सेनाद्वारा समयभित्रै हावाहुरी पिडितलाई घर हस्तान्तरण

183

काठमाडौ, नेपाली सेनाले गत चैतमा बारा र पर्सामा आएको हावाहुरी सहितको चक्रवत तथा असिना पानीका कारण विस्थापितका लागि घर निर्माण गरेर हस्तान्तरण गरेको छ । सेनाले मन्त्रिपरिषदको निर्णय अनुसार आफूले पाएको जिम्मेवारीलाई समयमै पुरा गरेर घर हस्तान्तरण गरेको हो । गत बैशाख २१ गतेबाट सुरु भएको जनता आभास निर्माण प्रक्रिया पुरा गरेर सेनाले बुधबार घर हस्तान्तरण गरेको हो । बुधबार कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, संघीय मन्त्रीहरु, प्रधानसेनापति पूर्णचन्द्र थापा, लगायतको उपस्थितिमा निर्माण सम्पन्न भएका घर प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाइ हस्तान्तरण गरेका छन् । ।

घर हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो गौरवपूर्ण परम्पराको निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्न गरेकोमा प्रधानमन्त्रीको तर्फबाट प्रशंसा एवं धन्यवाद व्यक्त गरेका थिए । सोही क्रममा उनले नेपाली सेना र विशेष गरि जनता आवास पुननिर्माणमा खट्टिएका सबैलाई प्रशंसनिय ढंगले महत्वपूर्ण काम सम्पन्न गरेकोमा विशेष धन्यवाद दिएका थिए । सोही समारोहमा उनले सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने बाहिनी र गणहरु तथा आपूर्तिकर्ताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए । सम्वोधनकै क्रममा प्रदेश नं २ का मुख्यमन्त्री श्री लालबाबु राउतले विपद् प्रभावितहरुको पुर्नस्थापना र घर पुननिर्माण कार्यको लागि नेपाल सरकार र प्रधानमन्त्रीलाई विशेष धन्यवाद दिदै नेपाली सेनाले मितव्ययीतालाई ध्यानमा राखी समयमा कार्य कुशलताका साथ निर्माण कार्य सम्पन्न गरेकोमा प्रधानसेनापति लगायत सो कार्यमा खट्टिएका सकलदर्जाको सराहना गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानसेनापति थापाले “राष्ट्र सबैभन्दा पहिला” तथा “कर्तव्य सधै पहिला” भन्ने संस्थागत मान्यतालाई आत्मसात गर्दै निर्दिष्ट जिम्मेवारीलाई सम्पन्न गर्न नेपाली सेना सदैव प्रतिवद्व रहेको बताएका थिए । उनले यस किसिमका विपत्तीहरुमा नेपाली सेनाले भविष्यमा समेत आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।

नेपाली सेनाले ’जनता आवास’ कार्यक्रम अन्तरगत बारा जिल्लाको विभिन्न ६ स्थानमा ३०४ र पर्सामा जिल्लाको विभिन्न ७ स्थानमा ५६५ गरी जम्मा ८६९ घरहरुको निर्माण कार्य सम्पन्न गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here