काठमाडौं / नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको दिवंगत पिता यामप्रसाद शर्माको सोमबार विहान पशुपति स्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
लामो समयदेखि अस्वस्थ रहेका शर्माको कीर्तिपुरस्थित आफ्नै निवासमा सोमबार बिहान ३ः०० बजे निधन भएको हो । उहाँको विहान सात बजे विद्युतीय शवदाहमा अन्त्येष्टि गरियो ।
शर्माको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई, विभिन्न राजनीतिक पार्टीका नेताहरु र पत्रकारहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
२००७ चैतमा अर्घाखाँचीमा जन्मिएका दिवंगत शर्माको परिवारमा श्रीमति मायादेवी, दुई छोरा (पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पत्रकार/लेखक कृष्ण आचार्य)का साथै छोरी, बुहारी र नाती हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टद्वारा शर्माको निधनप्रति विज्ञप्ती जारी गर्दै शोकको यस घडीमा पितृशोकमा पर्नुभएका महासंघका अध्यक्ष आचार्यसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना एंव गहिरो समवेदना प्रकट गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शर्माको निधनबाट आफ्नो संगठन स्तब्ध भएको जनाएको छ । फोनिजका महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, ‘कीर्तिपुरस्थित आफ्नै निवासमा आज विहान दिवंगत हुनुभएका यामप्रसाद आचार्यप्रति फोनिज परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । महासंघका अध्यक्ष आचार्य लगायत शोकाकुल परिवारजनमा फोनिज गहिरो समवेदना व्यक्त गर्दछ ।’
त्यसैगरी जनधारणा साप्ताहिक परिवार र स्वाभिमान डटकम अनलाइन परिवारले पनि दिवंगत पिता शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।