आजबाट नयाँ नोट साट्न पाइँने

316

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपाली दशैंका लागि आजबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले राष्ट्र बैंकका कार्यालय तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको हो।

यो वर्ष ५, १०, २०, ५० र १०० दरका नोट प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाइने व्यवस्था गरिएको राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्द नागिलाले जानकारी दिए । गत वर्ष प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्न दिइएको थियो। राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग बालुवाटार, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखाबाट पनि नयाँ नोट साट्न सकिनेछ । उक्त रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह समेत गरेको छ । टीका लगाइ दक्षिण दिँदा, पूजाआजा गर्दा वा अरु कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रंग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैसँग आग्रह गरेको छ ।

दशैंमा बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण, ठूला ऋणी, व्यापारी र निक्षेपकर्तालाई नयाँ नोट साटिदिने गरेको बैंकरको भनाइ छ। निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साटिदिएवापत अतिरिक्त आम्दानी हुँदैन तर उनीहरूले सुमधुर सम्बन्धका लागि नयाँ नोट साटिदिने गरेका छन्। बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साट्नु सामाजिक काम गर्नु जस्तै भएको बैंकर बताउँछन्। नयाँ नोट साट्ने व्यवस्था आजबाट १७ गतेसम्म मिलाईएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here