विदेशीको पैसाले देश चल्दैन, बरु देश उनीहरुकै पोल्टामा जान सक्छः डा. शेखर कोइराला

209

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संघीयता सञ्चालनका लागि दातृ निकायलाई हार गुहार गरे देश उनीहरुको पोल्टामा जाने चेतावनी दिएका छन्। आईतबार ‘बीपी कोइरालाको डायरी’पुस्तक विमोचनमा बोल्दै कोइरालाले दातृ निकायबाट सहयोग ल्याएको प्रति आपत्ति जनाएका हुन् ।

नेपालको विविधतामा संघीयता आवश्यक हुने बताउँदै उनले भने,‘संघीयता चलाउनका लागि विदेशी निकायसँग पैसा ल्याइएको छ। संघीयता हाम्रो पैसाले चलाउने हो। विदेशीका पैसाले चलायौं भने उनीहरुकै पोल्टामा देश जान्छ।’

राष्ट्रियता अत्यन्तै कमजोर अवस्थामा पुगेको उनको जिकिर छ । कोइरालाले भने,‘संविधानमा लोकतन्त्र लेखिएको छ। तर छ कि छैन भन्ने अवस्था छ। संविधानमा लेखिएका कुरा सरकारले पालना गरेको छैन।’

त्यस्तै कोइरालाले २०४८ सालमा बनेको कांग्रेसको सरकारले तीन वर्षको अवधिमा ९३ हजार रोजगारी सिर्जना गरेको दाबी गरे। सुधारका कार्यलाई कांग्रेसले नै नजरअन्दाज गर्दा पार्टी कमजोर भएको सुनाए।

गणतन्त्रमा खतरा पूर्वराजा र विप्लवको नेकपाबाट नभएको बताएका कोइरालाले भने,‘गणतन्त्र जान्छ भने सरकारका कारणले जान्छ। गणतन्त्र धरापमा भए सरकारबाटै छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here