प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किए

20

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए ।

सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सले टेरेको छैन । टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न निर्देशन दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भुक्तानीसमेत रोकी ती बस फिर्ता गरी टेन्डरमा तोकिएको स्पेसिफिकेसनअनुरूपका चीनमा निर्मित विद्युतीय बस ल्याउन निर्देशन दिँदै आएको छ । बीवाईडीले आफ्नै खर्चमा बसमा रहेका प्राविधिक कमीकमजोरी सुधार गरिदिने आश्वासन दिँदै तिनैलाई स्वीकार गर्न सरकारलाई दबाब दिँदै आएको छ ।

एसियाली विकास बैंक (एडीबी) को करिब २८ करोड रुपैयाँ अनुदान सहयोगमा मन्त्रालयले लुम्बिनी क्षेत्रमा वायु प्रदूषण घटाउन ५ विद्युतीय बस, ११ वटा विद्युतीय कार र चार्जिङ स्टेसन खरिद प्रक्रिया अघि बढाएको हो । त्यसमध्ये ५ वटा बस गत कात्तिकमै आइसकेका हुन् । कार पनि गत पुसमै बनिसकेको बीवाईडीको दाबी छ । ‘बीवाईडीले चीनमा सबै कार बनिसकेका छन्, निरीक्षण गर्न आऊ भनेर गत पुसदेखि ताकेता गरिरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले भने कमसल बस फिर्ता गरेर गुणस्तरीय बस नल्याएसम्म आउन सक्दैनौं भनेर जवाफ दिइरहेका छौं ।’

मन्त्रालयले १ करोड ७४ लाख रुपैयाँ दरमा बस खरिद गरेको हो । कारका लागि भने करिब ३५ लाखको दर पर्नेछ । यसअनुसार बस र कारलाई १३ करोड रुपैयाँ खर्च हुन्छ । लुम्बिनी क्षेत्रमा चार्जिङ स्टेसन निर्माणको ठेक्का जापानी कम्पनी इसाखाले पाएको छ । लुम्बिनी क्षेत्रको आकर्षण बढाउन करिब १५ करोड रुपैयाँमा सोलार प्रणालीको चार्जिङ स्टेसन निर्माण भइरहेको बलराम बानियाँले आजको कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here