काठमाडौंको सडकमा हिँड्दा शौचालय नभेटेर भौतारिनु भएको त छैन ?

37

काठमाडौं / काठमाडौंको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौतारिनु भएको त छैन ? शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया/खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले ।

कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा अब शौचकै लागि खाजा नखाई नै शौचालय प्रयोग गर्न पाउनु हुनेछ । ती होटल/रेष्टुराँसँगको सहकार्यमा कामपाले चालू आवभित्रै यो योजना शुरु गर्न लागेको हो । आगामी दिनमा अरु होटलमा समेत विस्तार गर्दै जाने कामपाको योजना छ ।

महानगरभित्रका ५० वटा होटलसँग सम्झौता भइसकेको कामपाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार यी होटलमा महानगरवासीले कुनै पनि खानेकुरा नखाँदा पनि पैसा तिरेर शौचालय प्रयोग गर्न पाउनेछन् ।

शौचालय प्रयोग गरेबापत तिनुपर्ने शुल्कलगायतका विषयमा भने टुङ्गो लगाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सबै कुराको टुङ्गो लागेपछि नै ती शौचालय सञ्चालनमा आउने छन् ।’

आयोगले केही समय पहिले प्रतिष्पर्धाबाट नै महानगरका लागि नयाँ योजनाको छनोट गर्दा शौचालयमा होटल/रेष्टुराँसँग सहकार्य गर्ने अवधारणा प्रथम भएको थियो । उक्त अवधारणानुसार नै होटल/रेष्टुराँसँग कुराकानी गरिएको उहाँले भन्नुभयो, ‘अहिले ५० वटामा सञ्चालन भएपछि अरु होटल पनि थपिने आशा गरिएको छ ।’

देशको सबैभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने महानगरपालिकामा सार्वजनिक शौचालयको अवस्था दयनीय छ । एकातिर शौचालय आवश्यकताभन्दा कम छन् भने अर्कातिर भएका शौचालयको पनि व्यवस्थापन नराम्रो छ । महानगरभित्र शौचालयको सङ्ख्या बढाउनुपर्ने र भएका सफासुग्घर गरेर सञ्चालन गर्नुपर्ने महानगरवासीले माग गरेपछि कामपाले यस्तो योजना बनाएको उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

महानगरमा अहिले सञ्चालनमा रहेका ५७ वटा सार्वजनिक शौचालयमध्ये अधिकांशको अवस्था राम्रो नभएको बस्नेतले जनाउँदै महानगरले गरेको अनुगमनका आधारमा ती शौचालयलाई स्तरोन्नतिको योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

कामपाले यस वर्षको बजेटमा शौचालय निर्माणका लागि रु एक करोड ५० लाख छुट्टाएको थियो । यो रकमबाट ४० शौचालय निर्माण गर्ने कामपाको योजना छ । शौचालय निर्माणमा कतिपय व्यावसायिक प्रतिष्ठान, सरकारी र गैरसरकारी संस्थाले पनि चासो देखाएका छन् । ती संस्थालाई पनि समेटेर जाने कामपाको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here