शिक्षा दिवसमा शिक्षक तथा विद्यार्थी पुरस्कृत

231

तुलसीपुर / ४० औ राष्ट्रिय शिक्षा दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कृत र सम्मानित गरेको छ । शिक्षाको विकासका लागि महत्वपूर्ण योगदान दिएको भन्दै विभिन्न शिक्षक तथा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण भन्ने मुल नाराका साथमा मनाइएको दिवसमा उपमहानगरपालिकाले कार्यरत र सेवा निवृत्त शिक्षक २६ जना शिक्षकका साथै ३० जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने शिक्षकहरुमा विरेन्द्र महरा, विष्णु आचार्य, मनोज पोख्रेल, विष्णुकुमारी केसी, सुर्य वहादुर वस्नेत, चिन्तावहादुर गिरी, लिलाधर नेपाली, कमला खनाल लगायतका रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षकको भुमिका महत्वपूर्ण हुने कुरामा जोड दिए । शिक्षा सुधारका लागि विभिन्न सरोकारवाला निकायहरुले एक अर्कालाई दोष दिनुभन्दा पनि आफै सुधारका लागि लाग्न उनले सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले शिक्षा सुधारका लागि सबैले पहल गर्नुपर्ने वताए । उनले विद्यालयको गुरुयोजना वनाएर सोही अनुसार काम गरे शिक्षा सुधारका लागि पहल हुने कुरामा जोड दिए । ‘विद्यालयमा शिक्षक र प्रधानाध्यापकका विचमा कहिल्यै पनि कसरी सुधार्ने भन्ने छलफल हुँदैन भने कसरी विद्यालय सुधारिन्छ ?’ उनले प्रतिप्रश्न गरे । विद्यालय सुधारको योजना वनाउनका लागि उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको वताउँदै उनले त्यसलाई कार्यान्वयन गर्नमा ध्यान दिनुपर्ने जनाए ।

विद्यालयका प्रधानाध्यापकहरु शैक्षिक व्यवस्थापन भन्दा पनि भौतिक व्यवस्थापनमा वढि केन्द्रीत भएको भन्दै उनले अनावश्यक काज लिएर विद्यालय वाहिर जानुपर्ने प्रवृत्तिमाथि उपमहानगरपालिकाले निगरानी गरिरहेको समेत उनले वताए । ‘कुन शिक्षक विद्यालय आयो र कुन आएन भन्ने कुरा हामीले यही हेर्न मिल्ने वनाउँदैछौ’ उनले अरुलाई शिक्षा दिने शिक्षकहरुको निगरानी गरिरहनु राम्रो संकेत नभएको पनि जनाए । विद्यालयको गुणस्तर वृद्धिका लागि शिक्षकको भुमिका नै महत्वपूर्ण हुने कुरामा उनले ध्यान दिए ।

शिक्षकले पढ्नुपर्दैन भन्ने मानसिकताका कारण विद्यार्थीले समायानुकुल शिक्षा पाउन नसकेको वताउँदै नगरप्रमुख पाण्डेले नियमित रुपमा पाठ योजना वनाएर शिक्षकले अध्यापन गराउनुपर्ने सुझाव समेत दिए । सबै विद्यार्थीहरुलाई कसरी उत्कृष्ट वनाउने भन्ने वारेमा सबैले सोच्नुपर्ने सुझाव दिदै नगरप्रमुख पाण्डेले शिक्षाको समग्र विकासका लागि नियमित छलफल हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमा वोल्दै शिक्षा समिति संयोजक देवराज विश्वकर्माले सामुदायिक विद्यालयमा लगानीको तुलनामा प्रतिफल आउन नसकेको वताउँदै जिम्मेवार भएर सबैले यसलाई सुधार्नका लागि प्रयत्न गर्नुपर्ने आवश्यकता रहेको वताए । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख भाष्करराज गौतम, भागवत पौडेल, नारायण भण्डारी, ढकवहादुर वली, पुरस्कृत शिक्षक विष्णु आचार्य र विष्णुकुमारी केसी लगायतले वोलेका थिए ।

शिक्षा शाखा अधिकृत चक्रवहादुर भण्डारीले तुलसीपुरको शैक्षिक अवस्थाको वारेमा जानकारी गराएका थिए । कार्यक्रमहो सहजिकरण स्रोत व्यक्ति मुकुन्द रिजालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here