विपद् व्यवस्थापन आधारभूत तालिम समापन 

320

काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित ११औं समूहको विपद् व्यस्थापन आधारभूत तालिम सोही माहाशाखामा शुक्रबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।

कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रम बहादुर चन्दले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपलब्ध वैज्ञानिक उपकरणहरुको उचित प्रयोग गरी विपद्‍को बेला समस्यामा परेका नागरिकहरुको जिउधनको रक्षाका लागि सदैव तयार रहन प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो । विपद्‌ परेको अवस्थामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उहाँले तालिमको क्रममा सिकेका ज्ञान, सिप व्यक्तिगत जीवनमा समेत फलदायी हुने जनाउनुभयो ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा तालिमको क्रममा प्रशिक्षार्थीहरुलाई सिकाइएका विपद्‍ व्यवस्थापन सम्बन्धी सिपको श्रव्यदृष्य प्रस्तुति समेत गरिएको थियो ।
साउन १९ गतेबाट सुरु भएको ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक ५ जना, प्रहरी हवल्दार ८ जना र प्रहरी जवान १४ जना गरी कुल २९ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here