अर्जेन्टिना तेस्रो स्थानमा चित्त बुझाउन बाध्य

98

विश्व फुटबलकै सबैभन्दा पुरानो प्रतियोगिता कोपा अमेरिका २०१९ को उपाधिमा अर्जेन्टिना तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । सेमिफाइनलमा आयोजक ब्राजिलसँगै पराजित भएको अर्जेन्टिनाले तेस्रो स्थानको लागि भएको खेलमा साविक विजेता चिलीलाई २-१ ले गराएको छ । आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको थियो। चिलीविरुद्धको जित अर्जेन्टिनाको लागि सहानुभूति जस्तो थियो तर पछिल्लो दुई संस्करण चिलीसँगै पराजित भएर लगातार उपविजेतामै सीमित भएको अर्जेन्टिनाको लागि यो बदला पनि थियो।

सन् २०१५ र २०१६ को कोपा फाइनलमा अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमै हारेको थियो। यसपटक फाइनल खेल्न नपाएका दुवै टोली तेस्रो हुने होडमा भिड्दै थिए। यसमा अर्जेन्टिना सफल भयो। तर यो नतिजालाई छायामा पार्ने गरी अर्को घटना भयो। अर्जेन्टिनाका कप्तान तथा वर्तमान विश्वकै उत्कृष्ट खेलाडीका रुपमा रहेका लिओनेल मेसीले रातो कार्ड पायो । सेमिफाइनलसम्म खेल्दा जम्मा एक गोलमात्र गरेका मेसीले यसपटक रेफ्रीहरुले राम्रो निर्णय नगरेको भन्दै आलोचना गर्दै आएका थिए।

तेस्रो स्थानको लागि भएको खेलमा पनि मेसी गोल गर्न असफल त भए नै उल्टो रातो कार्ड पाएर मैदानबाट बाहिरिन बाध्य भए । मेसीले करिअरकै दोस्रो रातो कार्ड पाएका हुन्। मैदानमा शान्त स्वभावका साथ आफ्नो उत्कृष्ट खेल कौशल देखाउने माहिर चिनिने मेसीले ३७औँ मिनेटमा चिलीका ग्यारी मेडलसँग झगडाको कारण रातो कार्डको भागीदार बने। मेसी र मेडलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा झरेका थिए। तर त्यसअघि नै सर्जियो अगुयरोले १२औँ र पाउलो डिबलाले २२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाइसकेका थिए।

दोस्रो हाफमा अर्टुरो भिदालले पेनाल्टीमार्फत एक गोल फर्काए पनि चिलीले हार टार्न सकेन । कोपाको ४६औँ संस्करणको उपाधिका लागि घरेलु टोली ब्राजिल र पेरु सोमबार बिहान पौने २ बजे भिड्दैछन् । ब्राजिल २००७ मा उपाधि जितेपछि पहिलो पटक फाइनल खेल्न लागेको हो भने पेरुले ४४ वर्षपछि फाइनलमा स्थान बनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here