वर्ग रूपान्तरित नेताहरूलाई राजनीति गज्जब फाप्यो !

167

– निमकान्त पाण्डे

राजनीति किन गरिन्छ ? मलाई यो शब्दले निकै पोल्न थालेको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिलाई अलि फरक ढङ्गले बुझेको हुँदा आज राजनीति गर्नेहरूको आर्थिक हैसियत ह्वात्तै बढेको र जीवनशैलीमा पनि वर्ग रूपान्तरण भइरहेको देख्दा आश्चर्य लागिरहेको छ । नेताहरूले ठूल–ठूला उद्योगपतिहरूलाई पनि उछिन्न सफल भइरहेको देख्दा राजनीतिलाई बुझ्न आफैले नसकिएको जस्ते लाग्न थालेको छ । सामान्यतः राजनीतिलाई पेशाको रूपमा हेरिदैन । यसलाई सेवाको रूपमा लिइने भएकाले व्यक्तिगत स्वार्थ र लाभ भन्दा टाढा राखेर हेर्ने गरिन्छ । विश्वभरकै राजनीतिक अभ्यास हेर्ने हो भने यसको माध्यमबाट समाज र मुलुकको सेवा गरेर नयाँ इतिहास कायम गर्ने प्रतिष्पर्धा प्रायः मुलुकहरूमा देखिन्छ । राजनीतिका माध्यमबाट समाज परिवर्तनको नयाँ अध्याय सुरु गर्ने र नयाँ इतिहास कायम गर्न सकिने हुँदा त्यसैलाई नै सर्वाेपरि ठान्दै राजनीतिज्ञहरू व्यक्तिगत लाभ भन्दा टाढा रहने गर्छन् र गर्नुपनि पर्छ भन्ने मेरो बुझाई हो ।

राजनीति नीतिहरूको पनि नीति अर्थात मुलुकको आन्तरिक र बाह्य मामिलालाई दिशा निर्देश गर्ने नीति भएकाले राजनीतिमा लाग्ने व्यक्तिपनि अरु भन्दा अब्बल हुनुपर्छ भन्ने आम मान्यता राखिन्छ । यसैको प्रभाव हुनसक्छ प्राय शक्तिशाली र विकसित मुलुकहरूमा सबै ढंगले योग्य र क्षमतावान एवं सम्बन्धित क्षेत्रमा राम्रो ज्ञान हासिल गरेका व्यक्तिहरू नै राजनीतिक गतिविधिमा सक्रिय हुन्छन् । यतिमात्र होइन राजनीति मार्फत नीति निर्माण तहमा पुगेका व्यक्ति आफ्नो जिम्मेवारीबाट बाहिरिएका बेला खाली हात नै घर फर्किन्छन् । अर्थात उनीहरूले केही गर्छन भने त्यो जनता र मुलुकको हितका लागि गर्छन् । जनताले पछिसम्म सम्झने गरेर काम गर्छन् । त्यो नै उनीहरूका लागि सबैभन्दा ठूलो सम्पत्ति बन्छ । व्यक्तिगत रूपमा उनीहरूले आर्जन गर्ने भनेको प्रतिष्ठा बाहेक अरु केही पनि हुँदैन । राजनीतिक लाभको पदमा बसेका कतिपय मुलुकका कार्यकारी प्रमुखहरूले आम जनताले जस्तै काम गर्ने, राज्यको सम्पत्तिको दूरूपयोग नहोस भनेर साइकल चढ्ने र जिम्मेवारी पुरा गरेर घर फर्किदा एउटा सानो झोला लिएर फर्किने कतिपय पछिल्ला घटना राजनीतिलाई पेशा ठान्नु हुन्न भन्ने केही उदाहरण हुन् ।

तर बिडम्बना ! नेपालमा भने यस्ता उदाहरण केवल सुन्दा मात्र राम्रा लाग्छन् । नेपालमा राजनीतिक गतिविधिमा उदारता र खुल्लापन सुरु भएदेखि नै यहाँको राजनीतिक नेतृत्वमा राज्यको दोहन र राज्य कोषको दुरूपयोग गर्दै व्यक्तिगत स्वार्थ पुरा गर्ने प्रवृत्ति हावी हुँदै गइरहेको छ । समाज परिवर्तन र मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने राजनीतिक नेतृत्व व्यक्तिगत सुख सुविधा र व्यक्तिगत लाभका लागि जस्तोसुकै काम गर्न पछि नपर्ने प्रवृत्ति बढदै गएको छ । यहाँको सन्दर्भमा राजनीति सेवा भन्दा बढी व्यवसाय बन्ने गरेको छ । सबैतिरबाट हन्डर र ठक्कर खाँदै असफल बनेको व्यक्ति राजनीतिमा लाग्ने र सामान्य आर्थिक स्थितिबाट सुरु गरेको राजनीतिक जीवन रातारात धनाढ्य बन्ने दिशामा अग्रसर हुनु नेपालको परिवेशमा सामान्य हुन थालेको छ । राजनीतिक यात्रा सुरु गरेको केही वर्ष नपुग्दै अकूत सम्पत्ति जोड्ने होडबाजी नेपालको राजनीतिमा सामान्य हुन थालेको छ । आज नेपालमा कसैसँग सबैभन्दा बढी धन सम्पत्ति र द्रव्य मोह देखिन्छ भने त्यो राजनीतिक नेतृत्वसँग हो । अहिले जति पनि राजनीतिको महत्वपूर्ण स्थानमा रहेका व्यक्तिहरू छन्, उनीहरूको विगत र वर्तमान तुलना गर्ने हो भने धर्ति र आकाशकै जस्तो अन्तर देखिन्छ । मुलुक र जनताको सेवा गर्छाैँ भन्दै राजनीतिमा होमिएकाहरूसँग कसरी एकाएक अकूत सम्पत्ति जम्मा हुनपुग्यो ? यसका बारेमा न राजनीतिक नेतृत्वले बुझ्न चाहन्छ न त भ्रष्टाचार नियन्त्रणका लागि गठन भएका निकायहरूले नै यसबारे छानबिन गरेर तथ्य बाहिर ल्याउन चाहन्छन् । सबैतर्फ कानुनबिहीनता र स्वेच्छाचारी प्रवृत्ति हावी हुँदै जाँदा मुलुकको दोहन गरेर धनी बन्ने प्रवृत्ति बढ्दै गइरहेको छ । त्यसमा मुख्य भूमिकामा राजनीतिक नेतृत्व देखिने गरेको छ । जुन आज भन्दा भोलि झन भयाभह बन्दै गइरहेको छ ।
नियन्त्रणको उपाय के त ?

अहिले राजनीतिलाई आम्दानीको माध्यम ठान्ने प्रवृत्ति बढ्नुका पछाडी राजनीतिक नेतृत्वमा नैतिकताको संकट बढ्दै जानु नै हो । जनतासँग एक किसिमको प्रतिवद्धता व्यक्त गरेर राजनीतिमा होमिएका व्यक्ति आफ्ना प्रतिवद्धतालाई बिर्सिएर व्यक्तिगत लाभमा केन्द्रीत हुने प्रवृत्ति निरन्तर बढिरहेको छ । आजको आफ्नो आर्थिक अवस्थाले आफ्नो विगतलाई कसरी प्रतिविम्वित गर्छ र जनताले त्यसलाई कसरी मूल्यांकन गर्लान् भन्ने नैतिक चेत राजनीतिक नेतृत्वले गुमाउँदै गएको छ । उदाहरणका लागि हिजो ठिकै खालको आर्थिक अवस्था भएका व्यक्तिलाई सामन्त ठानेर लुटपाट गर्ने तत्कालीन माओवादी नेतृत्वको आर्थिक हैसियत अहिले पत्याउनै नसक्ने गरी बढिरहेको छ । हिजो अर्काेलाई सामन्त देख्ने नेतृत्वले आज आफू सामन्त भएको पत्तो नपाउनु वा जनताले के भन्लान् भन्ने सामान्य बुझाइ पनि राख्न नसक्नु आजको सबैभन्दा ठूलो नैतिक समस्या हो । त्यो कुरा अहिले हरेक राजनीतिक दलका नेता र कार्यकर्तामा लागु हुन थालेको छ । यसले व्यक्तिलाई त धनी बनाउँछ तर कानुनी रूपमा आम्दानीको स्रोत खुलाउन नपर्ने र जनताले के भन्लान् भन्ने नैतिक चेतको कमी हुँदै जानुले भविष्य अझै संकटपूर्ण र नैतिकताविहिन हुँदै जाने संकेत गर्छ ।

नेपालीमा ‘नांगो नाच देखाउने’ भन्ने एउटा व्यंग्यात्मक भनाई छ । अहिलेको राजनीतिक नेतृत्वले राजनीतिलाई ठगी खाने र लुटी खाने पेशाका रूपमा नांगो नाच देखाइरहेका छन् । मुलुक र समाजको नेतृत्व गर्नुपर्ने राजनीतिक व्यवस्थामा देखिएको नांगो नाचले समग्र मुलुकलाई कता लैजाँदै छ भन्ने कुरा भन्नै परेन । तथापी यसले एउटा बहस भने अवश्य सृजना गरेको छ । के हिजो नैतिकतासँग जोडिएका विद्यालयस्तरीय अध्ययनहरू जस्तो नैतिक शिक्षा र संस्कृति शिक्षा आजको यही अवस्था विकासका लागि हटाइएका थिए ? राजनीति सधै यसरी नै चलिरहने हो भने हामी र चार खुट्टाले हिड्ने जनावरबीच के अन्तर रहयो र ? चारखुट्टे जनावरमा बरु केही नैतिकता देखिन्छ । घरमा पालेको कुकुर बरु बफादार र नैतिकवान देखिन्छ । तर मान्छेको अवस्था त्यो भन्दा तल झर्दै गइरहेको छ । यो सबै नैतिकहिन र चरित्रहिन राजनीतिक नेतृत्वका कारण भएको हो भन्दा अत्युक्ति हुनेछैन । यसको सुधारका लागि अहिलेदेखि नै विद्यालय तहमा नैतिक शिक्षाको व्यवस्था गर्नुपर्ने खाँचो देखिन्छ । यत्ति मात्र होइन । राजनीतिक नेतृत्वलाई पनि जनताले नैतिकताको पाठ पढाउनुपर्ने देखिन थालेको छ । राजनीतिमा देखिन थालेको नांगो नाचको अन्त्य नभएसम्म मुलुक कुनै पनि हालतमा विकास र समृद्धिको बाटोमा अघी बढ्न सक्ने छैन । यसतर्फ सबैको ध्यान जान जरुरी छ । आगे वर्ग रूपान्तरित नेताजीहरूलाई चेतना भया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here