नेकपाका कार्यकर्ताहरूले जनवादी शिक्षा राप्रपाको प्रशिक्षण विभागबाट लिए हुदैन र ?

221

– चन्द्रप्रकाश बानियाँ

सदियौंदेखि बोलीचालीमा प्रयुक्त हुदै आएका केही नाता सम्बन्ध जनाउने शब्दहरू अब नेपाली समाजबाट अस्ताउने सुरसारमा छन् । शब्दहरूको आयु अभ्यासमा निर्भर रहन्छ । जब अभ्यासबाट शब्दहरू छुट्छन् तव तिनको मृत्यु अनिवार्य बन्छ अथवा त्यस्ता शब्दहरू शब्दकोशको शोभामा सीमित रहन्छन् । आजकालको अभ्यासमा आमाले सासुलाई, ससुरालाई बुबाले, सालीलाई वैनीले, सालालाई भाइले र जेठानलाई दाइले विस्थापित गरिसकेको छ भन्दा फरक पर्दैन । व्यवहारमा ठिकै देखिए पनि त्यस्तो अभ्यासले शब्दकोश साँघु¥याउने कुरा निश्चित हुने कुरा त स्ववाभाविक भयो साथसाथै त्यस्ता शब्दहरूले सम्प्रेषण गर्ने अन्तर्निहित भावको नितान्त अभाव खड्कने परिस्थिति निर्माण हुनेछ । किनकि आमा आमै हुन् सासु होइनन् र सासु सासु नै हुन् आमा होइनन् । आमा र सासुले भावनाको होइन साइनोको प्रनिनिधित्व गर्छन् । त्यसैले आमा र सासु पर्याय होइनन्, हुनै सक्तैनन् । ती भिन्न प्रकृतिका नाता जनाउने फरक शब्दहरू नै हुन् । बुहारीले सासुलाई आमा भनुन् वा सासुले बुहारीलाई छोरी भनुन् मनैदेखि उनीहरू त्यस्तो सम्बोधनका लागि तयार भैसकेको अवस्था होजस्तो लाग्दैन । सासु र बुहारीको नाता आमा छोरीमा भावनात्मकरूपले रूपान्तरित भैसकेको छ भन्नु बढ्तै हुन्छ । बुहारीले सासुलाई मुखले आमा भने पनि मनले आमा मानेको हुदैन । कुनै सासुले बुहारीलाई छोरी भनेर मनले मान्ने कुरा त परै रहोस् लोकाचारको लागि मुखले छोरी भनेर सम्बोधन गर्न लाज मानेको देखिन्छ । अर्थात नेपाली समाजमा यतिखेर नातासम्बन्धका सम्बोधनशब्दहरूको नयाँ प्रयोग गर्ने जुन अभ्यास सुरु भएको छ त्यो मनैदेखिको रूपान्तरण होइन । अभ्यास जस्तो सुरु भएको किन नहोस् आमा र सासु, बाबु र ससुरा, साला र भाइ, दाजु र जेठान जस्ता शब्दहरू एक अर्काका पर्याय होइनन् । तिनले भिन्न भावको प्रतिनिधित्व गर्छन् ।

कम्युनिष्ट समाजमा ‘जनवाद’ भन्ने एउटा सर्वाधिक लोकप्रिय शब्दावली प्रयोगमा रहँदै आएको छ । शब्दार्थले वा भावात्मक साराशंसमा त्यसले पनि जनतन्त्र वा लोकतन्त्र भन्ने जनाउँछ । पूँजिवादी खेमाले प्रयोग गर्ने लोकतन्त्र र कम्युनिष्टहरूले प्रयोग गर्ने जनतन्त्र पर्यायवाची शब्द नै हुन् । अँग्रजीको ‘पिपल्स् डेमाक्रेसी’ ती दुबैको साझा भाषान्तरण हुन्छ । लोकतन्त्र होस् वा जनतन्त्र अथवा जनवाद तिनको भाषिक अर्थ विलकुल एउटै हो । तर जसरी आमा र सासुले अभिव्यक्त गर्ने नातासम्बन्ध एउटै हुदैन त्यसैगरी कम्युष्टिको जनतन्त्र र प्रजातान्त्रिक खेमाको लोकतन्त्रले समान भाव सम्प्रेषण गर्दैनन् । गर्न सक्दैनन् ।

नेपालले अवलम्बन गरेको राजनीतिक व्यवस्थालाई नेपालको संविधान २०७२ ले ‘लोकतान्त्रिक गणतन्त्र’ भनेर परिभाषित गरेको छ । अर्थात नेपालमा तेश्रो जनआन्दोलनबाट स्थापित भएको व्यवस्था प्रजातन्त्रवादीहरूले भनेजस्तो राजनीतिक प्रणाली नै हो । यहीँनेर बिर्सन नहुने कुरा के रहेको छ भने लोकतान्त्रिक चरीत्रको गणतन्त्र स्थापनामा लोकतन्त्रवादीहरूको भन्दा कम योगदान जनतन्त्रवादीहीरुको पनि छैन । जनतन्त्रवादीहरूले लोकतन्त्र स्थापना गर्नका लागि प्रशस्त रगत पसिना खर्चेका छन्, परिश्रम र योगदान गरेका छन् । त्यसले लोतान्त्रिक गणतन्त्रप्रति उनीहरूमा अपनत्वभाव छ, माया छ, लगाव छ र गहिरो सम्बन्ध छ । आफ्नो परिश्रम र वलिदान समेतबाट आर्जित भएको व्यवस्था हुनाले त्यसबाट अलग रहने वा बाहिर जाने कल्पना उनीहरूले गर्न सक्दैनन् ।

लोकतान्त्रिक व्यवस्थाका अभिन्न खेलाडी बनिसकेका नेपालका कम्युनिष्टहरूमा आजपर्यन्त अनौठो द्विविधा विद्यमान रहेको देखिन्छ । उनीहरूले आफूलाई लोकतन्त्रमा अभ्यस्त बनाइसकेका छन् र पनि आफूलाई कम्युनिष्ट भनाउने लोभबाट मुक्त गर्न सकेका छैनन् । आचरण र व्यवहारका दृष्टिले उनीहरूले आफूलाई कम्युनिष्ट मान्यताबाट निकै टाढा पु¥याइसकेका भए पनि कम्युनिष्ट भनाउने लोभ संवरण गर्न नसक्नु दशनामी समाजले आफूलाई आचरणले सन्यासधर्मबाट च्यूत गरिसकेका भए पनि गिरी, पुरी, भारतीजस्ता पदहरूलाई थरको रूपमा प्रयोगलाई निरन्तरता दिनुजस्तै हो । लोकतन्त्रसँग नेपाली कम्युनिष्टहरू अर्थात पूर्व कम्युनिष्टहरूको यति धेरै माया प्रिति बसेको छ कि उनीहरूले कम्युनिष्ट दर्शन, शिद्धान्त, आदर्श र आचरणसँग पूर्णरूपमा सम्बन्ध विच्छेद गरिसकेका छन् । आफ्नो गन्तव्य आइपुगेको छैन र त्यसका लागि थप यत्न गर्दै रहनुपर्छ भन्ने कुरा उनीहरूले पूर्णरूपमा बिर्सिसकेका छन् । लोकतन्त्रबाट यताउता कतै जानुपर्छ भन्ने मान्यता र उद्देश्य उनका मनमा अलिकता मात्रै पनि बाँकी छैन । अर्थात नेपाली कम्युनिष्टहरूको हालत त्यस्तो पापात्माको जस्तो भएको छ जो जीवित छँदासम्म स्वर्गजाने कल्पना गथ्र्यो तर मरेर नर्कमा पुगेपछि त्यसैमा रमाउन सिकेको छ र नर्कको वातावरणले उसलाई यसरी लोभ्याएको छ कि त्यो भन्दा अर्को उत्तम लोक हुन्छ भन्ने कल्पना गर्न पनि छोडिदिएको छ ।

व्यवहारतः नेपालका कम्युनिष्टहरूले अन्तिम गन्तव्य फेलापारिसकेका छन् भनिदिँदा फरक पर्दैन । कमसेकम अब राजनीतिक रूपमा जे जे प्राप्त भएको छ त्यो नै उनीहरूको अन्तिम अभीष्ट थियो । उनीहरूको विगत र वर्तमान हेर्दा ती सबै आमाको दूधको खोजीमा आलाप विलाप गरिरहेको बच्चाको हातमा ललीपप परेपछि सन्तुष्ट भएको अवोध अवस्थासँग तुलनायोग्य रहेजस्तो देखिन्छ । ललीपपमा परेका हानिकारक रसायनको तथ्यबाट अनविज्ञ बच्चाले त्यसमा रहेको गुलियोमा भूलेर आमाको दूध बिर्सेजस्तै अवस्थामा नेपाली कम्युनिष्टहरू पुगेका छन् । तैपनि ‘नमच्चिने पिङको सय झट्का’ भनेजस्तो यतिखेर नेकपा डबलमा स्कुल विभागको मुखियालीको लागि नेताहरूबीच हानाथाप र तानातानी रहेको छ रे ! त्यो खोसाखोसले व्यक्तिविशेषको सिमा नाघेर गुटगत रूप लिइसकेको छ रे र उनीहरूबीचको ‘टग अफ वार’ यति चर्को हुँदै गएको छ कि दुबैतिरको शक्ति सन्तुलनको बराबरीको कारणले खेलमा जीतहार होइन, डोरी बीचमा छिनेर प्रतिश्पर्धामा उत्रेका दुई टोलीहरू पुनः दुई कित्तामा विभाजित हुनजाने आशंका गर्न थालिएको छ । दुई ठूला पार्टीको मिलन र झण्डै दुईतीहाइको जनसमर्थन समाप्त भएर ‘पुनः मुषिको भवः’ को स्थितिमा पृुग्नसक्ने टिठलाग्दो परिस्थिति सिर्जना हुदै गएको छ भनिन्छ ।

आजसम्म पार्टीको स्कूल विभागले कार्यकर्ताहरूलाई कस्तो शिक्षा दियो रत्यसको के प्रयोजन रहने छ भनेर विश्लेषण गर्ने हो भने त्यसको औचित्य पुष्टि हुनेछैन । औचित्य पुष्टि नहुने विभागको आवश्यकता कसरी पुष्टि हुन्छ र ? अर्थात पार्टीमा स्कूल विभाग किन चाहियो भन्ने प्रश्न उठछ । दिपक मनाङेहरूले पार्टी भर्दै जाने हो भने इश्वर पोखरेल वा नारायणकाजी श्रेष्ठजस्ता गुरुहरूले उनीहरूलाई कस्तो शिक्षा देलान् ? न यी द्रोचार्यहरूमा आफ्नो विद्यार्थीलाइ अर्जुनजस्तो श्रेष्ठ धनुर्धर बनाउने क्षमता छ न तिनमा एकलब्यको औंलो काट्ने ह्याउ नै छ । अर्थात नेकपाका नवप्रवेशीहरू न अर्जुन बन्ने छन् न एकलव्यको गरिमा प्राप्त गर्नेछन् । त्यसैले ती गुरुहरूबाट प्रशिक्षित दिपक मनाङेहरू कम्युनिष्ट त बन्ने छैनन् नै असल नागरिक बन्ने आशा पनि राख्न सकिदैन । कम्युनिष्ट दर्शनको श्रेष्ठ र पोखरेलजस्ता गुरुहरू र दिपक मनाङेहरूजस्ता प्रशिक्षार्थीहरूसँग कुनै संगति मिल्ला जस्तो लाग्दैन । नालीबाट उकेरेको फोहरले भण्डार भरेर पार्टीलाई समृद्ध बनाउने चिन्तन राख्ने पार्टीमा शैद्धान्तिक व्यवहाररिक ज्ञान दिने प्रशिक्षण विभागको के आवश्यकता रहन्छ र ? त्यसैले स्कुल विभाग रहोस् कि नरहोस्, स्कूल विभाग जोसुकैको पोल्टामा परोस् त्यसबाट अर्को पक्षले पार्टीलाइन बङ्ग्याउँछ कि वा बर्वादै पो पार्छ कि भनेर किन डराउनु प¥यो र ? बहुदलीय जनवाद वा जनताको जनवादको रस्साकस्सीको के अर्थ छ र ? दस्तावेजमा राजनीतिक शब्दावली जेजस्तो प्रयोग गरिए पनि रमाउने त आखिर उही उदारवादी लोकतन्त्रमै हो । त्यसबाट रत्तिभर यताउता गर्नुछैन भने त्यस्तो शिक्षा त राप्रपाको प्रशिक्षण विभागबाट लिए पनि हुन्छ ! बहुदलीय जनवाद वा जनताको जनवाद जे नाम दिए पनि पुस्तकको शोभा मात्रै हो, आचरणले नवउदारवादी नै बन्ने हो, कम्युनिष्टहरूमा विकसित हुदै गएको पश्चगामी चरीत्रमा कुनै सुधार गर्नुछैन भने प्रशिक्षण विभागको मुखियालीको लागि हानालुछी गर्नुको के अर्थ रहला र ? त्यो त जग हँसाउने लज्जास्पद नौटङ्कीभन्दा बढी के होला र ?! नजाने ठाउँको बाटै नसोधेको राम्रो होइन र ?!! –जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here