हिजोका कांग्रेस महरा र आजका कम्युनिष्ट महरा

267

-निमकान्त पाण्डे

धेरैलाई जानकारी नहुनसक्छ हालका सभामुख कृष्णबहादुर महरा ४० वर्षअघि नेपाली कांग्रेसका कार्यकर्ता थिए । महरा माथि लागेको यौन दुव्र्यवहारको आरोपले उनी अहिले ठूलो नैतिक संकटमा परेका छन् । आफूविरुद्धको आरोपबारे छानबिन गर्न सजिलो होस् भनी सभामुख पदबाटै राजीनामा गरेका महराप्रति सबैभन्दा गम्भीर बनेर टिप्पणी गर्नेहरूमा नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापा देखिएका छन् । कृष्णबहादुर महरा सत्तासीन नेतासमेत रहेका र गगन थापा प्रतिपक्षी दलका प्रभावशाली नेता हुँदाहुँदै पनि महरामाथि लागेको यौन दुव्र्यवहारको आरोपप्रति थापाले दुःख प्रकट गर्नुलाई राजनीतिक सद्भावको अभिव्यक्ति मान्न सकिन्छ र उनीमा यौन सम्बन्धबारेमा फराकिलो सोच छ भन्ने कुरा पनि बुझ्न सकिन्छ । विश्व सर्वहारावर्गका मार्गदर्शक कार्लमाक्र्सका झट्केला छोराको उदाहरण र नेपाली कम्युनिष्ट आन्दोलनका चर्चित नेता मोहनविक्रम सिंहका यौनसम्बन्धी धारणाहरूबाट शायद गगन थापा पनि प्रभावित भएको जस्तो अनुभव गर्न सकिन्छ । मैले एघार वर्षअघि बेलायत भ्रमणका क्रममा कांग्रेसका युवा नेता गगन थापाका बारेमा यस्तै चर्चा सुनेको थिएँ । त्यो बेला अविवाहित अवस्थाका थापासँग दाम्पत्य जीवनमा बाँधिन आशावादी बनेकी एक नारीको गुनासो त्यहाँ सुनिएको थियो । मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ । गगन थापाले ती नारीसँग विवाह नगरी अर्कै नारीसँग विवाह गरेपछि ती नारीमाथि गगन थापाजस्तो लोकप्रियता हासिल गरेको युवा नेताले अन्याय गरेको महसुस मैले गरेको थिएँ ।

महराको अहिलेको यौन दुव्र्यवहारबारेको चर्चासँग मैले गगन थापालाई जोड्नुको कारणमा महराको विद्यार्थी जीवनको राजनीति र उनको व्यक्तिगत आचरणबारेको सम्झना पनि हो । महरा र म ०३४/०३६ समूहका विज्ञान विषय अध्ययन गर्ने एउटै कक्षाका विद्यार्थी थियौं । महरा बायोलोजी र म फिजिक्स समूहका विद्यार्थी थियौं । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदाका महरा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आबद्ध थिए । म भने अनेरास्ववियुको कार्यकर्ता थिएँ । महरा वीर विपी जिन्दावाद भनेर सडकमा नारा लगाउँथे भने मलगायतका केही साथीहरू थियौं वीपी कोइरालालाई चिनियाकाजीको हत्याको आरोप लगाएर हत्यारो वीपी मूर्दावाद भनेर नारा लगाउने गथ्र्याै । तैपनि त्यो बेला महराको आचरण मलाई कांग्रेसजस्तो पटक्कै लाग्दैनथ्यो । यस्तो आचरण भएको मानिस तपाई किन कांग्रेसमा लागेको भनेर मैले महराजीलाई विद्यार्थीकालमा धेरै पटक जिस्काएको मलाई सम्झना छ । केही लज्जालु स्वभावका महरा अध्ययनशील र इमान्दार विद्यार्थीका रूपमा कक्षा कोठामा पढाउने शिक्षकहरूले पनि लिने गर्दथे । हाम्रा त्यो बेलाका सहकर्मी रामानन्द यादव सिँचाइ विभागको सचिवमा कार्यरत रहँदाकै अवस्थामा गत वर्ष आफैंले चलाएको गाडी त्रिशुलीमा खसालेर मृत्युवरण गरे । यादव, महरा र म विद्यार्थीकालमा धेरै आत्मीय मित्रका रूपमा पनि रहेका थियौं । ०३६ सालमा विज्ञान विषयको प्रमाणपत्र तह अध्ययन पूरा गरी बिदा भएका महरा एकैपटक ०४८ सालमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको सदस्य बनेर आएपछि काठमाडौंमै भेट भएको थियो । विगतका स्मरणहरू सम्झनामा आउँदा मित्रभेटका दौरानमा रमाइलो भएको थियो ।

नेपाली कांग्रेसको राजनीतिक संस्कार बिल्कुलै नदेखिने कृष्णबहादुर महरा मेरो दृष्टिकोणमा प्रगतिशील नै लाग्दथे । आखिर महरालाई संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर आएपछि मैले विद्यार्थीकालमा अनुमान गरेको महरा प्रगतिशील कित्तामै आएको देख्न पाइयो । मलाई खुशी लाग्नु स्वाभाविक थियो । म स्वयम् पत्रकारको रूपमा कार्यरत रहेको भए पनि महराको राजनीतिक आबद्धताभन्दा पृथक भूमिकामा आफू पनि नभएकाले मित्रता झनै गाढा बन्न पुगेको थियो । समयक्रमले ०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र युद्धले महराको राजनीतिक कित्ता र मेरो राजनीतिक कित्तालाई सांगठनिक रूपमा फरक धारमा पु¥याइदियो । महरा जनयुद्धतिर लाग्नुभयो भने म नेकपा एमाले बन्न पुगें ।

०५३ सालमा प्रतिनिधिसभाबाट महाकाली सन्धि पारित भएपछि त्यो सन्धिका विरुद्धमा सशस्त्र युद्धको मैदानमा रहेका महरा र नेकपा एमालेमा रहेको म बीचमा समान धारणा बन्न पुगेको थियो । अर्थात महाकाली सन्धि राष्ट्रिय हित विपरीत छ भन्ने धारणामा हामी दुवै एउटै कित्तामा पुगेका थियौं । महाकाली सन्धिका तत्कालीन योजनाकार एमाले नेताहरू माधव नेपाल र केपी ओली सरकारी सुरक्षा घेरामा बस्नुपरेको थियो । महराहरूको सशस्त्र युद्धको निशानामा समेत परिने डर तत्कालीन एमाले नेतृत्वमा रहेको थियो । अहिले समय फेरिएको छ । महाकाली सन्धिका योजनाकारहरूसँग पार्टी एकीकरण गर्दै महरा महाकाली सन्धिको राष्ट्रघातलाई काँध थाप्न पुग्नुभयो । त्यतिले मात्र नपुगेर गण्डकी र कोशीका राष्ट्रघातलाई मलजल गर्दै माथिल्लो कर्णाली, सेती र अरुण तेस्रोमा समेत नेपालको हक मेटाउने मतियार बन्न पुग्नुभयो । जस्तासुकै राष्ट्रघातजन्य कामहरूमा पनि पार्टीको निर्णयलाई मान्नैपर्ने बाध्यताका साथ महराले गर्नुभएको सम्झौता शायद उहाँ स्वयंलाई पश्चाताप थियो । कैयौंपटक भेटेरै संवाद गर्ने क्रममा यस्तो पश्चाताप महरामा भएको अनुभव गरिएको थियो ।

कृष्णबहादुर महरामा रहेको इमान्दारिता, शालिनता र क्रान्तिकारिताको सही ढंगले सदुपयोग हुन पाएको थिएन । तथापि पार्टीको माथिल्लो हैसियत बनाउन महरालाई सफलता प्राप्त भएको थियो । पार्टीको तर्फबाट प्रतिनिधिसभाको सभामुखको जिम्मेवारीमा पुगेको अवस्थामा एउटी नारीबाट ठूलो अभियोग लाग्न पुग्नु महराको लागि जीवनको सबैभन्दा ठूलो दुर्भाग्य हो । अभियोगको सत्यता शंकाको घेरामै रहे पनि महराबाट गम्भीर कमजोरी प्रदर्शित भएको कुरामा दुईमत छैन । यो अवस्थामा महरा पुग्नुमा राजनीतिक वैचारिक रूपमा पार्टीले अपनाएको विचलन पनि मुख्य जिम्मेवार छ भन्ने मलाई लाग्दछ । देशप्रतिको जिम्मेवारी र जनताप्रतिको जवाफदेहितातर्फ जिम्मेवारीबोध नभइदिएपछि विलासी जीवन बिताउनतर्फ राजनीतिक व्यक्तित्वहरूलाई फुर्सद हुँदोरहेछ भन्ने कुरा महरामाथिको दुर्घटनाले पनि पुष्टि गरेको छ ।

तत्कालीन माओवादीको सशस्त्र युद्धबाट शान्तिप्रक्रियामा आउँदा बित्तिकै सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका कृष्णबहादुर महरालाई पुल्चोकस्थित मन्त्री निवासमै भेट गर्दाको क्षण पनि यतिबेला सम्झना भइरहेको छ । त्यो बेला महरा र मेराबीचमा भएका केही राष्ट्रिय महत्वका विषयहरू पनि यतिबेला मेरो स्मरणमा आइरहेका छन् । नेपालको पहाडी भेगमा एउटा ठूलै लगानीको ‘मिनेरल वाटर’ उत्पादन गर्ने गरी कोरियन कम्पनी आएको थियो । सो कोरियन कम्पनीलाई त्यसबखत चर्चामा नसुनिएका व्यक्ति अजय सुमार्गीले फसाउन खोजिरहेको गुनासो मसमक्ष आइपुगेको थियो । मैले सञ्चार मन्त्री महरालाई यो विषयमा जानकारी गराउँदै राष्ट्रिय महत्वको योजना भएकाले विदेशी लगानीलाई संरक्षण गनुपर्ने सुझाव राखेको थिएँ । महराले दुईचार दिन समय मागेपछि म आश्वस्त भएको थिएँ । तर दुई दिनभित्रै महराको जवाफ मैले पाएँ– ‘यो विषयमा चासो नराख्नु ठीक होला ।’ म आश्चर्यचकित भएँ । त्यही भेटको दौरानमा शान्तिप्रक्रियाको बहानामा माओवादीले कांग्रेस र एमालेसँग गरेको सहकार्यले देशलाई भारतको प्रान्त बनाउने त होइन भनेर महरासँग जिज्ञासा राखेको थिएँ । महराले मेरो यो जिज्ञासालाई अस्वीकार गर्दै राजा ज्ञानेन्द्रको मूर्खताले गर्दा माओवादी यो अवस्थामा पुगेको रहस्य खोले । महराका अनुसार माओवादीले रोल्पाबाट तत्कालीन राजाका विश्वास पात्र व्यक्ति रमेशनाथ पाण्डेमार्फत राजासन्ँग संवादका लागि प्रस्ताव पठाएको थियो । राजाले संवाद गर्न अस्वीकार गरेपछि कांग्रेस र एमालेसँग सहकार्य गरी राजतन्त्र विरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय भएको हो । यो जानकारी पाएपछि मैले राजा ज्ञानेन्द्रलाई पनि भेटेको थिएँ । रमेशनाथ पाण्डेमार्फत माओवादीको वार्ता प्रस्ताव आएकोबारे राजा ज्ञानेन्द्रसँग जिज्ञासा राख्दा ‘कुनै नाथबाट त्यस्तो प्रस्ताव आफू समक्ष नआएको र त्यस्तो प्रस्ताव आएको भए हतियार बोकेको राजनीतिक शक्तिसँग संवाद नै नगर्ने भन्ने कुरा हुँदैनथ्यो’ भनेर राजाबाट जवाफ पाएँ । मैले यो सन्दर्भलाई यहाँ जोड्न यसकारण पनि आवश्यक ठानेको छु, राजाका छोरा पूर्व युवराज पारसको व्यक्तिगत आचरण जसरी आलोचित छ, त्यसैगरी प्रचण्डका छोरा प्रकाशको आचरण पनि आलोचित थियो र आजका कम्युनिष्ट कृष्णबहादुर महराको आचरण पनि आलोचित बन्न पुगेको छ । तथापि यौन दुव्र्यवहारको आरोपमा परेपछि नैतिकताको कारणबाट महराले राजीनामा गरेको घटनाले भने नेपालको राजनीतिमा दीर्घकालीन प्रभाव अवश्य छोड्ने छ र कुनै पनि जिम्मेवार पदासीन व्यक्तिले मात्र नभएर आम रूपमा सचेत पुरुषहरूले नारीसँग कस्तो व्यवहार गर्ने भन्नेबारे पनि एउटा मार्गदर्शन भन्ने आशा पलाएको छ । आगे सबैलाई चेतना भया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here