मेलम्चीलाई मन्त्रीको बेवास्ता

102

काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको आठ महिना भयो । करिब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौं बासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए । तर उपत्यकावासीलाई यो समस्याबाट छुटकारा दिलाउने जिम्मा पाएको खानेपानी मन्त्रालयको नेतृत्व लिइरहेकी मन्त्री बिना मगरको प्राथमिकता भने मेलम्चीमा भन्दा अन्तै बढी भएजस्तो देखिएको छ ।

गत पुसमा मुख्य ठेकेदार कम्पनी सीएमसी दि रिभेन्नाले ठेक्का तोडेयता आयोजनाका काम अघि बढ्न सकेका छैनन् । त्यसको करिब ६ महिनापछि मन्त्रिपरिषद् निर्णयबाट नयाँ ठेकेदार कम्पनी छनोट गरिए पनि सरकारले उसलाई काम गर्ने वातावरण बनाइदिन सकेको छैन । पुरानो मुख्य ठेकेदार (सीएमसी दि रिभेन्ना) ले आफ्नो रकम नतिरेको भन्दै स्थानीयवासी र स्थानीय ठेकेदारले अहिले काम ठप्प पारिरहेका हुन् ।

‘अहिलेको अवस्था हेर्दा मेलम्ची खानेपानी आयोजनाका निमित्त मन्त्री–सचिवलागयत सम्बन्धित अधिकारीहरू चौबीसै घण्टा खटिनुपर्ने हो,’ पूर्वसहरी विकास सचिव किशोर थापाले भने, ‘मेलम्ची किन ढिला भयो भन्ने राष्ट्रिय बहसको विषय भइसकेको छ । मन्त्रीले अन्य ठाउँमा नअल्झिएर बढी ध्यान यसमै केन्द्रित गर्नुपर्छ ।’

मन्त्री मगरको दैनिकी भने थापाले अपेक्षा गरेजस्तो छैन । पछिल्ला दुई दिन उनी सहभागी कार्यक्रमहरू मात्रै हेर्दा उनको प्राथमिकता सरकारी योजनाका काममा भन्दा पनि निजी कम्पनीको प्रवर्द्धनमा बढी भएजस्तो देखिन्छ । मन्त्री मगरले बिहीबार ‘नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालि’ ले नेदरल्यान्ड्सबाट भित्र्याएको प्रेसरबाट पानी तान्ने प्रविधिको ललितपुरको गोदावरी र ठैबमा परीक्षण गरिन् भने शुक्रबार उनी रसुवाको पानी विदेश निर्यात गर्ने निजी कम्पनीको प्रवर्द्धनमा व्यस्त रहिन् ।

गौतम महर्जनको लगानीमा खुलेको नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालिले पहाडी क्षेत्रमा प्रेसरको माध्यमबाट पानी तान्न सक्ने प्रविधि भित्र्याएको दाबी गरेको छ । अर्को निजी ‘रुद्रगंगा नेचुरल वाटर कम्पनी’ ले रसुवा जिल्लाका हिमशृंखलाबाट बगेर आउने पानी ‘स्प्रिङ वाटर’ लाई विदेश निर्यात गर्ने योजना बनाएको छ ।

पछिल्लो कम्पनीको पानी निर्यात योजनाबारे जानकारी गराउन शुक्रबार राजधानीको याक एन्ड यती होटलमा आयोजित करिब आधा घण्टाभन्दा लामो पत्रकार सम्मेलनमा मन्त्री मगरले ठप्प रहेको मेलम्ची आयोजनाका कामकारबाहीबारे एक शब्द पनि बोलिनन् । बरु विदेशमा पानी निर्यात गर्ने योजना सुनाइन् । हिमशृंखला र हिमनदीबाट खेर गइरहेको पानीलाई विदेशमा निर्यात गरिछाड्ने उनको अठोट थियो ।

‘नेपालको पानी विश्व बजारमा बिक्री गर्ने योजनामा सरकार लागेको छ,’ उनले भनिन्, ‘हिमालबाट बगेर खेर गइरहेको पानीमा निजी क्षेत्रले लगानी गर्नु राम्रो हो ।’ यसअघि गत वैशाखमा मन्त्री मगरले पत्रकार सम्मेलन गरेर विदेशमा पानी निर्यात गर्ने योजना सुनाएकी थिइन् । उक्त कार्यक्रममा पनि उनले मेलम्ची आयोजना ठप्प रहेकोबारे कुनै प्रसंग निकालेकी थिइनन् । आवश्यक ऐन–कानुन सुधार गरेर पानी निर्यात गर्ने जानकारी गराएकी थिइन् ।कान्तिपुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here