यौनकर्मी महिलाहरू नभएका भए पुरुषहरू कति बलात्कारी बन्थे होला ?

142

– प्रीति रमण
मलाई यो लेख लेख्न बसिरहँदा बंगलादेशी लेखक महिला डा.तसलिमा नसरिनको सम्झना आइरहेको छ । उनी महिला अधिकारवादी चर्चित लेखक हुन् । उनले वेश्याको पनि मर्यादा गरिनुपर्छ भनेर आवाज उठाएकी थिइन् । हाम्रो नेपाली समाजमा यौनकर्मी महिलाहरूलाई अत्यन्त घृणित शब्द ‘वेश्या’ले सम्बोधन गरिन्छ । यस्तो शब्दलाई डा.तसलिमाले अपमानजनक नठानेर उनले भनेकी छिन् – ‘वेश्याहरूको पनि मर्यादा गर्नुपर्छ ।’ महिला अधिकारका निम्ति उनले ठूलो लडाइँ लडेकी छिन् । उनले लेखेका तमाम पुस्तकहरू महिला अधिकारका लागि नै चर्चित छन् । नसरिनले लेखेका धेरै लेखहरूमा एउटी नारीले भोग्नुपर्ने पीडालाई निकै सशक्त ढङ्गले उठाएकी छिन् ।

यही असोज २ गतेको जनधारणाको यसै स्तम्भमा मैले यौनकर्मी महिलाहरूको अधिकारबारे केही प्रसङ्ग उठाएकी थिएँ । महिलाहरूले आफ्नो पेट पाल्नका लागि यौन व्यवसायमा लाग्न बाध्य हुने गरेको सन्दर्भ उल्लेख गरेकी थिएँ । महिलाबाट पुरुषले यौनको प्यास मेटाउने चाहनामा लाखौं रूपैया खर्च गर्न तत्परता देखाउने गरेको पाइन्छ । यौन पिपासु पुरुषहरूका खेलौना बन्न नचाहने महिलाहरूले निर्मला पन्त जस्ता स्वाभिमानी नारीहरूको नियति भोग्नुपर्ने अवस्था आइपर्न सक्छ भन्ने कुरा दृष्टान्त बनिसकेको छ । तसलिमा नसरिनले महिलाको अवस्थाबारे आफूलाई नै पात्र बनाएर लेख्ने क्रममा महिलाहरू मानिस हुन् कि होइनन् भनेर प्रश्न उठाएकी छिन् । मलाई पनि त्यस्तै लाग्दछ । महिलाहरू यौन पिपासु पुरुषहरूका लागि यौन व्यवसायी बनिदिनुपर्छ । महिलाहरू आफूलाई पति ठान्ने पुरुषका लागि पत्नी बनेर उसको यौन तृष्णा मेटाउन समर्पित भएर बस्नुपर्ने हुन्छ । पतिको पत्नी भएर बस्दा महिलाले आफ्नो सबै अधिकार खुम्चाएर सबै पीडाहरू सहनुपर्ने हुन्छ । यस्ता ज्यादतीहरूका विरुद्ध महिलाहरू स्वयम् जागरुक नहुने हो भने यौन पिपासु पुरुषहरूले महिलालाई जुनसुकै अवस्थामा पनि दमित भएर बस्नुपर्ने बाध्यात्मक अवस्था कायम नै राख्ने छन् भन्ने कुरा स्वयम् महिलाहरूले बुझ्नु जरुरी छ ।

महिलाहरूले श्रृंगार गरेनन् भनेपनि टिकाटिप्पणी सुरु हुन्छ । महिला सिन्दुरले सजिनुपर्छ । महिला पतिको यौन चाहनामा समर्पित हुनुपर्छ । महिला पतिभक्त हुनुपर्छ । यो हाम्रो समाजले महिलाबाट अपेक्षा गर्छ । पुरुषको स्वागतका निम्ति सधैं समर्पित भएर बस्नुपर्ने बाध्यता महिलाहरूका लागि कहिलेसम्म ?

महिलाले कुनैपनि व्यवसाय स्वतन्त्र रूपमा गर्न पाउँदैनन् । यस्तो अवस्थालाई तसलिमा नसरिनले –‘सबै पुरुषहरू मालामाल महिलाको खाली खलिहान् !’ भनेर व्यंग्य गरेकी छिन् । महिलालाई कतै दाजुले वेश्यालयमा बेचेका हुन्छन्, कतै प्रेमीले वेश्यालयमा पु¥याएका हुन्छन्, कतै पतिले नै वेश्यालयमा पु¥याएका हुन्छन् । विचरी महिला ! महिला भएकै कारणले हरेक आवरणमा रहेका पुरुषहरूबाट वेश्यालयमा बेचिन बाध्य हुन्छिन् । त्यो वेश्यालय पनि त्यो पुरुषले नै सञ्चालन गरेको हुन्छ । तर त्यसको सञ्चालकमा देखिने महिला नै हुन्छिन् । वेश्यालयमा यौन पिपासु पुरुषले प्रवेश गरेन भने त्यहाँ यौनक्रिया हुँदैन । कुनैपनि महिलालाई वेश्या बनाउनमा यौन पिपासु पुरुषको नै महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा यसैबाट पुष्टि हुन्छ । तर अपहेलित र आरोपित हुन्छिन् महिला नै ।

डा. तसलिमा नसरिनले बलात्कारको घटनाबारेमा एउटा राम्रो उदाहरण प्रस्तुत गरेकी छिन् आफ्नो पुस्तकमा । गौरी रानी दास नाम गरेकी एक स्वास्थ्य मन्त्रालय मातहतकी चौथो श्रेणीकी कर्मचारी आफ्नो निर्देशकको गाडीको ड्राइभर, अफिसको पिउन र उसको एक साथीबाट बलात्कृत भइन् । उनी आफ्नो कार्यस्थलबाट तलब बुझ्न अफिसमा पुगेकी थिइन् । उनलाई तीनजनाबाट बलात्कृत हुनुप¥यो । तसलिमा प्रश्न गर्छिन्, यो घटनामा गौरी रानी दासको गल्ती के ? तीनजना यौन पिपासुहरूको जबरजस्ती यौनक्रियामा सहभागी हुनुपरेपछि उनको जीवन ‘वेश्या’ भन्दा के फरक भयो ? एक भन्दा बढी पुरुषहरूसंग शारीरिक सम्पर्क भइसकेपछि उनी ‘वेश्या’ भन्दा के फरक भइन् ? वेश्याको परिभाषा के हो ? यही प्रश्नलाई डा.नसरिनले निकै गम्भीर रूपमा उठाएकी छिन् । समाजमा यौन पिपासु पुरुषहरू नभइदिएको भए देह व्यापार गर्न महिलालाई अवसर नै कहाँ हुन्थ्यो र ? तर यौनकर्मी महिलाहरूले देह व्यापार नगरेको भए यौन पिपासु पुरुषहरूले यौन तृष्णा मेटाउन महिलाहरूलाई सडकमा झम्टिदैँ बलात्कार गर्थे होला र त्यहीँनेर घाटीँ थिचेर हत्या पनि गर्थे होला ! कल्पना गरौं यौन पिपासुहरूबाट निर्मला पन्त बन्नेहरूको संख्या कति पुग्थ्यो होला ? त्यसैले मलाई डा.तसलिमा नसरिनको ‘वेश्याको मर्यादा गरियोस्’ भन्ने भावुक शब्दप्रति विेशष आकर्षण भएको छ । समाजमा वेश्या बनेर बस्न बाध्य हुने यौन पिपासु पुरुषहरूका खेलौना बनेका महिलाहरूको जीवनयापनको सहज विकल्प राज्यले व्यवस्था गर्नुपर्छ । बलात्कारी पुरुषहरूलाई सार्वजनिक रूपमा झुण्ड्याएर तड्पाउँदै तड्पाउँदै अन्त्यमा गोली हानेर मार्नुपर्छ । अनि मात्र बलात्कारका घटनाहरू हुने छैनन् र बलात्कृत महिलाहरूले बाध्यतासाथ देह व्यापार गरेर ‘वेश्या’ जीवन व्यतित गर्नुपर्ने अवस्था पनि रहने छैन । – जनधारणा साप्ताहिक -ramanpreeti033@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here