दक्षिण र उत्तरका दुवै छिमेकीबाट असुरक्षित बन्दै नेपाल

207

काठमाडौं / नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले नेपालको भौगोलिक अवस्थितिलाई मध्यनजर गरी बोलेकोे एउटा बाक्यले नेपाललाई सधै सचेत बन्नुपर्ने अवस्थामा देखाउछ । शाहले त्यो बेला नेपालका बारेमा भनेको ‘दुई ढुंगाबीचको तरुल’ भन्ने बाक्यांश अहिलेको नेपालका लागि अझ बढी सान्दर्भिक देखिन्छ । पृथ्वी नारायण शाहको यो भनाइमा कसैले पनि असहमति जनाएको पाइदैन । नेपालको गम्भीर खालको भौगोलिक अवस्था र उत्तर र दक्षिणतर्फ दुई ठूला छिमेकी देशहरूको आपसि कटुताको अवस्थाले गर्दा नेपाललाई दुवै छिमेकीहरूसंग सन्तुलित सम्बन्ध बनाउन सजग भइरहनु पर्छ भन्ने सन्देश यसमा पाइन्छ । पृथ्वीनारायण शाहको यो भनाईप्रति व्यंग्य गर्दै तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपाललाई दुई छिमेकी मुलुकबीचको तरुल होइन डाइनामाइट बनाउने अभिव्यक्ति दिएका थिए । तथापि अहिलेको नेपालको अवस्थाले डाइनामाइट भन्दा पनि तरुलकै अवस्थालाई चित्रण गर्छ । त्यसका लागि केही महत्वपूर्ण पाटोहरूलाई केलाउन आवश्यक हुन्छ ।

पृथ्वीनारायण शाहले नेपाललाई तरुलको संज्ञा दिँदा दिँदै पनि आफ्नो दिव्योपदेशमा दक्षिणको छिमेकीसँग बढी सचेत हुनुपर्छ भन्ने सन्देश दिएका थिए । नेपालको परिप्रेक्षमा दक्षिणी छिमेकीको भूमिका जहिले पनि सन्देहपूर्ण र नकारात्मक भावबाटै प्रेरित देखिन्छ । दशकौँदेखि नेपालमा भारतीय भूमिकाले कतै पनि भारतसँग आशा र विश्वास गर्ने ठाउँ राखेको छैन । भारतले नेपालमा परिवर्तनका नाममा आफ्नो एजेन्डा थोपर्ने र नेपाली नेतृत्वलाई प्रयोग गर्ने प्रवृत्ति विं सं. २००७ सालपछिको राजनीतिदेखि खुल्ला रूपमै देखिन थालेको हो ।

पछिल्लो पटक २०४६ सालको आन्दोलन हुँदै माओवादी सशस्त्र द्वन्द, २०६२/०६३ को आन्दोलनपछि राजतन्त्रको अन्त्य लगायतका महत्वपूर्ण परिवर्तनमा भारतले नेपाली नेताहरूको काँधमा राखेर बन्दुक चलाएको देखिन्छ । तत्कालीन जनमतलाई बुझ्ने र आफ्नो स्वार्थ अनुसारका एजेन्डा घुसाउने काम भारतले कसरी ग¥यो भन्ने कुरा हालै भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस (रअ) का तत्कालीन विशेष निर्देशक अमर भूषणको पुस्तक ‘इन्साइड नेपाल’मा खुलासा गरिएको छ । माओवादी आन्दोलनकाबारेमा पत्रकार सुधीर शर्माको पुस्तक प्रयोगशालाले पनि यस विषयमा धेरै कुरा उजागर गरेको छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका खेल्ने कुरा एक ठाउँमा छ, खुल्ला सीमानाको फाइदा उठाउँदै रोटीबेटीका नाममा तराइका जनताको मनोविज्ञानसँग खेलेर नेपाललाई अस्थिर बनाउनेदेखि नेपाली भूमि अतिक्रमण, नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको ज्यादती, नेपालको महत्वपूर्ण जलसम्पदा नियन्त्रण गर्ने र नेपाली भूमि कालापानीमा भारतीय सेनाको व्यारेक राख्नेसम्मका कुराले भारतको नेपालप्रतिको भूमिकालाई नंग्याउने काम गरिरहेकै छ । कथित रोजगारीका नाममा नेपाली चेलीहरूलाई भारतका शहरहरूमा रहेका वेश्याकोठीहरूमा बेच्ने गरिएका घटनाहरूले नेपाली जनता भारतबाट कतिसम्म प्रताडित भइरहेका छन् भन्ने पनि पुष्टि हुन्छ ।

यसैबीच उत्तरी छिमेकी चीनबाट पनि पछिल्लो समय नेपालले सुरक्षित महसुस गर्न सक्ने अवस्था देखिन छोडेको छ । नेपालको भू–भाग लिपुलेकमा भारतसँग सम्झौता गर्नेदेखि नेपाली चेलीहरूको तस्करीको नयाँ गन्तव्य चीन बन्नु, नेपाली बैंकिङ क्षेत्रमा हालै चिनियाँहरूको लुटपाटको श्रृंखला देखि नेपालबाट हुने सुन लगायत विभिन्न वस्तु आयात निर्यातको तस्करीको मुख्य केन्द्रबिन्दु चीन हुँदा समेत चिनियाँ पक्षले त्यसलाई रोक्न कुनै चासो नदेखाउनुले नेपाल चीनबाट पनि सुरक्षित छैन भन्ने पुष्टि भइरहेको छ । चीनले नेपालप्रति कतिपय विषयमा सदासयता देखाउनुका पछाडी उसको आफ्नै कारण पनि देखिन्छ । नेपालले एक चीन नीतिलाई निरन्तरता दिँदै नेपालबाट हुने चीन विरोधी गतिविधिमा चीनलाई सहयोग गरिरहेकाले चीनले केही सदभाव राखेजस्तो देखिएपनि त्यसलाई नै आधार मानेर नेपालले चीनबाट पूर्णरूपमा सुरक्षित भएको ठान्नु ठूलो भूल हुने देखिन्छ । चीनले भारतबाट नाकाबन्दी भएका बेला नेपालीहरूको दुःख देखेको छ । नेपालीहरूलाई पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामग्रहरूमा भारत निर्भर हुनु परिरहेको अवस्थाप्रति चीन जानकार हुँदाहुँदै पनि यो समस्या समाधानका निम्ति चासो देखाएजस्तो गर्ने तर कुनै निर्णायक काम नगर्ने चीनको प्रवृत्तिले पनि नेपालप्रति चीनको भूमिका शंकास्पद देखिन्छ । यी सबै कारणहरूले गर्दा अहिलेको नेपालको अवस्था भनेको दुई ढुंगाबीचको तरुलकै जस्तै छ । दुई ढुंगामध्ये जताबाट हलचल भएपनि त्यसको असर तरुलका रूपमा नेपालले नै भोगिरहनुपर्ने अवस्था विद्यमान छ ।

जहाँसम्म तत्कालीन माओवादी नेताहरूले नेपाललाई डाइनामाइटको संज्ञा दिएको विषय छ, माओवादी आन्दोलन कहाँबाट कसरी चलेको थियो भन्ने तथ्यहरू सार्वजनिक हुँदै जाँदा त्यो आकांक्षा पनि उनीहरूको अन्तरमनबाट आएको नभई कसैको स्वार्थको गोटी बन्नका लागि थियो भन्ने कुरा पुष्टि हुँदै गइरहेको छ । नेपाललाई डाइनामाइट बनाउने प्रसंग नेपाललाई शक्तिशाली बनाउने अर्थमा भन्दा पनि अस्थिर बनाउने अर्थमा ल्याइएको हो भन्ने कुरा पछिल्ला केही घटनाक्रमहरूले देखाउँदै आएको छ । संघीयता र धर्मनिरपेक्षता जस्ता विषय नेपालमा विजारोपण गरेर अस्थिरता निम्त्याउने र त्यसको जगमा उत्तर र दक्षिण विरोधी गतिविधि नेपालमा सञ्चालन गर्ने पश्चिमाहरूको योजना छताछुल्ल भइसकेको छ । जातिय र धर्मको द्वन्द नेपालमा सृजना गरेर नेपाली–नेपालीबीच काटमार गराउदै नेपाललाई इराक र अफगानिस्तानजस्तै बनाउने योजनाबाट उक्त डाइनामाइटको प्रसंग आएको कुरा अहिले पुष्टि हुँदै गइरहेको छ । विश्व शक्तिका रूपमा उदाउँदै गरेका दुई एशियाली राष्ट्रको बीचमा रहेको नेपाललाई अस्थिर बनाउन सकियो भने यसलाई डाइनामाइटको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पश्चिमाहरूको योजनालाई आफ्नो भनाइका रूपमा तत्कालीन माओवादीले भनेका हुन् भन्ने कुरा अहिले उनीहरूको भनाइ र गराइमा देखिएको सामन्जस्यताले पुष्टि गर्दै लगिरहेको छ ।

दुई छिमेकीहरूबाट यसै पनि असुरक्षित हुँदै गइरहेको नेपाललाई डाइनामाइट बनाउने तर्कले बलियो होइन अस्तित्व रक्षाको लडाइ लड्ने अवस्थामा पु¥याउने सम्भावना बढेर जाने निश्चित छ । त्यसैले नेपालले दुई ढुंगाबीचमा रहेर आफूलाई सुरक्षित बनाउनका लागि आत्मनिर्भर अर्थतन्त्रको विकास गराउने र सन्तुलित परराष्ट्र नीति अपनाउन आवश्यक छ । यी दुवै काममा छिमेकीहरूको सहयोग हुँदैन भने त्यो नेपालका लागि मात्र नभएर छिमेकीहरूका लागि पनि दुर्भाग्यपूर्ण हुने अवस्थाको विकास नेपालमा हुँदैछ । नेपालले दुई मुलुकबीच व्यापारिक पुलको काम गर्न सकेमा नेपाल आर्थिक हिसाबले सक्षम हुन सक्ने बलियो आधार छ । अन्यथा ढुंगाको बीचमा रहेको तरुल खुम्चिदै जाने र पातलो हुने मात्र हो । यो सत्यलाई बिर्सिएमा नेपाल अघी बढ्न निकै कठिन हुनेछ ।

यसैबेला सरकारले नेपालमा आणविक कारखाना स्थापना गर्ने भन्ने चर्चा पनि व्यापक बनाइएको छ । आणविक कारखाना कसको प्रयोजनका लागि अथवा कसका विरुद्ध स्थापना गर्न आवश्यक ठानियो ? यो गम्भीर प्रश्न हो । नेपाल युरेनियमको भण्डारण भएको देशका रूपमा संसारले चिनेको छ । दुई छिमेकी देशहरूले नेपालको यो गम्भीर गन्तव्यलाई मध्यनजर गरी नेपालको हितमा सोच्न सकेनन् भने नेपाल वास्तवमै डाइनामाइट बन्ने खतरा बलियो बन्दै छ । तर पनि नेपालका शासकहरूले आफ्नो भौगोलिक अवस्थालाई ख्याल नगरी शक्ति राष्ट्रहरूको प्रतिस्पर्धामा खेलौना बन्ने चाहना देखाउनु नेपालको हितमा हुने छैन । आणविक कारखाना खोलेर डाइनामाइट बन्न सकिन्छ भन्ने दिवास्वप्न देख्न थालिएको हो भने नेपालको अस्तित्व समाप्त हुने घातक परिणाम भोग्नुपर्ने निश्चित छ । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here