प्रचण्ड र ज्ञानेन्द्रलाई तुलना गर्दा

162

– निमकान्त पाण्डे

त्यो बेला लाग्दथ्यो–नेपालको अब कायापलट हुन्छ । सबै राजनीतिक दलका नेताहरू प्रचण्डको व्यक्तित्वका अगाडि वामपुड्के साबित भइरहेका थिए ।

जतिबेला राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनर्गठन गरेर तत्कालीन नेकपा (माओवादी)सहितका सात दललाई सत्ता सुम्पिएका थिए, त्यतिबेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लोकप्रियता नेपालको राजनीतिमा ह्वात्तै बढेको थियो । भावी राष्ट्रपतिका रूपमा उनको चर्चा सुरु भएको थियो । काठमाडौं उपत्यकाका चोक–चोकहरूमा प्रचण्डका तस्बिरहरू सजाइएका देखिन्थे । त्यो बेला लाग्दथ्यो–नेपालको अब कायापलट हुन्छ । सबै राजनीतिक दलका नेताहरू प्रचण्डको व्यक्तित्वका अगाडि वामपुड्के साबित भइरहेका थिए । राजावादीहरू टाउको लुकाउँदै हिंड्नुपर्ने अवस्थामा पुगेका थिए । स्वयं राजा नागरिक बन्न तयार भएको त्यो क्षण प्रचण्डको राजनीतिक व्यक्तित्वको प्रभाव नै थियो ।

परन्तु प्रचण्डले जनतालाई दिएको आश्वासन र जनताले उनीप्रति गरेको अपेक्षामाथि विश्वासघात गर्ने काममा प्रचण्डले आफूलाई एकपछि अर्काे गर्दै घिसार्ने काम गरिरहे । सबैले आशा, विश्वास र भरोसा गरेका प्रचण्ड साम्राज्यवाद र विस्तारवादका कठपुतली बनेर प्रस्तुत हुन थालेपछि उनीप्रतिको भ्रम जनतामा टुटेको छ । आज प्रचण्ड निरीह प्राणी बन्न पुगेका छन् । उनी प्रचण्ड भन्न लायक पनि रहेका छैनन् अब । प्रचण्ड एउटा परिवर्तनकारी अभियानको सांकेतिक नाम थियो । त्यो नाम अब दाहालमा रूपान्तरित भएको छ । यिनै निरीह दाहालले गत आइतबार रामेछापको खाडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने खैरेनीघाटस्थित सुनकोसी नदीमा नवनिर्मित पक्की पुलको उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्न सक्ने चेनावनी दिएका छन् । शनिबार श्रीमती र छोरीहरूसहित झण्डै एक साता लामो दुबइ भ्रमणबाट फर्किएका दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको पनि भन्न भ्याए । कुरा त ठीकै गरेका हुन् । तर समयले कोल्टे फेरिसकेको छ भन्ने कुरा यिनले बुझ्न अझै सकिरहेका छैनन् जस्तो लाग्छ ।

हजारौ नेपालीहरूले ल्याएको गणतन्त्र रक्षा गर्न अझै लाखौं नेपालीले बलिदान दिनसमेत तयार हुने भन्दै दाहालले पूर्व राजासँग अझै थोरै समय बाँकी रहेको र अब बुद्धि फिराएर जनतासँग मिलेर अघी बढ्न सुझाव दिएका थिए । दाहाल अहिले सामाजिक सञ्जालमा आलोचनाका पात्र बनिरहेका छन् । कुनै बेला गणतन्त्रको आन्दोलनमा राजतन्त्रको विरुद्ध जुन किसमको साथ र समर्थन दाहालले पाउने गर्थे, अहिले त्यो अवस्था देखिएन । हालै उनले पूर्व राजा ज्ञानेन्द्रविरुद्ध दिएको अभिव्यक्तिले उनलाई ‘व्याक फायर’ गरिरहेको छ । सर्वहाराबाट सामन्त बनेको आफ्नो पृष्ठभूमिलाई बिर्सिएर दाहालले दिएको अभिव्यक्तिले उनी सबैतर्फ आलोचनाको पात्र बनिरहेका छन् भनेर बुझ्न सकिन्छ ।

हिजो सामन्त र राजतन्त्रलाई व्यंग्य गरेर तयार पारिएको ‘कोही त भने जहाजमा हरर, कोहीका भने पसिना तरर… हाम्रो नेपालमा !’ भन्ने जस्ता गीतहरू आजका जनता र शासकमा अझ बढी मिल्न थालेको छ ।

यसको मुख्य कारण हिजो गणतन्त्रमा जनताले जे जस्ता सपना देखेका थिए, आज त्यसको अनुभूति हुन सकिरहेको छैन । आजको गणतान्त्रिक व्यवस्थामा भन्दा हिजोको राजतन्त्रात्मक व्यवस्थामा नै जनताले आफूलाई सुरक्षित महसुस गर्न सकेको गुनासो समेत जनसाधारणबाटै सुन्न थालिएको छ । गणतन्त्रका नाममा मुलुकको धर्म, संस्कृति र परम्परालाई मास्ने र नयाँ सामन्तहरूको उदय हुने काम मात्र भइरहेको छ । हिजो कम्युनिस्ट नेतृत्वलाई जनतामाझ लोकप्रिय गराउने गीतका पंक्तिहरूहरूले आजको नेतृत्वलाई गिज्याइरहेको छ । हिजो सामन्त र राजतन्त्रलाई व्यंग्य गरेर तयार पारिएको ‘कोही त भने जहाजमा हरर, कोहीका भने पसिना तरर… हाम्रो नेपालमा !’ भन्ने जस्ता गीतहरू आजका जनता र शासकमा अझ बढी मिल्न थालेको छ ।

यी गीतहरूको अन्तर्यमा गएर हेर्दा हिजो जनतामाझ जुन किसिमका आशा र प्रतिवद्धजा जनाइएको थियो, ती सबै झूठ सावित भइरहेका छन् । बरु हिँजो जसलाई जनताले सामन्त र शासक ठान्थे, उनीहरूका सृजना हेर्ने हो भने अहिलेका सत्तासिन कम्युनिस्ट भन्दा धेरै राष्ट्रवादी र मुलुककप्रति जिम्मेवार र बफादार देखिन्छन् भने जनताप्रति जिम्मेवारीबोध व्यवहारमै गरेको पनि देख्न सकिन्छ । राजा महेन्द्रले सृजना गरेको ‘म मरेपनि मेरो देश बाचिरहोस होस्’ वा वीरेन्द्र र ज्ञानेन्द्रले गरेका सृजनाले उनीहरू मुलुकप्रति कति चिन्तित थिए भन्ने कुरा पुष्टि गर्छ । उनीहरू खानदानी सामन्त भएपनि देश बेचेर आफू सामन्त हुने पक्षमा रहेको कंलक उनीहरूमा लागेन । विरोधीहरूले उनीहरूका कमजोरी जतिसुकै कोट्याएपनि दलीय स्वतन्त्रताका विरोधी बाहेक अरु कुनै खोट पाइएन । परन्तु अहिलेको राजनीतिक नेतृत्व मुलुकलाई संकटमा फसाएर भएपनि आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थ पुरा गर्न तयार देखिन्छ ।

जनताको अवस्था अहिले पनि पसिना तरर..कै अवस्थामा हुँदा हिजो सर्वहाराको नेतृत्व गर्छाैँ भन्नेहरू आज विदेशमा गएर संसारकै सबैभन्दा महंगा होटेलहरूमा परिवारलाई राखेर सामन्ती संस्कार प्रदर्शन गरिरहेका छन् । हालै दुवै घुमेर फर्किएका पुष्पकमल दाहालले श्रीमतीको चाहनामा दुबई घुमाउन लगेको भनेर स्पष्टीकरण दिइरहँदा उनलाई आज यो अवस्थामा पु¥याउने दूर दराजका नागरिक कति जनाले आफ्नी श्रीमतीको चाहना पुरा गर्न सक्लान ? सर्वहारा वर्गीय चिन्तनबाट राजनीतिक व्यक्तित्व बनाएर देशकै नेता बन्न पुगेका दाहालले श्रीमतीको चाहना पुरा गराउन अमेरिका तथा मध्य पुर्वका धनाढ्य देशहरूमा घुमाउन सक्ने आर्थिक हैसियतको स्रोत के हो ? जनताले जान्न पाउने कि नपाउने ? जनतालाई एउटै व्यवसायमा चार ठाँउ कर तिर्नुपर्ने अवस्था देशभित्र बनाएर यस्तो विलासी जीवन बिताउनलेलाई सामन्त नभनेर के भन्ने ? यस्तो अवस्था कसरी सृजना भयो ? के यसबारेमा उनले जनतासँग वास्तविकता जानकारी गराउनु पर्दैन ? एउटा नागरिकले सिटामोल खान नपाउने मुलुकमा तिनै नागरिकको रगत र पसिनासँग खेल्दै राजनीतिमा होमिएको व्यक्तिसँग राजशी विलासी सुविधा लिने हैसियत कसरी बन्यो ? सर्वहारावर्गको मुक्तिका लागि लडेको एउटा नेताको जीवनशैली त्यतिबेलामात्र परिवर्तन हुनुपथ्र्याे जतिबेला एउटा सामान्य किसान र मजदुरको पनि जीवनशैलीमा परिवर्तन भएको हुन्थ्यो । किसान र मजुदुरलाई गुमराहमा पारेर व्यक्तिगत स्वार्थमा लाग्ने नेतृत्वसँग कसरी जनता खुसी हुन सक्छन् ? यही कारण नै आज गणतान्त्रिक व्यवस्थाप्रति मोह घट्नुका साथै जनताको आकर्षण राजतन्त्र र पूर्व राजाप्रति बढीरहेको देखिन्छ । प्रचण्डजस्तै नेताहरूका कार्यशैलीका कारण देश प्रतिगमनतर्फ उन्मुख देखिन्छ ।

एउटा कुरा सत्य हो, राजाहरू खानदानी सम्पन्न हुन्थे र उनीहरूले लिने सुख सुविधा आम नागरिकका भन्दा बढी हुन्थ्यो नै । तर के आज गणतन्त्रमा आम जनता र शासककाबीचमा त्यो खाडल पुरिएको छ ? अवश्य छैन बरु त्यो खाडल बढ्दै एउटा समुह झन धनी र अर्काे वर्ग झन गरिब हुने अवस्थातिर विकसित हुँदैछ । राजतन्त्रका विरुद्ध नयाँ व्यवस्थाको परिकल्पना यही खाडल पुर्नका लागि गरिएको होइन र ? आज पुष्पकमल दाहालहरूले जुन किसिमको राजशी विलासी जीवन यापन गरिरहेका छन्, त्यसको स्रोत के हो ? यसको जवाफ जनताले खोजिरहेका छन् ।

राज्यकोषको दुरूपयोग गरेर आफ्नो व्यक्तिगत जीवन शैलीमा मात्र परिवर्तन गर्ने अवसरवादी नेतृत्वका कारण आज लोकतान्त्रिक गणतन्त्र बदनाम हुँदै गइरहेको छ र जनताको आकर्षण राजसंस्थाप्रति बढ्दै गइरहेको छ । अझ विडम्बना त के भने सत्ताबाट च्युत भएर नागरिकका रूपमा बसिरहेका पूर्व राजा ज्ञानेन्द्रको भूतले अझै पनि दाहालहरूलाई लखेट्न छोडेको छैन । यसको अरु कुनै कारण छैन । आफूहरूको असफलतालाई ढाक्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि दोष थोपरिरहेका छन् । अवसर पाएर पनि त्यसलाई व्यक्तिगत स्वार्थमा मात्र प्रयोग गर्ने अनि देश र जनताको हितमा काम गर्न असफल भइरहेका निकम्मा राजनीतिक नेतृत्वकै कारण आज सर्वत्र निराशा बढेको छ, जीवनभर प्रगतिशील राजनीतिक परिणामको परिकल्पनामा रमाउँदै राजनीति गरिरहेका व्यक्तिहरूमा नैराश्यता बढाउने काम भइरहेको छ । अपराधीहरू सत्तासीन बनिरहेका छन् , गुण्डाहरू राजनीतिक आवरणमा रमाइरहेका छन्, भ्रष्टाचारीहरू विश्व अर्बपतिका आवरणमा देशको राजनीतिक बागडोरमाथि हस्तक्षेपकारी भूमिकामा छन् । अनि दाहालहरू भन्छन् –यो नै नौलो जनवाद हो ! दोष कसको हो ? पूर्व राजा ज्ञानेन्द्रको ? आफ्नो दोषको आरोप ज्ञानेन्द्रमाथि थोपरेर चोखिन खोज्ने मूर्खता गर्नुभन्दा आफ्नो कामको समिक्षा गर्नु बुद्धिमानी होला । देशका नदी नालाहरू भारतको कब्जामा किन पु¥याइयो ? देशका बलिया पाखुराहरू विदेशतिर निर्यात गर्ने कंगाल मुलुकको रूपमा देशलाई कहिलेसम्म फसाइरहने ? देशको वार्षिक बजेटकै समानान्तर व्यापारघाटा हुने गरी आयात गरिरहनुपर्ने अवस्थाबाट देशलाई माथि कसरी उठाउने ? यसतर्फ दाहालहरूको चिन्तन केही छ ?अग्रगमनका लागि आवाज उठाइरहेका विप्लवलाई गोली हानेर सिध्याउने दाहालको प्रतिगमनकारी सोच पूर्व राजा ज्ञानेन्द्रको भन्दा तुच्छ सामन्तवादी चिन्तनबाट ग्रस्त छ । अहिले सच्चिनुपर्ने पूर्व राजा होइन वर्तमान राजनीतिक नेतृत्व नै हो । आगे नेताजीहरूलाई चेतना भया ! -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here