डेंगु नियन्त्रणमा सरकारलाई सफल बन्ने सुझाव

35

– राज्यलक्ष्मी शाक्य

हाल केही समययता देशभर डेंगुको महामारी फैलिएको छ । यो नेपालको उत्पादन होइन । बाहिरबाट आयात भएको रोग हो भन्ने कुरा पनि पुष्टि भइसकेको छ । डेंगुको संक्रमणबाट सबैजना आतंकित भएका छन् । आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगुको संक्रमण भएको सार्वजनिक भएको छ भने केही दिन अघिमात्र कृषि मन्त्री चक्रपाणि खनालमा पनि डेंगुको संक्रमण देखिएको थियो । विभिन्न क्लिनिकदेखि लिएर अस्पतालहरुमा डेंगुको उपचार गराउनेको संख्या उत्तिकै मात्रामा बढ्दो छ । काठमाडौं, पोखरा, धरान, धनकुटा, बिराटनगर लगायतका शहरमा डेंगुको प्रकोपले विकराल रुप लिइरहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)को तथ्यांकअनुसार निजी अस्पतालमा जचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार डेंगुका विरामी पुग्ने चिकित्सकको आंकलन रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउन १ गतेदखि भदौ १७ गतेसम्म २ हजार ५सय ५९ जना डेंगु रोगबाट संक्रमित भएको एक कार्यक्रममा तथांक प्रस्तुत गरेको छ । । हालसम्म प्रदेश १ मा ७ सय ५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १ हजार ९३ जना, प्रदेश ४ मा ५सय ७२ जना,प्रदेश ५ मा १ सय ५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित रहेको जनाइएको छ ।

राजधानीमै पनि ५९ जनामा डेंगु पाइएको छ । तीमध्ये २५ जनालाई स्थानीय लामुखुट्टेले टोकेर सारेको भनिएको छ भने अन्य बाहिरबाट उपचार गर्न आएका जनाइएको छ । चितवन जिल्लामा मात्र पछिल्लो समय ३ हजार १ सय १८ जना बिरामीको परिक्षण गर्दा १ हजार १ सय ४० जनामा डेंगुको संक्रमण देखिएको सञ्चारमाध्यममा आएको छ । धरानमा मात्रै पाँच हजारभन्दा बढी संक्रमित भएको सूचना प्राप्त भएको छ । एउटै घरमा सात जनासम्म संक्रमित रहेको पनि पाइएको छ । १ नं प्रदेशसभाले धरानलाई ‘डेंगु संकटग्रस्त क्षेत्र’ घोषणा समेत गरिसकेको छ । झापा, मोरङ, चितवन, उदयपुरलगायत जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । पाँचथरमा पनि ३३ जना संक्रमित भेटिएको खबर आएको छ । कतिपय स्थानमा स्वास्थ्यकर्मी नै संक्रमित भएको खबर छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १ हजार २ सय ९१ जनामा परीक्षण गर्दा ५९ जनामा डेंगी फेला परेकोमा एक जनाको मृत्यु भएको थियो । डरलाग्दो महामारीको रुपमा फैलिएको डेंगुको संक्रमणबाट यो आर्थिक वर्षमा अझ धेरै प्रभावित बनेका छन् । एउटै सहरमा छोटो अवधिमा नियन्त्रण नै गर्न नसकिने गरी डेंगुको संक्रमण फैलिएको छ । अहिले जो कसैलाई पनि डेंगु संक्रमणको त्रास लाग्ने गरेको पाइन्छ । हल्का विरामी भएर उपचारका लागि अस्पताल पुगेका बिरामीको आफ्नै रोजाइ र अस्पतालमा चिकित्सकले पनि सिधै डेंगुको संक्रमण हो कि भनेर परीक्षणको लागि लेखिदिने गरेका कारण अझ यसको समस्या बढ्दै गएको छ । बिरामी डेंगुको संक्रमण लागेको आशंकामा धमाधम आत्तिएर छिटो परीक्षण गर्न खोज्ने र चिकित्सकले पनि सिधै लेखिदिने गरेका कारण परिक्षणमा समस्या अझ बढ्दै गएको पाइन्छ । यस्तो समस्या बढ्न नदिनका निम्ति डेंगु संक्रमणबारे सचेतना आवश्यक छ । डेंगु रोग के कारणले संक्रमण हुन्छ र यसका लक्षणहरु के के हुन् भन्ने कुरा थाहा पाएर मात्र डेंगुको परिक्षण गर्नु आवश्यक छ ।

डेंगु लामखुट्टेजन्य भाइरल संक्रमण हो भन्ने कुरा चिकित्सकहरुबाट व्यापक रुपमा प्रचार भइरहेकै छ । संक्रमित बिरामीलाई शरीर, हात, जोर्नी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, आलस्य हुने, रिंगटा लाग्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन् । प्रभावित क्षेत्रका बासिन्दाले यी लक्षणलाई सामान्य ठानेर हेलचेक्र्याइँ गर्नु हुँदैन । यो जानकारी जनतामा पु¥याउन अभियान नै सञ्चालन गर्नुपर्ने देखिन्छ । यो रोग मानिसबाट मानिसमै सर्दैन भन्ने कुरा पनि स्पष्ट भइसकेको छ । डेंगुका रोगीलाई टोकेपछि लामखुट्टे पनि संक्रमित हुन्छ । त्यसले पुनः स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । संक्रमितले सुत्दा झुल प्रयोग गर्नुपर्छ । कम्तीमा ३ दिनदेखि उच्च ज्वरो आएमा, बिरामीको रगतमा सेतो रगत ४ हजार सेलभन्दा कम भएमा र प्लेट्लेट १ लाखभन्दा कम भएमा मात्र डेंगुको परिक्षण गराउनु पर्छ ।

बिरामीहरु डेंगुको त्रासमा रहेका कारण हर कोही सामान्य समस्या देख्ने बित्तिकै परीक्षण गराउन हतारिने गरेको समेत पाइएको छ । यसका लागि नागरिकमा सचेतनाका साथै यसको रोकथामका लागि सरकारले देशव्यापी रुपमा डेंगु नियन्त्रणका लागि अभियान चलाउन आवश्यक छ । हाल स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि चलाइरहेको सर्च एण्ड डिस्ट्रोय भन्ने अभियान पनि प्रभवकारी बन्न सकिरहेको छैन । यस अभियानले समेत नियन्त्रणमा खासै कुनै प्रभाव पार्न नसकिरहेको हुँदा सरकारले विकल्प सोच्न जरुरी देखिन्छ । बाहिर विकसित मुलुकहरुमा यसको संक्रमणका विरुद्ध के कस्ता अभियानहरु चलाइएका थिए भन्ने जानकारी लिएर अबिलम्व कदम चाल्न जरुरी छ । -rajyalaxmishakya@gmail.com – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here