कुलेखानी जलाशयको सतह बढ्यो ! खतराको संकेत

18

हेटौँडा /  कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर गाउँपालिकामा रहेको जलाशयमा पानी जम्मा हुने क्रम बढेसँग खतराको संकेत देखिएपछि सतर्कता अपनाइएको छ ।

जलाशयको जलाधार क्षेत्रमा गएरातिबाट अधिक वर्षा भएर जलाशय पानी सङ्कलन एकाएक तीब्र भएपछि आयोजनाले सतर्कता अपनाएको हो ।

जलाशयमा वरपरको क्षेत्रमा पानी अधिक परेपछि अहिले प्रतिघण्टा दुई मिटरको दरले जलाशयमा पानी भरिनेक्रम बढेको छ । यो क्रम बढिरहेमा जलाशय र वरपरको क्षेत्रमा खतरा बढ्ने भएकोले ढोका खोलेर पानी निकाल्नु पर्ने अवस्था आउने कुलेखानी प्रथमका आयोजना प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो । जलाशय भरिने संभावना बढेपछि जलाशयमा भरिएको पानीको व्यवस्थापन गर्न नियन्त्रित निकास दिने तयारी गरिएको छ ।

कुलेखानी आयोजनाको जलाशय ईन्द्रसरोवरमा समुन्द्री हतहबाट १५ सय ३० मिटरको उचाईसम्म पानी जम्मा सङ्कलन हुने रहेको छ । जलाशयमा हाल १५ सय २५ दशमलव ७५ मिटरसम्म पानी सङ्कलन भएको छ । जलाशयका लागि पानी आउने क्षेत्रका खोलानालामा पानीको बहाव बढेसँगै जोखिम बढेको हो । जलाशय भरिँदै गएपछि आयोजनाले सचेतता अपनाउनुका साथै आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासहित सिन्धुली, सर्लाही र रौतहट जिल्लाका वागमती खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here