अवैतनिक वाणिज्यदूतहरूलाई ‘समृद्ध नेपाल, खुशी नेपाली’ साकार पार्न आग्रह गर्दै परराष्ट्रमन्त्री ज्ञवाली

225

काठमाडौं / नेपालको आर्थिक समृद्धिका निम्ति काठमाडौँस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसीएन) लाई सरकारले सक्दो सहयोग गर्न आग्रह गरेको छ ।

राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एचसिसीएनको नयाँ डीनमा नेपालका लागि दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ चयन भएपछि गत म‌ंगलबार  भएको एचसिसीएनको पहिलो बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकारको ‘समृद्ध नेपाल, खुशी नेपाली’ परिकल्पना साकार तुल्याउन एचसिसीएनका सबै सदस्यको सक्रिय सहयोगको अपेक्षा गरेको समेत जानकारी गराए ।

परराष्ट्रमन्त्री ज्ञवालीले मातृभूमिको राष्ट्रिय स्वार्थ, सार्वभौमिकता, भौगोलिक अखण्डता र आर्थिक विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गर्दै  नेपालको गरिमा अभिवृद्धिमा सक्दो योगदान गर्न आह्वान पनि गरेका छन् । उनले आर्थिक कूटनीतिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले देश विशेषमा केन्द्रित रहेर रणनीतिक योजना तर्जुमा गरी त्यो कार्यान्वयनको प्रक्रियामा गएको जानकारी पनि दिए ।

कार्यक्रममा नेपालका लागि पोर्चुगलका अवैतनिक दूत राजेन्द्रकुमार खेतानले नेपाललाई आर्थिक उन्नयनको मार्गमा अघि बढाउने पर्यटन, जलस्रोतलगायत क्षेत्रमा लगानी जुटाउने महत्वपूर्ण माध्यमका रुपमा अवैतनिक वाणिज्यदूतहरूले काम गर्न सक्ने भएकाले नेपालको राष्ट्रिय हितको प्रवर्द्धनमा लाग्नुपर्ने धारणा व्यक्त गर्दै एचसिसीएनका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

नयाँ डीन श्रेष्ठले नेपालमा लगानीका अवसरबारे जानकारी दिन तथा नेपाल भ्रमण वर्ष सफल पार्न आफूहरू क्रियाशील रहेको जानकारी दिँदै एचसिसीएनको आजैको बैठकबाट आगामी कात्तिक १६ देखि ३० गतेसम्म काठमाडौँमा विश्वभरका अवैतनिक वाणिज्यदूतहरूको सम्मेलन गर्ने निर्णय भएको समेत जानकारी दिएका छन् ।

भाइस डीन एवं मोरक्कोका अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले कार्यक्रममा धारणा राख्दै  नेपालको सामाजिक–आर्थिक विकासका खातिर बाह्य सहायता जुटाउन तथा आफूहरूलाई नियुक्त गर्ने देशसँको नेपालको सम्बन्धलाई प्रगाढ तुल्याउने कर्तव्यबाट एचसिसीएन कदापि विमुख नहुने प्रण जाहेर गरे ।

सोही कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसीएन)ले गुल्मीका पहिरोपीडितहरूको सहायतार्थ पाँचलाख रुपैयाँ प्रदान गरेको छ । डीन श्रेष्ठले पहिरोपीडितलाई सघाउनु एचसिसीएनको दायित्व रहेको जनाउँदै  रकम थोरै भए पनि त्यसले अन्य सङ्घसंस्थालाई पनि सहायताका निम्ति प्रेरित गर्ने विश्वास व्यक्त गरे।

परराष्ट्रमन्त्री ज्ञवालीलाई एचसिसीएनका डीन एवं दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत श्रेष्ठले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा मन्त्री ज्ञवालीले दैवी विपत्तिमा परेका गुल्मेलीप्रति सहानुभूति र सद्भाव दर्शाउँदै आर्थिक सहयोग गरेकामा एचसिसीएनप्रति आभार प्रकट गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here