गणतन्त्र स्तम्भले खुला दिसा गर्नेहरूलाई लाज मानेर हेरिरहेको छ !

60

-राज्यलक्ष्मी शाक्य
गत साता मैले यसै स्तम्भमा लेखेको लेखमा नेपालको खुला दिसामुक्त घोषणाबारे चर्चा गरेकी थिएँ । नेपालमा खुला दिसा मुक्त अभियानले सार्थकता नपाइरहेको बेला अहिले नेपाल दक्षिण एसियामै खुला दिसामुक्त घोषणा गरिएको दाबी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसा मुक्त देश घोषणा गर्नु भएको हो । प्रधानमन्त्रीले घोषणा त गर्नुभयो तर त्यहाँ समारोहमा जाने बाटो नजिकैे खुला दिसा भने देख्न सक्नुभएन । राष्ट्रिय सभा गृह अगाडि मात्र सफा देख्नुभए जस्तो छ प्रधानमन्त्रीले ! काठमाडौंका हरेक गल्लीहरूमा समेत फोहर र दिसापिसाब गरेकोे देख्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले खुला दिसामुक्त घोषणा भएको दिनले नेपाललाई नयाँ उचाइमा उठाएको भन्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि यस्तो कदम उठाउनुपरेको समेत दाबी गरिरहेका बेला उपत्यकाका मुख्य मानिएका क्षेत्रहरू नजिकै रहेका आकाशेपुलतिर मानिसको दिसापिसाबको दुर्गन्धले हिँड्न समेत नसकिने अवस्था छ । काठमाडौं उपत्यकाका सार्वजनिक शौचालयहरू व्यवस्थित बन्न नसकिरहेको अवस्थामा यत्रतत्र फोहरका थुप्रा र दिसा पिसाब गरेको देख्न सकिन्छ । मान्छे हिंड्ने मुख्य सडकहरूमा समेत यस्तो देख्न सकिने बेला घोषणा गरेर सरकारले विकासको बाटोतर्फ अग्रसर भइरहेको उदाहरण दिनु कति ठीक हो ? सरकारले जनहितका काम गर्न नसकिरहेको बेला जनताका लागि काम देखाउन हतारमा गरेको निर्णय बाहेक अरु केही भन्न नसकिने अवस्था छ । काठमाडौं उपत्यकामा जहाँ फोहोर व्यवस्थापन गर्नेतर्फ र सार्वजनिक सौच गर्नेतर्फ व्यवस्थापन गर्न सकेको छैन । गणतन्त्र स्तम्भ खडा गरिएको बल्खु चोक नजिकै चक्रपथ छेउमा भारतीय नागरिकहरूले दर्जनौं अस्थायी बासस्थानहरू बनाएर बसेका छन् । त्यो ठाँउमा खुला दिसा गरिरहेको दृश्य गणतन्त्र स्तम्भले पनि रमिता मानेर हेरिरहेको देख्न सकिन्छ ।

नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । सन् २०११ मा सुरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्र दक्षिण एशियाकै पहिलो देश बन्न सफल भएको दाबी गरिएपछि यो देशलाई खुला दिसामुक्त बनाउन नसक्नु भनेको लज्जाजनक विषय हो । खुला दिसामुक्त क्षेत्र घोषणा भएका धेरैजसो जिल्लाहरूमा अझै पनि शौचालयको पूर्ण कार्यान्वयन हुन सकेको पाइँदैन । कतिपय जिल्लाहरूमा सबै घरमा चर्पी नै बनाइसकिएको छैन । केही घरमा चर्पीको प्यान जडान गरेको भए पनि प्रयोगमा आएकै छैनन् । खोलामा ढल बगिरहेकै छ । सार्वजनिक शौचालयको अभाव त कुरै नगरौँ, आवश्यक पर्ने ठाउँमा सार्वजनिक शौचालय नै भेटिँदैन । घोषणा मात्र गरेर हुँदैन । कार्यान्वयन नगर्ने हो भने त्यो घोषणाको अर्थ रहने छैन । अत ः सरकारले नेपाललाई खुला दिसा मुक्त घोषणा गर्नुभन्दा पहिले गर्न नसकेका कामहरू अब घोषणा भइसकेपछि गरेर देखाउने सरकारको जिम्मेवारी हो ।

सरकारले हालसम्म खुला दिसामुक्त घोषणा गर्नका लागि ठूलो रकम खर्च गरिसकेको छ । गत साता मात्र काठमाडौं उपत्यकालाई खुला दिसा मुक्त घोषणा गरिएको थियो । काठमाडौं उपत्यका भन्दा पहिला नै भक्तपुरलाई २०७० साल कात्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । सँगै जोडिएका भक्तपुर र ललितपुर खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसक्दा पनि राजधानी काठमाडौंलाई खुल्ला दिसामुक्त बनाउने विषयमा भने वास्ता गरिएको थिएन । देशको सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने राजधानी काठमाडौं महानगरपालिकामा सार्वजनिक शौचालयको अवस्था दयनीय छ । तर अहिले जब नेपाललाई नै खुला दिसामुक्त घोषणा गर्ने भनियो, तबमात्र काठमाडौंलाई खुला दिसामुक्त घोषणा गरिएको छ । जुन नामको मात्रै घोषणा रहेको भनेर सर्वत्र टिकाटिप्पणी सुन्न थालिएको छ ।

सरकारको घोषणाप्रति कार्यान्वयनतर्फ ध्यान नजाने हो भने यसले नेपाललाई खुला दिसामुक्त मुलुक बनाउन भन्दा पनि घोषणामा मात्रै सीमित बनाउने निश्चित छ । यसले नेपाल दक्षिण एसियामै खुला दिसामुक्त घोषणा गरिएको देश भनेर गौरव गर्ने कि लाज मान्ने भन्दा पनि मुलुकको नै बेइज्जत हुने देखिन्छ । यसतर्फ सरकारको ध्यान जान जरुरी छ । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here