प्रदेश २ का मन्त्रीहरुले बाढी पीडितलाई दिने भए एक महिनाको तलब

77

जनकपुरधाम /  प्रदेश नम्बर २ का मन्त्रीहरुले बाढी पीडितलाई एक महिनाको तलब दिने भएका छन् । अविरल वर्षापछि प्रभावित भएका पीडित परिवारलाई राहतका लागि प्रदेश २ का मन्त्रिपरिषद सदस्यले एक महिनाको तलब दिने भएका हुन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।

बैठकले प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन पनि आग्रह गरेको छ ।

बैठकले बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति गठन गरेको छ । समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण गर्नेछ ।

प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने जनाइएको छ ।

प्रदेश सरकारले यसअघि नै बाढीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here