धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न साना राजनीतिक दलले गरे आन्दोलनको घोषणा

170

काठमाडौँ– सरकारले मुलुकको धर्म र संस्कृतिको नष्ट गरेको भन्दै धर्म र संस्कृतिको रक्षाका लागि विभिन्न साना राजनीतिक दलहरूले संयुक्त रूपमा सरकार विरोधी आन्दोलनको घोषणा गरेका छन् ।

मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्नु आफूहरूको मुख्य उद्देश्य रहेको उनीहरूको भनाइ छ । संसद भन्दा बाहिर रहेका वाम–प्रजातान्त्रिक दुवै धारको राजनीतिमा सक्रिय रहेका साना दलहरूले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न सरकार विरोधी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा (माले) का महासचिव सीपी मैनालीले जनाएका छन् ।

संयुक्त राष्ट्रिय आन्दोलन नाम दिइएको सो समूहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (बीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका नौ वटा राजनीतिक दलहरू आबद्ध रहेका छन् । देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दबाब दिन पनि आफूहरूले संयुक्त आन्दोलन सुरु गरेको मैनालीको भनाइ छ ।

नेपाली कांग्रेस (बीपी) का उपसभापति झलक वाग्लेले नागरिकता जथाभावी वितरण गरिएकाले त्यसको छानबिनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको जनाएका छन् ।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने, राष्ट्रियताको रक्षा, धर्म र संस्कृतिको संरक्षणका लागि विचार मिल्ने सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने पनि उनीहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here