‘सगरमाथा सफाइ अभियान–२०१९’ : यती एअरलाइन्स र तारा एयरले सगरमाथा क्षेत्रबाट ३० टन फोहर उठाउने

203

काठमाडौं / यती एअरलाइन्स र तारा एयरले सगरमाथा क्षेत्रबाट ३० टन फोहर संकलन गरेर ‘रिसाइक्लिङ’को लागि ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ ।

सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा यती एअरलाइन्सले हालसम्म ४५ टन पुनःप्रयोग गर्न मिल्ने (रिसाइक्लेबल) फोहर संकलन गरिसकेको एअरलाइन्सले जानकारी दिएको छ ।

पर्वतारोहण र पदयात्रा जस्ता गतिविधिबाट उत्पन्न भएको नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को सुरुआत १७ मार्च २०१८ बाट भएको थियो ।

दीगो विकास लक्ष्य  (Sustainable Development Goal) अन्तर्गत जैविक विविधता संरक्षण –(SDG-15) सँग सम्बन्धित प्रतिबद्धता स्वरुप यती एअरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट एक सय टन पुनःप्रयोग गर्न मिल्ने फोहर संकलन गरेर ‘रिसाइक्लिङ’को लागि ल्याउने महत्वकांक्षी लक्ष्य लिएको थियो । यसका लागि सेप्टेम्बर २०१९ मा ३० टन पुनःप्रयोग गर्न मिल्ने फोहर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने यती एअरलाइन्सको योजना रहेको जनाएको छ ।

सगरमाथा सफाइ अभियानका साझेदार संस्थाहरु सगरमाथा प्रदुषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहोर संकलन गरेर तारा एयर मार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याइने जानकारी दिएको छ ।

 एअरलाइन्सबाट यसरी ल्याइएको फोहोर ‘ब्लु वेस्ट टु भ्यालु’ले त्रिभुवन विमानस्थलबाट संकलन गरी पुनःप्रयोगका लागि प्रशोधन गरिने जनाएको छ । संकलन गरिएका फोहोरमा बियरका बोत्तल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरण लगायत हुन्छन् । यी वस्तुहरुलाई ‘रिसाइकल’ गरी धातुका भाडाकुँडा र निर्माण सामग्रीमा परिणत गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here