राष्ट्रपति सी को भ्रमणअघि नै ब्यारेकबाट निस्कियो सेना

219

काठमाडौं / नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विमानस्थल, राष्ट्रपति सी चढ्ने विमान, सडक, होटल र कार्यक्रमस्थल जस्ता क्षेत्रमा चारवटै सुरक्षा निकायका टोली खटिइसकेको जनाउँदै गस्तीमा सेना परिचालन भएको पुष्टी गरे।

उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा सुरक्षा नेतृत्व पाएको नेपाली सेनाले ब्यारेकबाट निस्केर काठमाडौंका सडक–चोकमा गस्ती गर्न थालेको छ।

करिव २३ वर्षपछि हुन लागेको चीनका राष्ट्रपतिको भ्रमणमा हुन सक्ने सुरक्षा खतराको विश्लेषण गर्दै नेपाली सेना हतियारसहित गस्तीमा निस्केको हो।

सेनाले सुरक्षाका दृष्टिले संवेदनशील र तिब्बती शरणार्थीहरुको बाक्लो उपस्थिति रहेका विमानस्थल, बौद्ध, स्वयम्भु, जावलाखेल, बालुवाटार र हात्तिसारस्थित चिनियाँ दूतावास क्षेत्र तथा फर्फिङबाट उपत्यका छिर्ने नाकामा गस्ती सुरु गरेको हो।

नेपाल सरकारले विशिष्ट पाहुनाको सुरक्षाका लागि अति विशिष्ट सुरक्षा कार्यविधि २०७० जारी गरेको छ। त्यो कार्यविधिअनुसार नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागकोे भूमिका स्पष्ट गरिएको छ। त्यही विधिअनुसार चारवटै सुरक्षा निकाय राष्ट्रपति सी भ्रमणको सुरक्षामा खटिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जनाए ।

‘सेनाको नेतृत्वमा जंगी अड्डामा एकीकृत सुरक्षा समन्वय समिति गठन भएको छ, समितिका बैठकहरु भइसकेका छन्’, पाण्डेले जानकारी दिएका छन्, उनले ‘कार्यविधिमा उल्लेख भएअनुसार सबै सुरक्षा निकायको आ–आफ्नो जिम्मेवारीअनुसार सुरक्षामा खटिएका छौं।’

विमानस्थल, राष्ट्रपति सी चढ्ने विमान, सडक, होटल र कार्यक्रमस्थल जस्ता क्षेत्रमा चारवटै सुरक्षा निकायका टोली खटिइसकेको जनाउँदै पाण्डेले गस्तीमा सेना परिचालन भएको पुष्टी गरे।

करिब पाँच हजार नेपाली सेना सुरक्षा गस्तीमा खटिएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका एक अधिकारीले जनाए।

नेपालको संविधानको धारा २६७ को उपधारा ६ मा ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ’ भन्ने उल्लेख गरिएको छ।

तर गत चैतमा राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा बनेको ऐनले भने तत्काल परिषदको बैठक बस्न सम्भव नभएमा प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने बाटो खुला गरेको थियो।

राष्ट्रपति सी असोज २५ गते भारतको चेन्नइबाट विशेष चार्टर्ड विमानमा काठमाडौं उत्रने र एक रात बसेर बेइजिङ उड्ने कार्यतालिका रहेको छ। बेइजिङले औपचारिक रुपमा भ्रमण तालिका सार्वजनिक नगरे पनि यसपाली सी एकै पटक नेपाल र भारतको भ्रमणमा निस्कने तयारीमा रहेका छन्।

विशिष्ट अतिथिको सुरक्षा कार्यविधिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राष्ट्रपति सी चिनफिङको सुरक्षाका लागि नेपाली सेना खटिएको हो। सीलाई नेपालले अति विशिष्ट भन्दा माथिको सम्मानका साथ जेड–प्लस सुरक्षा व्यवस्था र सम्मान दिने तयारी गरेको छ।

जेड–प्लस सुरक्षा व्यवस्था भनेको नेपालले अपनाउने सबैभन्दा उच्चस्तरको सुरक्षा व्यवस्था हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउँदा यस्तै सुरक्षा व्यवस्था गरिएको थियो।

नेपाली सेनाका अधिकारीहरूका अनुसार सीलाई मोदीभन्दा बढी सुरक्षा चुनौति रहेकाले जेड–प्लस सुरक्षा व्यवस्थालाई अझै बलियो र व्यवस्थित बनाउन लागिएको छ। यस्ता भ्रमणहरूमा अतिथिको प्रोफाइल र सुरक्षा चुनौति विश्लेषण गरेर नेपालले मध्यम, विशिष्ट, अति विशिष्ट र त्यसभन्दा माथिको सुरक्षा रणनीति अपनाउने गरेको छ।

नेपाली सेनाका उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु सम्मिलित संयुक्त सुरक्षा टोलीले सी भ्रमणको सुरक्षा खाका बनाएर काम थालिसकेको छ।

तिब्बती शरणार्थीप्रति विशेष निगरानी

चारवटै सुरक्षा निकायका सुरक्षा अधिकारीहरु तिब्बती शरणार्थीले सी भ्रमणका क्रममा विरोध प्रदर्शन गर्छन् कि भनेर निकै सतर्क देखिएका छन्। बौद्ध प्रहरी बृतका डीएसपी रमेशकुमार सिंहले तिब्बतीहरुको गतिविधिमाथि विशेष निगरानी राखिरहेको जनाए ।

‘विरोधमा उत्रिने जो कोहीलाई पक्राउ गरिहाल्ने निर्देशन प्राप्त भएको छ’, उनले भने।

एकीकृत सुरक्षा समितिका सुरक्षाकर्मीबाहेक चिनियाँ सुरक्षा निकायका अधिकारीहरु पनि सी भ्रमणका सुरक्षा चुनौति अध्ययन गर्न काठमाडौंमा सक्रिय रहेको नेपाल प्रहरीका एक अधिकारीले जनाए ।

प्रहरी अधिकारीका अनुसार दर्जनौं संख्यामा अहिले काठमाडौंमा रहेका चिनियाँ खुफिया एजेन्सीका अधिकारीहरु राष्ट्रपति सीलाई कुन–कुन क्षेत्रबाट कसरी सुरक्षा चुनौति हुनसक्छ, सी भ्रमणलाई नेपाली जनताले कसरी लिएका छन्, तिब्बती शरणार्थीले कस्तो विरोध प्रर्दशन गर्न सक्छन् जस्ता विषयको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाउन सक्रिय छन्।

तिब्बती शरणार्थी रहने क्षेत्रहरु बौद्ध, जावलाखेल, स्वयम्भु र फर्फिङबाहेक विमानस्थल, विमानस्थलबाट सोल्टी होटल जाने बाटो, राष्ट्रपति निवास महाराजगन्ज जाने बाटो र कार्यक्रम हुने स्थलहरुमा चिनियाँ र नेपाली सुरक्षा अधिकारीहरु विशेष सुरक्षा व्यवस्थासहित खटिएका छन्।

भारतमा रहेका तिब्बती शरणार्थीहरुले नेपाल आएर विरोध प्रदर्शन गर्न सक्ने विश्लेषणसहित नेपाली सुरक्षाकर्मीहरु भारतसँग सीमा जोडिएका काँकडभिट्टादेखि कञ्चनपुरसम्म नै परिचालित भएको स्रोतको धारणा छ। साथै उत्तरी सीमा नाकाहरूमा पनि नेपाल र चीनका सुरक्षा अधिकारीहरुले विशेष निगरानी बढाएको ती प्रहरी अधिकारीले खुलाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here