबलीकरण गर्न गृह मन्त्रालयले तयारी थालेको जनाउनुभएको छ ।

जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा संचालित १७५औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको सोही शिक्षालयमा आइतबार आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त कुरा जनाउनुभएको हो ।

गृहमन्त्री थापाले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा नेपाल प्रहरीलाई राज्य र आमनागरिकप्रति पूर्ण उत्तरदायित्व बहन गर्नेगरी सेवामुखी बनाउन, प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, बृत्तिबिकासका अवसरलाई तदारुकताकासाथ कार्यान्वयन गर्न, प्रहरी सेवा नागरिक पहुँच र नागरिकमैत्री बनाउनका लागि गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनमा आइसकेको उल्लेख गर्नुभयो ।

राज्यको पुनःसंरचना र कानुनी रुपान्तरणका लागि राज्यले दिएको जिम्मेवारी मन, वचन र कर्मले सम्पादन गर्दै समाजका सिमान्तकृत वर्ग र समुदायलाई संरक्षण गर्न, अपराधवाट पीडितको संरक्षण र पिडकलाई कानुन बमोजिम दण्डित गर्नका लागि कटिबद्व हुन प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।

दीक्षित हुन लागिरहेका प्रहरी कर्मचारीहरुको प्रशिक्षणको समय समाप्त भई परीक्षणको समय शुरु भएको हुनाले अवको यात्रा ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्यतर्फ उन्मुख हुनुपर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘गुनासो त्यसैसँग गरिन्छ जोसँग केही आशा र भरोसा हुन्छ ।’ कार्यसम्पादनको क्रममा स-साना वाधा र अडचनहरु स्वभाविक हुने हुँदा दीक्षित भईजाने नवप्रवेशी प्रहरी सहायक निरीक्षकहरुलाई आ-आफ्नो कार्यक्षेत्रमा आफूले सिकेका ज्ञान, सीप, कलालाई पूर्णरुपमा पालना गरी राज्यले दिएको जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गर्न उहाँले शुभकामना दिनुभयो ।

सो अवसरमा गृहमन्त्री थापाले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र र उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण समेत गर्नुभयो ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवा विशुद्ध रुपमा एक ब्यावसायिक, अनुशासित एवं मर्यादित सेवा हो भन्ने भावनाले प्रेरित भई दीक्षित प्रहरी कर्मचारीले व्यावसायिक जीवनको यस खुशियाली क्षणमा गरेको प्रणलाई आत्मसात गरी हरेक प्रहर क्रियाशील रहेर नागिरक र प्रहरीबीचको सम्वन्धलाई प्रगाढ तुल्याउन लाग्नुपर्ने बताउनुभयो । प्रहरी सेवामा कार्यरत रही सेवानिवृत्त हुँदा गर्वले छाती चौडा भएको महसुस हुनेगरी नागरिक र समाजको हितलाई नै सर्वोपरी ठानी कार्यसम्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको औंल्याउँदै उहाँले भन्नुभयो, ‘नागरिक र प्रहरी समाजका अभिन्न अंग हुन् ।’ कानुनी राज्यमा अपराधी उम्कन नसक्ने, सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरीबाट कहिल्यै हुन सक्दैन भन्नेतर्फ जोड दिँदै प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध भएर लाग्न दीक्षित प्रहरी सहायक निरीक्षकहरुलाई निर्देशन समेत दिनुभयो ।

२०७५ साउन २७ गतेदेखि संचालित उक्त तालिममा ३ सय ५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई उहाँहरुका अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।

समारोहमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, गृह मन्त्रालयका सल्लाहकारद्वय सूर्य सुवेदी र डा।ईन्द्रजित राई, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, निजामती, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु, संचारकर्मी, चितवन जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरु, नागरिक समाजका प्रतिनिधिहरु, अमर प्रहरी परिवार, पूर्व प्रहरी कर्मचारीहरु, आमन्त्रित अन्य अतिथि एवं प्रशिक्षार्थीका अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here