बिपी प्रतिष्ठानमा करोडौं भ्रष्टाचार: तत्कालीन उपकूलसहित ८ जनालाई भ्रष्टाचार मुद्दा

66

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक ‘स्पेशिफिकेशन’ र सोही कागजमा सङ्लग्न खरीद सम्झौताका शर्त अनुरुप काम नगरेको पाइएको छ । खरीद प्रक्रियामा उल्लेख भएका व्यवस्था उल्लङ्घन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई बोलपत्रको स्वीकृति तथा सम्झौता गरेको उनीहरु माथि आरोप छ ।

आयोगले तत्कालीन उपकुलपति दासविरुद्ध ४ करोड आठ लाख ९८ हजार, रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । यस्तै अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध ३ करोड ७५ लाख ३० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।

बोलपत्रको तथ्य विश्लेषण नगरी भुक्तानी दिन लेखा प्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार, उपप्रबन्धक अमित श्रीवास्तवविरुद्ध १ करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उपकरण सप्लायर्स प्रोसिजना मेडिकल प्रालि, वायोमेड इन्टरनेशनल प्रालिका चेतन अग्रवाल, उपकरण आपूर्ति गर्ने वितरक सर्जिमके डिस्टिब्यूटरका उमेश अग्रवालले विभिन्न सामान आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरेको पाइएको छ । आयोगले चेतनविरुद्ध १ करोड ४ लाख १६ हजार, उमेशविरुद्ध ६० लाख ३६ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरिदार नीता शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खरिदार शर्माले कार्यालयबाट खरीद भएको सामानको भुक्तानी दिने सन्दर्भमा सेवाग्राहीसँग ७० हजार घुस मागेको अभियोग लागेको छ ।

आरोपी शर्माविरुद्ध जरिवाना र कैद सजायको माग गरिएको छ । आयोगले जलस्रोत तथा सिँचाइ विभाग डिभिजन कार्यालय भोजपुरका सिडिइ मोहनबाबु यादवलाई १ लाख ८० हजार घुससहित आज पक्राउ गरेको छ । सिँचाइ कार्यक्रमको बील स्वीकृत गर्ने प्रयोजनका लागि सिडिइ यादवले घुस मागेको अभियोग लागेको छ । आरोपी यादवलाई भोजपुर नगरपालिका–७ स्थित फुपू भदैनी होटलबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगले आजै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख सिडिइ अजितकुमार श्रीवास्तव र इञ्जिनीयर ग्रीष्मा ठगुन्नाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले बील मिलाइदिने भन्दै एक सेवाग्राहीसँग २ लाख घुस मागेका थिए । आयोगले दुवै जनाबाट बिगो असुल गरी कैद सजायको मागसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here