आज घटस्थापना, घर–घरमा जमरा राखेर दशैंको सुरुवात गरिँदै, टीका साईत १०ः३५ मा

403

काठमाडौं । नेपालीको महान् चाड बडादशैं आजबाट प्रारम्भ भएको छ । सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदैछ। यसै दिनदेखि नवरात्र मेला पनि सुरु हुने भएकाले नौ दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र क्रमिक रूपमा चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी यी नौ दुर्गाको उपासना गरिन्छ ।

भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको घटना प्रसङ्ग यो बडादशैँसँग रहेको छ ।हेटौँडाको भुटनदेवी, ललितपुरको पूर्णचण्डी, काभ्रेपलाञ्चोक नालाको उग्रचण्डी, गोरखाको मनकामनालगायत मुलुकका सबै शक्तिपीठमा देवीको उपासना हुन्छ । काठमाडौँमा नक्साल भगवती, रक्तकाली, नरदेवी, कालिकास्थान, मैतीदेवी, भद्रकाली, शोभा भगवती, पशुपति क्षेत्रको झङ्केश्वरी, गुह्येश्वरी, भुवनेश्वरी लगायतका शक्तिपीठमा घटस्थापना गरेर देवीको आराधना गरिँदैछ । साउन महिनामा बौद्ध विहार परिक्रमा गरी मनाइने गुँला पर्व समाप्त भई एक महिनासम्म शक्तिपीठ र देवस्थल परिक्रमा गरी मनाइने यँला शनिबारदेखि विसर्जन भई आइतबारदेखि नौरात शक्तिपीठ परिक्रमा गरिने नवरात्र मेला सुरु भएको छ ।
त्यस्तै दशैंको टिकाको शुभसाई २१ गते विहान १०ः३५ मा रहेको गृहमन्त्रीले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here