वर्गीय मुक्तिको नाराले बिजारोपण गरेको जातीय द्वन्द

108

– राज्यलक्ष्मी शाक्य

दलित शब्द आफैंमा अपहेलित शब्द हो । दलित शब्दले अल्पसंख्यक जातिलाई जनाउँछ । राजनीतिक अर्थमा भन्ने हो भने हाम्रो देशमा अहिले नेपाली कांग्रेस पनि दलित बन्न पुगेको छ । जसको संख्या कम हुन्छ उसको आवाज पनि कमजोर हुन्छ भन्ने कुरा नेपाली कांग्रेसको वर्तमान अवस्थाले देखाइरहेको छ । त्यसैले नेपालको राजनीतिमा नेपाली कांग्रेसको अवस्था संविधानमा उल्लेख गरिएको दलितको अवस्था जस्तै बन्न पुगेको छ ।

जातिय आधारमा भन्नु पर्दा नेपालमा दलित मानिने जातिहरू अन्य कुनै देशमा दलित मानिदैनन् । यो शब्द अपहेलित शब्द हो । यस्तो शब्दले नेपालको संविधानसभाबाटै निर्माण गरिएको संविधानमा महत्वपूर्ण स्थान पाएको छ । दलितका नामबाट राजनीतिमा हैसियत बनाएकाहरूले दलित समाजभित्रै शोषण गरिरहेका हुन्छन् । शोषण भन्ने कुरा आर्थिक सम्पन्नतामा निर्भर रहन्छ । दलितको कोटाबाट राजनीतिमा नियुक्ति पाएकाहरू र दलितकै कोटाबाट समावेशी राजनीतिका नाममा अवसर प्राप्त गरेर सांसद बन्न सफल भएका व्यक्तिहरू आर्थिक रूपमा सम्पन्न देखिन्छन् । त्यसैले पनि उनीहरूको दलित समाजप्रतिको व्यवहार दलित समुदायप्रति जिम्मेवारीबोधको पाइँदैन । यस्तो अवस्था समावेशिताको चरम उपहास हो भन्ने मलाई लाग्छ ।

हुन त धार्मिक अन्धवादीहरूले सबैभन्दा बढी छुवाछुतको संस्कारलाई अवलम्वन गरेको पाइन्छ । त्यसमा पनि हामी हिन्दू धर्मका अनुयायीहरू भनौं वा ओमकार परिवार भित्रका नागरिकहरू भनौं धर्मका आडमा छुवाछुत प्रथालाई बढावा दिइरहेका हुन्छौं । यो आजको सामाजिक यथार्थता हो । हामी जबसम्म यो सामाजिक विभेदको कूसंस्कारबाट माथि उठ्न सक्दैनौ, तबसम्म यसको अन्त्यको परिकल्पना नगरेपनि हुन्छ ।

हाम्रो समाजको संस्कारमा रहेका विकृतिहरूको मुख्य दोषी भनेको प्रत्यक्ष रूपमा धर्म जस्तो देखिए पनि यथार्थमा दोषी राजनीतिक व्यवस्था नै हो । राजनीतिक व्यवस्था जनपक्षीय हुने हो भने त्यही राजनीतिक संस्कारबाट धार्मिक व्यवहार पनि निदेर्शित हुन पुग्दछ । राजनीतिले नै सबै कुरालाई प्रभावित पार्न सक्छ भन्ने कुरा व्यवहारिक रूपमा समेत पुष्टि भइसकेको विषय हो । हाम्रो नेपालको वर्तमान संविधानले समाजवादको परिकल्पना गरेको छ । यसरी हामी के बुझ्न सक्दछौं भने वर्तमान राजनीतिक व्यवस्था समाजवादको गन्तव्यतर्फ लक्षित व्यवस्था हो । दलित भन्ना साथ समाजवाद विरोधी शब्दका रूपमा बुझिन्छ । समाजवादीहरूबीच कोही दलित हुन सक्दैन । समाजवादीहरूबीच छुवाछुतको भावना हुन सक्दैन । समाजवादीहरूबीच कोही उच्च र कोही तल्लो जातको मानिस हुन सक्दैन । समाजवादीहरूबीच धनी र गरिब पनि हुन सक्दैन । मैले बुझेको समाजवाद यस्तै हो । कति सुन्दर व्यवस्था छ समाजवादी व्यवस्था ? यस्तो राम्रो राजनीतिक व्यवस्थाको परिकल्पना गरिएको संविधानमा दलित समुदायको नाममा सांसद मनोनयन गर्ने लज्जाजनक राजनीतिक संस्कारलाई अवलम्वन गरिएको छ ।

दलित शब्द उच्च जातीय अहंकार भएको पुँजीवादी व्यवस्था र विचारको अभिव्यक्ति हो । त्यसैले समाजवादी व्यवस्थामा दलित वा समावेशीका नाममा सम्बोधन गरेर समाजलाई विभेद गर्ने आधार स्वीकार्य हुन सक्दैन । नेपाली समाजमा विद्यमान जातीय विभेदको परम्परा निकै पुरानो छ । यो जातीय विभेदलाई अन्त्य गर्न वर्गीय राजनीतिका हतियार पनि भुत्ते साबित भइसकेका छन् । दश वर्षको हिंसात्मक युद्धबाट जातीय विभेदको अन्त्य हुनुको साटो जातीय द्वन्दको बिजारोपण गर्ने काम भयो । वर्गीय मुक्तिको नारासँगै सुरु भएको हिंसात्मक युद्धले किन जातीय द्वन्दको बिजारोपण ग¥यो ? यसैबाट पनि हामी बुझ्न सक्दछौं कि वर्गीय राजनीतिका नाममा उठाइएका हतियारले विकृतिको बाटो लिएको छ ।

समावेशीका नाममा मनोनयनमा पर्ने मधेशी, महिला, जनजाति तथा दलितहरू नै आफ्नै समुदायभित्रका शोषक देखिन्छन् । विभेदमा परेका समुदायका तर्फबाट समावेशीको गलत व्याख्या गरी उच्च जातीय अहंकारकै स्वार्थ अनुरूपको आचरणलाई अवसर दिने गरिएको छ । तर जुन समुदायबाट मनोनित भएका हुन्छन, त्यही समुदायभित्र शोषण गर्ने आचरण मनोनित व्यक्तिहरूमा रहेको पाइन्छ । समाजमा रहेको यस्तो खालको शोषणलाई अन्त्य गर्न समाजवादी चिन्तनमा आधारित राजनीतिक व्यवस्था नै आवश्यक हुन्छ । आर्थिक रूपमा सम्पन्न र पढेलेखेको दलितले दलित समाजकै नाममा पदीय हैसियत प्राप्त गरेर राज्यको सुविधा लिइरहेको हुन्छ । तर उसले दलित समाजमाथि नै शोषण गरिरहेको हुन्छ र अवसर पाइरहेको हुन्छ । यही अवस्था महिला जनजाति र मधेशीमा पनि छ । मधेशी जनता मधेशी नेताहरूबाटै शोषित छन् र पीडित पनि छन् । मधेशी जनताका नामबाट र विभेदमा परेका मधेशीको कोटाबाट राजनीति वा अन्य विभिन्न निकायमा अवसर प्राप्त गरेका व्यक्तिहरूबाटै समग्र मधेश शोषित छ । यो आजको यथार्थ हो । यो यथार्थबाट मुक्ति पाउन हाम्रो संविधानले परिकल्पना गरेको समाजवादको गन्तव्य कतातिर परिलक्षित छ ? यो संविधानका निर्माताहरू नै दुईतिहाई बहुमतका साथ सत्तामा पुगेका भए पनि वर्तमान अवस्थामा समाजवादतर्फको गन्तव्य सफल होला भनेर आशा गर्न सकिने अवस्था छैन । -rajyalaxmishakya@gmail.com -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here