Home विचार नेपालका कम्युनिष्टहरुलाई माेहन वैद्यकाे सुझाव

नेपालका कम्युनिष्टहरुलाई माेहन वैद्यकाे सुझाव

13
– मोहन वैद्य‘किरण’

आमुख
माक्र्सवाद विश्वसर्वहारा वर्गको क्रान्ति र मुक्तिको विज्ञान हो । संशोधनवादले माक्र्सवादको तोडमोड र भ्रष्टीकरण गर्दछ ।

माक्र्सवादको विकाससितै संशोधनवाद पनि विकसित हुुुुँदै आएको छ । आज एकातिर माक्र्सवादको माक्र्सवाद—लेनिनवाद—माओवादमा विकास भएको छ भने अर्कोतिर संशोधनवादको शास्त्रीय,आधुनिक तथा नवसंशोधनवाद हुँदै नवप्रतिक्रियावादमा पतन हुन पुगेको छ । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका साथै नेपाली कम्युनिस्ट आन्दोलनका सन्दर्भमा पनि सत्य हो ।

हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद र संशोधनवादका बीच चल्दै आएको संघर्षलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा अध्ययन गर्नु पर्दछ । विपरीतहरुको एकता र संघर्षको नियम द्वन्द्ववादको आधारभूत नियम हो । यो प्रकृति, समाज र चिन्तनको क्षेत्रमा पनि लागु हुन्छ । सिङ्गो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास जस्तै नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास पनि विपरीतहरुको एकता र संघर्षको इतिहास हो । यो विपरीतहरुको वाद, विवाद र संवादको प्रक्रियाका बीचबाट अगाडि बढ्दै आएको छ ।

ऐतिहासिक भौतिकवादले के बताउँछ भने समाजमा चल्ने शोषक तथा शोषित वर्गका बीचको अन्तर्विरोध कम्युनिस्ट पार्टीभित्र पनि प्रतिबिम्बित हुन्छ र त्यो दुई लाइन संघर्षका रुपमा घनीभूत बनेर प्रकट हुने गर्दछ । यो पनि एउटा वस्तुगत नियम हो । पार्टीमा चल्ने स्वस्थ तथा मैत्रीपूर्ण संघर्षको समाधान स्वस्थ तथा मैत्रीपूर्ण रुपमा हुन्छ र गरिनु पर्दछ । परन्तु जब त्यस संघर्षले शत्रुतापूर्ण रुप लिन पुग्दछ त्यस स्थितिमा पार्टीमा फुट पनि पैदा हुन्छ । त्यस प्रकारको फुटलाई मूलतः विचारधारात्मक तथा राजनीतिक फुटका रूपमा ग्रहण गर्नु पर्दछ ।

कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी र अवसरवादी धाराका बीच अन्तर गर्ने मूल कसौटी वा मापदण्ड हुन्– पथप्रदर्शक सिद्घान्त, राजनीतिक तथा सामरिक कार्यदिशा, सांगठनिक मान्यता र संघर्षसम्बन्धी गतिविधि । हामीले यिनलाई मूर्त बनाई अध्ययन गर्नु पर्दछ ।
प्रस्तुत सङ्कलित कृति माक्र्सवादको पक्ष र संशोधनवाद तथा पश्चगमनको विपक्षमा परिलक्षित रहेको छ । यहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद र संशोधनवादका बीच चल्दै आएको संघर्षलाई वाद, विवाद तथा संवादका रूपमा उल्लेख गर्दै इतिहासबाट सिक्नु पर्ने पाठ र वर्तमान अवस्थामा माक्र्सवादीहरूले निर्वाह गर्नुपर्ने दायित्वबारे सङ्क्षिप्तमा चर्चा गरिएको छ ।

इतिहासको द्वन्द्ववाद
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विकास प्रक्रियाको द्वन्द्ववादमाथि प्रकाश पार्दै चिनियाँ कम्युनिस्ट पार्टी भन्दछ : “एकता, संघर्ष र विभाजनसम्म तथा नयाँ आधारमा नयाँ एकता–त्यही हो अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासको द्वन्द्ववाद ।” (महान् बहस,पृ.१९६ ।) यो उद्घरण १९६० को दशकमा चिनियाँ कम्युनिस्ट पार्टीले रूसी कम्युनिस्ट पार्टीलाई पठाएको पत्रबाट लिइएको हो । यो भनाइ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकाससम्बन्धी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित छ । यो कुरा नेपाली कम्युनिस्ट आन्दोलनमा पनि लागु हुन्छ ।

कम्युनिस्ट आन्दोलनको इतिहासको द्वन्द्ववादलाई बुझ्नका लागि विपरीतहरूको एकता र संघर्ष सम्बन्धी द्वन्द्ववादको आधारभूत नियमबारे केही कुरा गर्न आवश्यक छ । यो नियम समस्त प्रकृति, मानव समाज, चिन्तन र कम्युनिस्ट पार्टीभित्र पनि क्रियाशील हुन्छ । विपरीतहरूको एकता र संघर्षका दुई अवस्था हुन्छन् । पहिलो अवस्थामा विपरीतहरूबीच एकता र संघर्ष दुबै हुन्छन्, विपरीतहरू साथसाथै रहन्छन् र एकको अभावमा अर्काको अस्तित्व हुँदैन । दोस्रो अवस्थामा ती विपरीतहरू एकअर्कोमा बदलिन्छन् । जस्तो कि माओ भन्नुहुन्छ : “सबै परस्पर विपरीतहरू अन्तःसम्बधित हुन्छन्, र ती न केबल एक विशेष परिस्थतिमा एउटै एकाइमा सहअस्तित्वको स्थितिमा रहन्छन्, अपितु एक अन्य विशेष परिस्थतिमा एक अर्कोमा पनि बदलिन्छन् ।” (ग्रन्थ १, हिन्दी पृ.१०९ ) हामीले विपरीतहरूको एकता र संघर्षका यी दुबै अवस्थालाई वाद–विवाद र सम्वाद वा एकता—संघर्ष र रूपान्तरणका अर्थमा पनि बुझ्नु पर्दछ ।

यसरी हेर्दा एउटा कम्युनिस्ट पार्टीमा एउटा अवस्थामा एकैसाथ वाद—विवाद वा एकता—संघर्ष मात्रै हुन्न, अपितु अर्को अवस्थामा तिनको रूपान्तरण पनि हुन्छ । कम्युनिस्ट पार्टीमा विद्यमान अन्तःसंघर्ष वा दुई लाइन संघर्षलाई यसरी नै बुझ्नु पर्दछ । कम्युनिस्ट पार्टी भित्र चल्ने अन्तःसंघर्ष वा दुई लाइन संघर्ष मैत्रीपूर्ण नै हुन्छन् र हुनुपर्दछ , परन्तु कुनै खास अवस्थामा तिनले शत्रुतापूर्ण रूप पनि लिन सक्तछन् र पुग्दछन् पनि । मुख्यतः जब पार्टीमा संशोधनवादले प्रवेश गर्दछ, त्यो बेला संघर्षले शत्रुतापूर्ण रूप लिन पुग्दछ । त्यस स्थितिमा पार्टीमा एकता–संघर्ष र रूपान्तरण वा वाद–विवाद र सम्वाद होइन, विभाजन अर्थात् फुट पैदा हुने गर्दछ ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास माक्र्सवादी र संशोधनवादी धाराका बीचको भीषण संघर्षको इतिहास हो । यो इतिहास वाद, विवाद र संवादको द्वन्द्वात्मक प्रक्रियाका बीचबाट विभिन्न चरण हुँदै अगाडि बढेको छ । यो प्रक्रियालाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ ः २००६ सालदेखि २०३१ सालसम्म, २०३१ पश्चात् २०५१ सालसम्म, २०५२ देखि २०६९ सालसम्म र २०६९ देखि हालसम्म । यस प्रक्रियाका मूल विशेषताबारे संक्षिप्तमा चर्चा गर्न आवश्यक छ ।

(क) २००६ सालदेखि २०३१ सालसम्म
२००६साल बैसाख १० अर्थात् २२ अप्रिल १९४९ मा नेपालमा क. पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भयो र त्यसले एउटा महत्वपूर्ण पर्चा निकाल्यो । १५ सेप्टेम्बर १९४९ मा पार्टीको पहिलो घोषणापत्र प्रकाशित भयो । त्यसमा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा माक्र्सवाद–लेनिनवादको पथप्रदर्शनमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरूद्ध लोकजनवादी अर्थात् जनताको जनवादी क्रान्ति गर्नुपर्ने मान्यता प्रस्तुत गरियो । २००८ सालको राष्ट्रिय सम्मेलनमा क. पुष्पलालको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम पारित गरियो । २००६ सालदेखि पहिलो महाधिवेशनसम्मको अवधि क्रान्तिकारी अवधि थियो र यो निकै शानदार तथा उपलब्धिमूलक रह्यो ।

परन्तु, २०१० सालदेखि २०१९ सालसम्मको अवधिमा पार्टीमा संशोधनवाद प्रभावी रह्यो । २०१० सालको पहिलो महाधिवशनमा नयाँ जनवादी कार्यक्रमलाई हटाई संसदवादी तथा सुधारवादी कार्यक्रम पारित गरियो । मनमोहनलाई महासचिव बनाइयो र उनकै नेतृत्वमा २०१३ सालमा राजाको वैधानिक नायकत्वलाई स्वीकार गरियो । २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनमा नयाँ जनवादलाई सशक्त रुपमा उठाइएन । गणतन्त्रको नारा स्वीकार गरिए पनि राजावादी केशरजंग रायमाझीलाई महासचिव बनाइयो । २०१७ सालमा रचिएको राजाको फौजी काण्ड पश्चात् २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्रको आधारभूत कार्यक्रम र सर्वसत्ता सम्पन्न सार्वभौम संसदको मूल राजनीतिक कार्यनीति पारित गरियो । यो संशोधनवाद प्रभावी रहेको अवधि थियो ।

तृतीय महाधिवेशन पश्चात् पार्टीमा भीषण सैद्धान्तिक तथा राजनीतिक दुई लाइन संघर्ष चल्यो । यसै क्रममा पार्टीमा विभाजनको प्रक्रिया अघि बढ्यो । २०२५ सालमा तेस्रो सम्मेलन सम्पन्न गरी बनेको पुष्पलाल समूह, २०२८ सालको झापा विद्रोहबाट जन्मिएको विद्रोही कम्युनिस्ट समूह र २०२८ सालको केन्द्रीय न्यूक्लस हुँदै २०३१ सालमा गठित चौथो महाधिवेशन समूह– माक्र्सवाद–लेनिनवाद तथा माओविचारधारा, नयाँ जनवाद र सशस्त्र संघर्षको कार्यदिशाको पक्षमा उभिए । यद्यपि यी एकताबद्ध हुन सकेनन्, परन्तु यिनले रुसी आधुनिक संशोधनवाद र तेस्रो महाधिवेशनमा पारित राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको दृढ विरोध गरे । यो क्रान्तिकारी पुनरुत्थानको अवधि थियो ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा २००६ सालदेखि २०१० सालको पहिलो महाधिवेशनपूर्वको अवधिलाई वाद, पहिलो महाधिवेशनदेखि तेस्रो महाधिवेशनको अवधिलाई विवाद र त्यसयता २०३१ सालको चौथो महाधिवेशनसम्मको अवधिलाई संवादका अर्थमा पनि लिन सकिन्छ । यहाँ निषेधको निषेधको एउटा प्रक्रिया पुरा भएको छ । पहिलोलाई दोस्रो र दोस्रोलाई तेस्रो अवधिले निषेध गरेका छन् । यस प्रक्रियामा माक्र्सवाद–लेनिनवाद तथा माओविचारधारा, नयाँ जनवादी क्रान्तिको कार्यक्रम र सशस्त्र संघर्षको मान्यता स्थापित भएका छन् ।

(ख) २०३१ साल पश्चात् २०५१ सालसम्म
यस अवधिको प्रारम्भ माक्र्सवाद–लेनिनवाद तथा माओविचारधारा, नयाँ जनवाद र सशस्त्र संघर्षको मान्यता स्वीकार गर्ने चौथो महाधिवेशन समूह र झापा विद्रोही समूह प्रबल बन्दै देशव्यापी रुपमा फैलँदै गए । २०३६-०३७ को जनआन्दोलनमा कम्युनिस्टहरुको सशक्त भूमिका रह्यो । रायमाझी तथा तुल्सीलाल समूह कमजोर बन्दै गए ।

परन्तु, ४० को दशकमा चौम समूह– तीन धारामा– मशाल, मसाल र चौममा विभाजित बन्यो । झापा विद्रोहीबाट विकसित माले समूहमा अवसरवादको गन्ध आउन थाल्यो । क्रान्तिकारी कम्युनिस्ट धाराहरुमा तीव्र मतभेद र विवादहरु पैदा हुँदै गए । आन्दोलन केही कमजोर बन्दै गयो । यसै क्रममा २०४६ को अन्ततिर संयुक्त जनआन्दोलन मार्फत् पञ्चायती व्यवस्था ढल्यो र वैधानिक राजतन्त्रात्मक संसदीय बहुदलीय व्यवस्थाको स्थापना भयो । २०४६ पश्चात् नेपाली कम्युनिस्ट आन्दोलनमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया तीव्र बेगमा अगाडि बढ्यो । यसै क्रममा एकातिर नेकपा माले, मनमोहन समूह तथा तुल्सीलाल समूहका बीच एकीकरणको प्रक्रिया अगाडि बढ्यो । उनीहरुले २०४७ सालमा महाधिवेशन गरे र नयाँ जनवादलाई परित्याग गरी बहुदलीय जनवादको संशोधनवादी तथा संसदवादी कार्यदिशा अवलम्बन गर्न पुगे । परन्तु, त्यसका ठीक विपरीत अर्काेतिर नेकपा (मशाल), नेकपा (चौम), सर्वहारा श्रमिक संगठन तथा विद्रोही मसाल मिलेर क्रान्तिकारी एकीकरणको प्रक्रियालाई अगाडि बढाए । उनीहरुद्वारा २०४८ सालमा एकता महाधिवेशन गरी माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद तथा दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित गरियो । यस प्रकारको एकीकरण र ध्रुवीकरणको प्रक्रियामा नेकपा (मसाल), नेपाल मजदुर किसान पार्टी आदि कतिपय समूह सम्मिलित भएनन् ।

२०३१ देखि २०५१ सम्मको यस प्रक्रियामा ३० को दशकमा विकसित क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सशक्त तथा प्रभावकारी धारालाई ४० को दशकको पूर्वाद्र्धमा पैदा भएका फुट तथा विचलनले निषेध ग¥यो । अनि त्यस पश्चात् विकसित एकीकरण र ध्रुवीकरणले त्यस प्रकारका फुट तथा विचलनलाई निषेध गरी अर्काे नयाँ संवादलाई जन्म दियो ।

(ग) २०५२ देखि २०६९ सम्म
२०५२ फागुन १ देखि नयाँ जनवादी क्रान्तिको आवश्यक तयारी गर्दै तथा यसक्रममा दक्षिणपन्थी संशोधनवादका विरुद्ध विचारधारात्मक संघर्ष चलाउँदै महान् जनयुद्ध सञ्चालित गरियो । सो जनयुद्ध दश वर्षसम्म आधार इलाका तथा स्थानीय जनसरकारहरुको स्थापनाका बीचबाट रणनीतिक रक्षा र सन्तुलनका चरण पार गर्दै अगाडि बढ्यो र यो एक आकर्षणको केन्द्र बन्न पुग्यो । यो नेपाली नयाँ जनवादी क्रान्ति तथा कम्युनिस्ट आन्दोलनको इतिहासमा एक युगान्तकारी परिघटना थियो ।

यसै अवधिमा अन्य कम्युनिस्ट समूहहरूमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढ्यो । नेकपा (एमाले) विभाजित बन्न पुग्यो । त्यो समूह एमाले र मालेमा विभक्त भयो । यस अवधिमा एमाले र मालेभित्रका कैयौं क्रान्तिकारीहरू नेकपा (माओवादी) मा एकीकृत हुनपुगे । यस अवधिमा पनि वाद–विवाद र सम्वादका विभिन्न प्रक्रिया अगाडि बढे ।

परन्तु, जनयुद्धको अन्तिमकाल तथा २०६३ मङ्सिरमा गरिएको विस्तृत शान्तिसम्झौता यता पार्टीको एउटा प्रमुख नेतृत्व पंक्तिमा पैदा भएको गम्भीर प्रकृतिको दक्षिणपन्थी विचलन तथा विश्वासघातका कारण क्रान्तिले गम्भीर धक्का खान पुग्यो ।

संविधानसभाको कालमा एकातिर पार्टीभित्र भीषण दुईलाइन संघर्षको क्रम अघि बढ्यो भने अर्काेतिर एकीकरण एवं ध्रुवीकरणको प्रक्रिया पनि विकसित भयो । यसै सिलसिलामा २०६९ सालमा क्रान्तिकारी धाराले अवसरवादका विरुद्ध ऐतिहासिक विद्रोह ग¥यो ।

नेपाली कम्युनिस्ट आन्दोलनको वाद, विवाद र संवादको यस प्रक्रियामा २०५२ सालदेखि विकसित हुँदै आएको क्रान्तिकारी धारालाई माओवादीभित्रकै अवसरवादी धाराले निषेध ग¥यो र सो अवसरवादी धारालाई माओवादी सहितको क्रान्तिकारी धाराले निषेध गर्न पुग्यो ।

(घ) २०७० सालदेखि हालसम्म
यो अत्यन्तै तीव्र एकीकरण र ध्रुवीकरणको अवधि हो । यसै क्रममा कम्युनिस्ट आन्दोलनमा विभिन्न धारा तथा उपधाराका बीच वाद, विवाद र सम्वादका विभिन्न प्रक्रिया चल्दै आएका छन् । आज नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादीहरु एकातिर र क्रान्तिकारीहरु अर्काेतिर भई संवादका रुपमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढेको छ ।

यो बेला नेपाली कम्युनिस्ट आन्दोलन मूलतः दुई धारा तथा ध्रुवमा खडा छ । आज एउटा ध्रुवमा कम्युनिस्ट पार्टी स्थापनादेखि प्रथम महाधिवेशन पूर्वसम्मको क्रान्तिकारी परम्परा, क. पुष्पलालद्वारा २०२५ मा आयोजित तेस्रो सम्मेलन, २०२८ सालको ऐतिहासिक झापा विद्रोह तथा २०२८ को केन्द्रीय न्युक्लस हुँदै २०३१ मा आयोजित चौथो महाधिवेशन र २०५२–२०६२ सम्मको दशवर्षे जनयुद्ध सहितको क्रान्तिकारी धारा खडा छ । परन्तु यसको ठीक उल्टो २०१०– २०१९ सम्मको दक्षिणपन्थी संशोधनवादी परम्परा, झापा विद्रोहबाट विचलित माले तथा एमालेका नकारात्मक प्रवृत्ति र पूर्व चौम तथा माओवादी आन्दोलनको अवसरवाद सम्मिलित भई अर्काे ध्रुव खडा भएको छ । आज यो धारा पश्चगमनको यात्रामा हिंडिरहेको छ । उक्त दुई धारा वा ध्रुवभन्दा पृथक् केही उपधारा पनि आज अस्तित्वशील रहेका छन् । तर तिनले लामो समयसम्म स्वतन्त्र वा तटस्थ हैसियत जोगाइराख्न सक्तैनन् ।

हामीले द्वन्द्ववादको अध्ययन गर्दा के कुरा बुझ्न जरूरी छ भने कुनै खास समयमा विपरीतहरूका बीचको एकता र संघर्षले उल्टो दिशामा पनि फड्को हान्ने गर्दछ । कुनै खास समयमा वाद, विवाद र सम्वादको प्रक्रिया पनि यसरी नै बढ्दछ । परन्तु सदैव यस्तो हुँदैन । यस्तो रुपान्तरण प्रायशः सुल्टो दिशामा नै हुने गर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनको विकासको यो सिंगो ऐतिहासिक प्रक्रिया एकातिर एकता, संघर्ष, फूट तथा संशोधनवादी विचलन हुँदै पश्चगमनसम्म पनि र अर्कोतिर पुनः नयाँ आधारमा नयाँ एकीकरण तथा ध्रुवीकरणका बीचबाट एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा अगाडि बढेको छ ।

संशोधनवादको उत्कर्षः पश्चगमन
कुनै खास समयको एउटा क्रान्तिकारी कम्युनिस्ट अर्को कुनै खास समयमा संशोधनवादीमा र त्यो संशोधनवादी प्रतिक्रियावादीमा बदलिन पुगेका कुरा हामीले देख्दै र भोग्दै आएका छौं । यो कुरा अन्तर्राष्ट्रिय र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासबाट पुष्टि भइसकेको छ । कुनै दिन आ–आफ्नो समयमा बर्नस्टाइन, काउत्स्की, त्रात्स्की, ख्रुस्चोभ, ल्यु, तेङ्ग आदि क्रान्तिकारी नै थिए । तर पछि गएर ती संशोधनवादी हुँदै प्रतिक्रियावादी बन्न पुगे । हिंजोका माले, एमाले र माओवादी भित्रका कैयौं क्रान्तिकारी नेताहरू आज प्रतिक्रियावादी कित्तामा सामेल हुन पुगेका छन् ।

यसै सन्दर्भमा पूर्व एमाले तथा माओवादी केन्द्र सम्मिलित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नाममा २०७४ साल चैतमा तयार पारिएको राजनीतिक प्रतिवेदनमा उल्लिखित उनीहरूका मूल राजनीतिक मान्यता,दृष्टिकोण, कार्यक्रम, नीति तथा कार्यदिशाबारे केही चर्चा गर्न जरुरी छ ।

उनीहरूले आफ्नो राजनीतिक प्रतिवेदनमा पुँजीवादी जनवादी क्रान्ति प्रक्रिया, सारतत्व र चरित्र सबै हिसाबले आधारभूत रुपमा सम्पन्न भएको कुरा बताएका छन् । प्रतिवेदनमा भनिएको छ,“ सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको मौलिक एवम् विशिष्ट प्रक्रियाबाट नेपाली पुँजीवादी जनवादी क्रान्ति आधारभूत रूपले सन्पन्न भएको छ ।” प्रतिवेदनमा अगाडि भनिएको छ– “कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको नेतृत्वदायी भूमिकामा सम्पन्न भएकोले नेपाली पुजीवादी जनवादी क्रान्ति परम्परागत संसदीय गणतन्त्र वा औपचारिक राजनीतिक लोकतन्त्रमा मात्र सीमित छैन । यो समाजवाद उन्मुख जनताको जनवादका रूपमा स्थापित भएको छ ।” यी भ्रमपूर्ण शब्दजाल भन्दा अरु केही होइनन् ।

के नेपालमा साँच्चै पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भई जनताको जनवाद स्थापित भएको छ त ? दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको राज्यसत्ता र उनीहरूकै पुरानो राज्यमशिनरीलाई यथावतै कायम राखेर, लोकतान्त्रिक गणतन्त्रमा आधारित पुरानै संसदीय व्यवस्थालाई शिरोधार्य गरेर र नेपाल जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक मुलुकमा साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप तथा प्रभुत्वलाई यथावत् स्विकारेर यहाँ पुँजीवादी जनवादी क्रान्ति पुरा भई जनताको जनवाद स्थापित भएको कदापि ठहर्दैन । त्यस्तै, उनीहरू के तर्क पनि गर्दछन् भने कम्युनिस्ट वा वाम नेतृत्व रहेकोले उक्त क्रान्ति सम्पन्न भएको हो । के कम्युनिस्ट विचारधाराको परित्याग गरी प्रतिक्रियावादी वर्ग, राज्यसत्ता र व्यवस्थाको रक्षाकवच बनेका तत्वहरू कम्युनिस्ट वा वाम हुन सक्तछन् ? कदापि सक्तैनन् ।

संविधानमा समाजवाद राखिएकोमा उनीहरु निकै फुर्ती गर्दछन् । प्रतिवेदनमा भनिएको छ– “हाम्रो संविधानले समाजवादप्रति प्रतिबद्धता जाहेर गरेको छ, राज्यलाई समाजवादन्मुख राज्यको रुपमा परिभाषित गरेको छ ।” आखिर यो समाजवाद कस्तो हो त ? उनीहरु प्रतिवेदनमा भन्दछन्– “यतिबेला त्यो (प्रजातान्त्रिक समाजवाद–ले) नउवदारवादी पुँजीवादको एउटा अंगको रुपमा निकम्मा र अकर्मण्य बनेको छ । हाम्रो समाजवाद त्यस प्रकारको “प्रजातान्त्रिक समाजवाद” होइन । दोस्रो, हाम्रो समाजवाद सोभियत संघ र त्यसलाई अन्धानुकरण गरेर आम रुपमा पूर्व समाजवादी देशहरूमा लागू गरिएको ‘सोभियत मोडेल’को समाजवाद पनि होइन । त्यसले कतिपय सकारात्मक पक्ष र योगदानका बाबजुद समाजवादलाई एकदलीय राज्यप्रणाली र निजी सम्पत्तिको औपचारिक उन्मूलन, राष्ट्रियकरण तथा राज्य नियन्त्रित समाजवादी आर्थिक प्रणालीका रुपमा सीमित गरी गलत ढंगले प्रस्तुत गर्ने काम ग¥यो र अन्ततः त्यो आफैमा अन्तर्निहित कमजोरीका कारण समेतले समाप्त भयो । हामीेले निर्माण गर्ने समाजवाद त्यसबाट शिक्षा लिँदै आजको युगका विशेषताहरु समाविष्ट भएको उन्नत समाजवाद हुनेछ । अबको समाजवादमा लोकतन्त्र वा जनवादको अभ्यासलाई कुण्ठित हुन दिइने छैन, बरु सुनिश्चित गरिनेछ ।”

त्यो समाजवाद “नवउदारवादी पुँजीवादको एउटा अंगका रुपमा” “प्रजातान्त्रिक समाजवाद” होइन । साथै त्यो “सोभियत मोडेलको समाजवाद” पनि होइन । अनि के हो त ? उनीहरुको भनाइमा त्यो आजका युगका विशेषता समाविष्ट भएको उन्नत समाजवाद हो । यहाँनेर गहिरिएर ध्यान दिनुपर्ने चार वटा कुरा छन् । पहिलो, वैज्ञानिक समाजवादलाई प्रजातान्त्रिक समाजवादबाट अलग्याउने एउटा सारभूत तत्व भनेको सर्वहारावर्गको अधिनायकत्व हो । यदि उनीहरुले चाहेको “उन्नत समाजवाद”मा त्यो सारतत्व छैन भने त्यस प्रकारको समाजवाद नवउदारवादी पुँजीवादको एउटा अंगको रुपमा प्रजातान्त्रिक समाजवाद भन्दा के कति आधारमा भिन्न रहेको छ त ? यसबारे उनीहरुको दस्तावेज मौन छ । दोस्रो, जब “उनीहरु संविधानले समाजवादप्रति प्रतिबद्धता जाहेर गरेको” भनेर भ्रम पैदा गर्दछन्, त्यो बेला उनीहरुले कल्पना गरेको उन्नत समाजवाद अन्तर्गत त्यस संविधानमा सहमत नेका लगायतका दलहरुको प्रजातान्त्रिक समाजवाद पनि पर्ने कुरा प्रष्ट छ । तेस्रो, उनीहरुले प्रतिवेदनमा सोभियत मोडेलको समाजवादलाई “एकदलीय राज्य प्रणाली र निजी सम्पत्तिको औपचारिक उन्मूलन, राष्ट्रियकरण तथा राज्य नियन्त्रित समाजवादी आर्थिक प्रणालीका रुपमा रुपमा सीमित गरी गलत ढंगले प्रस्तुत” भएको भनेर विरोध गर्दछन् । चौथो, उनीहरु भन्दछन्– “समाजवादमा लोकतन्त्र वा जनवादको अभ्यासलाई कुण्ठित हुन दिइने छैन, बरु सुनिश्चित गरिनेछ ।” यसरी हेर्दा त्यहाँ एकातिर निर्वर्गीय लोकतन्त्र वा जनवाद वा अमूर्त, विशुद्ध जनवादलाई सुनिश्चित गरिने कुरा बताइएको छ भने अर्कोतिर अन्य समाजवाद र वैज्ञानिक समाजवादका बीच अन्तर गर्ने मूल तत्व– “सर्वहारा अधिनायकत्व”लाई पूरै लत्याइएको छ । यहाँ कुरा त निकै घुमाएर गरिएको छ, तर सारमा उनीहरुले भन्ने गरेको उन्नत समाजवाद नेपाली कांग्रेसले भन्ने गरेको प्रजातान्त्रिक समाजवादभन्दा तात्विक रुपमा भिन्न देखिदैन । दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवादी राज्यसत्ता र दलाल तथा नोकरशाही पुँजीवादको जगमा उभिएर र सर्वहारा अधिनायकत्वलाई परित्याग गरेर वैज्ञानिक समाजवादको प्राप्ति पूर्णतः असम्भव छ ।

अनि पार्टीको तात्कालिक मूल कार्यदिशा र कार्यभार के हो त ? उनीहरुको प्रतिवेदनमा भनिएको छ– “संविधानको कार्यान्वयन र विकास, शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् सरकार निर्माण, राष्ट्रिय स्वाधीनता एवं हितको रक्षा, समाजवादउन्मुख समावेशी लोकतन्त्रको सफल प्रयोग, सामाजिक न्यायसहितको समृद्धि र समाजवादको आधार निर्माण नै हाम्रो मूल राजनीतिक कार्यनीति हो । यो मूल राजनीतिक कार्यनीति तत्कालै फेरबदल हुने सामान्य कार्यनीति होइन ।” यहाँ एकातिर पश्चगामी संविधानको कार्यान्वयनमा विशेष जोड दिइएको छ भने अर्कोतिर बल प्रयोगको सार्वभौम सिद्धान्तलाई निषेध गरी शान्तिपूर्ण रुपमा समाजवादको आधार निर्माण गर्ने कुरा बताइएको छ । यहाँ विशेष उल्लेखनीय कुरा के छ भने उनीहरुले यो मूल कार्यदिशा, कार्यभार अर्थात् मूल राजनीतिक कार्यनीतिलाई तत्कालै फेरबदल नहुने बताएका छन् । यी भनाइबाट के स्पष्ट हुन्छ भने उनीहरु न त जनताको जनवादको पक्षमा छन्, न त वैज्ञानिक समाजवादको पक्षमा नै । यसरी हेर्दा उनीहरुले प्रयोग गर्ने “जनताको जनवाद” तथा “समाजवाद” निवर्गीय, विशुद्ध, संसदवादी जनवाद तथा पश्चगामी समाजवाद बाहेक अरु केही होइनन् । यी सबै कुराका आधारमा के स्पष्ट हुन्छ भने उनीहरुले भन्ने गरेको जनताको जनवाद वा समाजवाद विशुद्ध संसदवादी लोकतन्त्र भन्दा अरु केही होइन । विषयको सारतत्वलाई तार्किक कलाबाजीले जति छोप्न खोजे पनि कदापि छोप्न सकिदैन ।

साथै, उनीहरुले सो राजनीतिक प्रतिवेदनमा पार्टी एकताका सैद्धान्तिक आधारबारे पनि चर्चा गरेका छन् । त्यसमा, (क) पार्टी एकतासम्बन्धी पूर्व स्वीकृत सहमति तथा घोषणालाई आधार बनाएर जाने, (ख) पथप्रदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद–लेनिनवाद मात्र राख्ने, (ग) संविधानसभाबाट पारित नेपालको संविधानको रक्षा र प्रयोग गर्ने र (घ) शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्ने, विषयमा जोड दिइएको छ । अन्ततः यी सबै तथ्यबाट संशोधनवादको उत्कर्ष पश्चगमन हो भन्ने सत्यको पुरै पुष्टि हुन गएको छ ।

इतिहासको शिक्षा
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका अनुसार हामीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासबाट कैयौं महत्वपूर्ण पाठहरु सिक्न सक्तछौं र क्रान्तिलाई अगाडि बढाउनका लागि ती पाठहरुको विशेष महत्व छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासबाट हामीले

सिक्नुपर्ने पाठहरु मूलतः यी हुन् :

पहिलो, नेपाली कम्युनिस्ट आन्दोलन पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन जस्तै एकता, संघर्ष, विभाजन तथा संशोधनवाद हुँदै पश्चगमनसम्म पनि र नयाँ आधारमा नयाँ एकता अर्थात् एकीकरण तथा ध्रुवीकरणको प्रक्रिया हुँदै विकसित भएको पाइन्छ । हामीले वाद–विवाद र संवादलाई पनि यसरी नै बुझ्नु पर्दछ ।

दोस्रो, यद्यपि कतिपय अवस्थामा कुनै खास नेताहरुका व्यक्तिगत त्रुटी वा सनकका आधारमा फुट भएका उदाहरण पनि पाइन्छन् । तर वस्तुतः र अन्ततः फुटका प्रमुख कारणहरु कसैका व्यक्तिगत त्रुटी वा सनक नभएर विचारधारा तथा राजनीतिमा नै सन्निहित रहेका हुन्छन् । कम्युनिस्ट पार्टीभित्र समाजमा विद्यमान वर्गसंघर्ष प्रतिबिम्बित भएको हुन्छ । कम्युनिस्ट आन्दोलनलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले प्रभावित पार्ने र फुटाउने प्रयत्न गर्दै आएका छन् । संशोधनवाद र साम्राज्यवादका बीच बलियो गठबन्धन कायम गरिएको हुन्छ । यसै गठबन्धनको अन्तिम परिणति संशोधनवादको पतन हुन पुग्दछ ।

तेस्रो, कम्युनिस्ट आन्दोलन अन्तर्राष्टिय परिघटना हो र त्यसको सकारात्मक तथा नकारात्मक प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा पनि पर्दै आएका छ । एकातिर पेरिस कम्युन, रूसी अक्टोबर समाजवादी क्रान्ति, चिनियाँ नयाँ जनवादी तथा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलगायतका सकारात्मक प्रभावबाट नेपाली कम्युनिस्ट आन्दोलन ऊर्जाशील बन्दै आएको छ भने अर्कोतिर समाजवादी देशहरुमा भएका प्रतिक्रान्ति र त्यहाँका संशोधनवादी पार्टीहरुको नकारात्मक प्रभावबाट पनि नेपालमा संशोधनवाद र फुटका श्रृङ्खला बढ्दै आएका छन् ।

चौथो, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास द्वन्द्ववादले भरपुर रहेको छ । यो इतिहास गति र परिवर्तन, गतिको बक्रता र जटिलता, ठुलोको सानो र सानोको ठुलोमा परिवर्तन सहित अनेकौं आरोह—अवरोहका बीचबाट विकसित हुँदै आएको छ । यस क्रममा कैयौं क्रान्तिकारी कम्युनिस्टहरू एउटा खास समयमा संशोधनवादीहरूको भ्रमजालमा फसे पनि अर्काे खास समयमा क्रन्तिकारी धारामा एकताबद्घ हुने गरेका पनि छन् । तसर्थ, सच्चा कम्युनिस्टहरु जतिसुकै अप्ठेरा, जटिल र संगीन परिस्थितिमा पनि निराश, हताश र चिन्तित हुनु हुँदैन । माक्र्सवाद र संशोधनवादका बीचको संघर्ष समाजमा विद्यमान वर्गसंघर्ष जस्तै दीर्घकालीन हुन्छ । सच्चा माक्र्सवादीहरु यस प्रकारको दीर्घकालीन संघर्षका लागि तयार भएर बस्नु पर्दछ ।

पाँचौं, क्रान्तिकारी कम्युनिस्टहरु श्रद्घावाद र शङ्कावादबाट मुक्त हुनु पर्दछ । श्रद्घावादी भएमा गलत नेतृत्वले फाइदा उठाउने र शङ्कावादी भएमा सही नेतृत्वप्रति पनि आशङ्का गर्ने स्थिति पैदा हुन्छ । श्रद्घावाद सामन्तवाद र शङ्कावाद पुँजीवादसित जोडिएका छन् । क्रान्तिकारीहरुले विश्वास र शंकाको द्वन्द्ववादलाई राम्रोसँग बुझ्नु पर्दछ ।

आजको अवस्था र हाम्रो दायित्व
आज विश्वमा र नेपालमा पनि दक्षिणपन्थी संशोधनवादको खतरा भयानक बन्न गएको छ । क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी कम्युनिस्ट पार्टीको अस्तित्वमाथि चौतर्फी हमला हुँदै आइरहेको छ । आज सिद्धान्त, क्रान्ति र मुक्तिको कुरा प्रतिगामी तथा यथास्थितिवादी शक्ति एवम् वर्गका लागि मात्र होइन आफूलाई परिवर्तनकामी र कम्युनिस्ट बताउनेहरुका लागि समेत अपाच्य बन्न पुगेको छ ।
यो बेला सिर्जनशीलता, मौलिकता तथा नवीनताको नाममा क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई समाप्त पार्ने र अवसरवाद, सुधारवाद , यथास्थितिवाद र पश्चगमनलाई महिमामण्डित गर्ने अभियानलाई अत्यन्तै तिब्र तुल्याइएको छ । अहिले सच्चा क्रान्तिकारीहरुमाथि जडसूत्रवाद र अराजकतावादका विल्ला भिराउने तिव्रता आइरहेको छ । यो बेला हामी क्रान्ति र मुक्तिको प्रश्नमा गम्भीर बन्न जरुरी छ ।

सच्चा कम्युनिस्टहरुले क्रान्ति तथा मुक्तिको सपना देख्छन् र देख्नु पर्दछ । उनीहरुका लागि यस्तो सपना नयाँ जनवाद, समाजवाद र साम्यवादको महान् उद्देश्य तथा उदात्त आदर्श प्राप्तिको सपना हो । जब कम्युनिस्टहरु यस प्रकारको आदर्शबाट विचलित हुन पुग्दछन् त्यो बेला उनीहरुले क्रान्ति र मुक्तिको सपना देख्न छोड्दछन् र प्रतिक्रियावादी शिबिरमा लामबद्ध हुन पुग्दछन् । यो यथार्थ हामीले देख्दै र भोग्दै आएका छौं । हामीले यस प्रकारको संशोधनवादी विचलन तथा पश्चगमनको दृढतापूर्वक विरोध गर्नु पर्दछ ।

क्रान्तिलाई सफल तुल्याउनका लागि प्रतिक्रियावादका विरुद्ध संघर्ष चलाउनु मात्र पर्याप्त हुन्न, अपितु प्रतिक्रियावादको रक्षाकवच बनेर प्रस्तुत हुने अवसरवादका विरुद्ध पनि दृढतापूर्वक वैचारिक संघर्ष चलाउन आवश्यक हुन्छ । तसर्थ, हामीले प्रतिक्रियावाद र अवसरवादसँग जुध्दै क्रान्ति र मुक्तिको सपनालाई साकार तुल्याउनका लागि निम्न विषयहरुमा विशेष ध्यानदिन आवश्यक छ :

पहिलोः पथप्रदर्शक सिद्धान्त । क्रान्तिलाई सही ढंगले अगाडि बढाउनका लागि सर्वप्रथम पथप्रदर्शक सिद्धान्तको आवश्यकता पर्दछ । सिद्धान्त एउटै अवस्थामा स्थिर रहन सक्तैन र वस्तुगत संसारको विकाससित सिद्धान्तको पनि विकास हुँदै जान्छ । ठीक त्यसैकारण विश्व सर्वहारावर्गको सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद विकसित भएको हो । आज त्यसलाई हामीले राम्रोसित आत्मसात् गर्नु पर्दछ ।

सिद्धान्तको चर्चा गर्दा कुन कुरामाथि पनि ध्यान दिनु पर्दछ भने त्यसलाई मानेर र त्यसको नाम जपेर मात्र हुँदैन । क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तको रक्षा, प्रयोग र विकास गर्न आवश्यक हुन्छ । यससन्दर्भमा दार्शनिक फाँटमा अनुभववाद, सारसंग्रहवाद तथा जडसूत्रवाद र राजनीतिक फाँटमा दक्षिणपन्थी, मध्यपन्थी तथा उग्रवामपन्थी अवसरवादका विरुद्ध दृढतापूर्वक संघर्ष चलाउन जरुरी छ । यो बेला दक्षिणपन्थी संशोधनवाद नै क्रान्तिका लागि प्रमुख खतरा हो ।

दोस्रोः राजनीतिक कार्यदिशा । क्रान्तिकारी कम्युनिस्टहरुले ध्यानदिनु पर्ने अर्को महत्वपूर्ण पक्ष भनेको वैज्ञानिक राजनीतिक कार्यदिशा हो । नेपाल जस्तो अद्र्ध–सामन्ती, अद्र्धऔपनिवेशिक एवम् नवऔपनिवेशिक मुलुकका लागि नयाँ जनवादी गणतन्त्रको कार्यदिशा नै सही राजनीतिक कार्यदिशा हो । नयाँ जनवादी क्रान्तिको कार्यदिशाको सारतत्व भनेको सर्वहारावर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद÷विस्तारवादका विरुद्ध आम जनसमुदायलाई गोलबन्द गरी नेपालमा नयाँ जनवादी गणतन्त्रको स्थापना गर्नु हो । नयाँ जनवाद वैज्ञानिक समाजवादकै अभिन्न अङ्ग हो । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर मात्रै हामी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सक्तछौं ।

तेस्रोः सामरिक कार्यदिशा । क्रान्तिका लागि बलप्रयोग अनिवार्य रूपमा आवश्यक हुन्छ । त्यसका विभिन्न रुप हुने गर्दछन् र हामी कुनैपनि रूपमा सीमित रहनु हुँदैन । समाजमा विज्ञान र प्रविधिको विकाससितै सशस्त्र सङ्घर्षका रुपहरुमा पनि विकास हुँदै जान्छ । इतिहासमा सशस्त्र संघर्षका मूलतः दुई प्रकारका रूप देखिने गरेका छन्, ती हुन्– जनविद्रोह र दीर्घकालीन जनयुद्घ । अहिलेको स्थितिमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि विगतमा सञ्चालित जनआन्दोलन, सशस्त्र संघर्ष र मूलतः जनयुद्घका अनुभवहरुको जगमा आधारित नेपाली विशिष्टताले युक्त जनविद्रोहको बाटो नै उपयुक्त देखिन आउँछ ।

चौथोः सांगठनिक पक्ष । क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र राजनीतिक तथा सामरिक कार्यदिशा मात्र भएर हुँदैन, क्रान्तिकारी संगठन अर्थात् क्रान्तिकारी कम्युनिस्ट पार्टीको पनि आवश्यकता पर्दछ । कम्युनिस्ट पार्टीको संगठन संचालनका लागि जनवादी केन्द्रीयताको सिद्धान्त, आत्मालोचना–आलोचनाको पद्धति, द्वन्द्वात्मक भौतिकवादी कार्यशैली, दुई लाइन संघर्ष सञ्चालनका वैज्ञानिक विधि, सही नेतृत्वप्रणाली तथा सामूहिक नेतृत्वको स्थापना जस्ता कुराहरुमाथि विशेष ध्यानदिनु पर्ने हुन्छ । कम्युनिस्ट पार्टी विपरीतहरुको एकत्व हो र यसअर्थमा पार्टीको विकास एकता–संघर्ष र रुपान्तरणका बीचबाट हुन्छ ।

निष्कर्ष
आज नेपाली कम्युनिस्ट आन्दोलन इतिहासको एउटा नयाँ तथा विशिष्ट मोडमा उभिएको छ । यो बेला हामीले एकातिर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा माक्र्सवाद र संशोधनवादका बीचमा चल्दै आएको विचारधारात्मक तथा राजनीतिक संघर्षलाई राम्रोसित आत्मसात् गरी त्यसबाट आवश्यक शिक्षा लिन जरूरी छ भने अर्कोतिर वर्तमान सन्दर्भमा नेपाली क्रान्तिलाई अगाडि बढाउनका लागि विचारधारात्मक, राजनीतिक तथा सांगठनिक क्षेत्रका काममा नयाँ परिस्थिति र आवश्यकता अनुसार नयाँ ढङ्गले अझै दृढ सङ्कल्प, साहस तथा प्रतिबद्घताका साथ निरन्तर खटिरहनु आवश्यक छ । नेपाली क्रान्तिको इतिहासले आज सबै सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूसित पुनःऊर्जाशील तथा एकताबद्घ भएर अगाडि बढ्न जोडदार माग गरेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास माक्र्सवाद र संशोधनवादका बीचको भीषण दुई लाइन संघर्षको इतिहास हो । यस संघर्षमा कहिले माक्र्सवाद र कहिले संशोधनवाद बलियो हुने गरेका छन् । आज रूप तथा सङ्ख्यामा बलियो देखिने दक्षिणपन्थी संशोधनवाद मात्र संशोधनवाद नभएर वस्तुतः नवप्रतिक्रियावाद नै हो । यद्यपि त्यसले माक्र्सवादी पोशाक र आभूषणमा सजिएर दुनियाँदारलाई झिलिमिलि देखाई दिग्भ्रमित पार्ने कोशिस गरिरहेको छ, परन्तु त्यो अस्थायी कुरा हो । संशोधनवादले जनताका नजरमा नवप्रतिक्रियावादका रूपमा छर्लङ्गै देखिनु वा ना्िङ्गनु अनिवार्य छ । यसै क्रममा भीषण चुनौती र अनेकौं जटिलताहरूको सामना गर्दै माक्र्सवाद महान् सम्भावनाका बीचबाट देश र श्रमिक जनसमुदायको मुक्तिका लागि क्रान्तिको मैदानमा पुनः सशक्त रूपमा प्रस्तुत हुनु पनि अनिवार्य नै छ ।

विश्व तथा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको द्वन्द्ववादले हामीलाई यही कुरा बताउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here