सरकारकै कारण भ्रष्टाचार बढेको प्रकाशमानको आरोप

62

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको पनि उनले जनाए।

‘भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्’, नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘यसबाट सरकारप्रति नागरिकको भरोसा गुम्दै गइरहेको छ ।’

सरकारप्रति नागरिकहरुको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय भएको उनको भनाइ छ । यसको परिणाम दुभाग्यपूर्ण हुने भन्दै उनले सतर्क रहन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे ।

पछिल्लो समय जनसरोकारका विषयमा कांग्रेस खरो उत्रन नसकेको भन्दै आलोचना भइरहेको उनले स्वीकारे । तर, नेता सिंहले जनसरोकारका विषयमा मौन नबसेको दाबी गरे ।

‘जनसरोकारका विषयमा विषयमा कांग्रेस मौन बस्यो भन्नु सही होइन, हामी आवाज उठाइरहेका छौं’, उनले भने, ‘तर जति हुनुपर्ने त्यो नभएको हुनसक्छ ।’

उनले मंगलादेवी सिंहको व्यक्तित्व र कीर्तित्वको चर्चा गर्दै उनको उचित मूल्यांकन हुन नसकेको गुनासो गरे । मंगलादेवी नेपाली महिला आन्दोलनकी अग्रणी मानिन्छन् । उनी कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहकी श्रीमती तथा नेता प्रकाशमान सिंहकी आमा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here