दुर्गा भवानीले कमरेडहरुको रक्षा गरुन !

170

निमकान्त पाण्डे

राजदरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्र शाहले दोस्रो बर्षको आफ्नो जन्मोत्सवमा केक काटेको घटना मलाई यतिबेला सम्झना भइरहेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सभागृहमा विदेशी कुटनीतिक नियोगका अतिथिहरु र उच्चपदासीन नेपालीहरुका साथै सञ्चारकर्मीहरु समेतको उपस्थितिमा राजाले केक काटेर र बत्ति निभाएर मनाइएको जन्मोत्सवबारे मैले त्यति बेलै प्रतिकृया जनाएर लेख लेखेको थिएँ । हिन्दु राष्ट्रका हिन्दु राजाले क्रिश्चियन धर्मावलम्बीहरुको संस्कारलाई अवलम्बन गर्दा जनस्तरमा सन्देश के जान्छ भनेर प्रश्न उठाएको थिएँ । त्यसपछिका बर्षहरुमा राजा ज्ञानेन्द्रले आफ्नो जन्मोत्सवमा केक काटेर बत्ति निभाएको  जानकारी पाइएको छैन ।

राजसंस्थाको विघट्नसँगै नेपाललाई धर्मनिरपेक्ष बनाइएको छ । तर राजसंस्थाले गर्दै आएका सामन्ती संस्कारहरुबाट नेताहरु सुध्रिन सकिरहेको पाइदैन । कम्युनिष्ट आन्दोलनबाट देशको नेतृत्व गर्ने तहसम्म पुगेका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले आफ्नो पार्टीका  कम्युनिष्ट कार्यकर्ताहरुलाई दशैंको टिका लगाएर दुर्गा भवानीको आशिर्वाद दिएका छन् । राजाले केक काट्नु र कम्युनिष्ट नेताहरुले दुर्गा भवानीको आशिर्वाद दिनु उस्तै—उस्तै लाग्दोरहेछ ।

धार्मिक हिसाबले नेपाल हिन्दुहरुको बाहुल्य मुलुक भएपनि विगत करिव दुई वर्षदेखि शासन प्रणालीमा कम्युनिस्टहरुको बाहुल्यता रहेको छ । कम्युनिष्टहरुले गर्नुपर्ने काम गरिरहेका छन् वा विचलित भएर सामन्ती चरित्रको अभ्यास गरिरहेका छन् भन्ने कुरा उनीहरुको व्यवहारलाई हेरेर बुझ्ने कुरा हो । आस्थाको हिसाबले धार्मिक जनमत धेरै भएपनि राजनीतिक विचारमा त्यसको उल्टो अर्थात भौतिकवादमाथि विश्वास गर्ने कम्युनिस्टहरुको बाहुल्यता हुनु नेपालको विशेषता हो । त्यसैले ८० प्रतिशत भन्दा बढी हिन्दु धर्ममा आस्था राख्नेहरुको बाहुल्यता भएको मुलुकमा कम्युनिस्टहरुको दुई तिहाइको सरकार बन्न पुगेको छ । विभिन्न समुहमा विभक्त भएपनि संख्याका हिसाबले नेपालमा कम्युनिस्टहरुको जनमत पहिलेदेखि नै अग्रस्थानमा रहँदै आएको छ ।

देशमा राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्री हुँँदै सातवटा प्रदेशमा ६ वटा प्रदेशका प्रमुख समेत कम्युनिस्ट नै छन् । स्थानीय तहदेखि केन्द्रसम्म कम्युनिस्टहरुकै बाहुल्यता रहेको छ । कम्युनिस्टहरु भन्छन्, हामी धर्मप्रति विश्वास गर्दैनौँ । उनीहरु आफूलाई भौतिकवादी भन्न रुचाउँछन् । प्रधानमन्त्रीदेखि मन्त्रीहरुले समेत पद तथा गोपनीयताको सपथ लिँदा ईश्वरका नाममा सपथ लिन हिच्किचाउँछन् । तर तिनै कम्युनिस्ट नेताहरु तीजमा श्रीमतिलाई व्रत बसालेर खुट्टाको जल खुवाउने देखि दशैंमा दुर्गा भवानीको प्रसाद भन्दै टिका ग्रहणमा अग्रस्थानमा देखिन्छन् । यसले उनीहरु भौतिकवादी सिद्धान्तबाट आध्यात्मबादतिर आकर्षित भएका हुन् जस्तो देखिन्छ ।

दशैं नेपालको मौलिक पर्व भएकाले यसमा सबै क्षेत्रको सहभागिता हुनु खुशीको कुरा हो, तर विषय दशंैमा टिका लगाउने वा तीजमा श्रीमतीलाई खुट्टाको जल खुवाउने भन्दा पनि वास्तविकता र देखावटीबीचमा किन अन्तर देखिन्छ भन्ने मात्र हो । भौतिकवादमा विश्वास गर्नेहरुले कुनै धर्म वा अन्धविश्वासप्रति आस्था राख्दैनन् । तर नेपालका भौतिकवादी भनिएका कम्युनिस्टहरु देखावटी रुपमा जतिसुकै भौतिकवादी देखिएपनि वास्तविक रुपमा त्यस्ता छैनन् भन्ने कुरा व्यवहारमा पुष्टि हुँदै गइरहेको छ । उनीहरुमा सार्वजनिक रुपमा भगवान मान्न हिचकिचाहट देखिएपनि भित्री मनबाट कुनै न कुनै किसिमको आस्था र विश्वास देखिन्छ । कम्युनिस्ट नेताहरुले विभिन्न शक्ति पीठहरुमा पुगेर गर्ने पुजाआजा होस् वा दशैंका बेला मान्यजन वा विशिष्ट पदमा हुनेहरुबाट टिका थाप्न देखिने मोहले त्यसैलाई पुष्टि गर्छ । दशंैका बेला कम्युनिस्ट राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, प्रदेश मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरुमा टिका र प्रसाद ग्रहणमा  देखिएको मोहले यसलाई पुष्टि गरेको छ । यदि मनभित्रबाटै ‘भगवान’ प्रति आस्था र विश्वास छ भने देखावटी रुपमा गैरधार्मिक चरित्र किन प्रदर्शन गर्ने भन्ने महत्वपूर्ण विषय हो ।

विश्वकै शक्तिशाली भनिएको मुलुक अमेरिकाका राष्ट्रपतिलाई बाइबलमा हात राखेर सपथ ग्रहण गर्न कुनै आपत्ति छैन, विश्वको सबैभन्दा ठूलो लोकतन्त्र दाबी गर्ने भारतका प्रधानमन्त्रीलाई हिन्दुधर्मको भक्तिभाव गर्न कुनै आपत्ति छैन भने नेपालका कम्युनिस्टहरुलाई भगवान मान्छु भन्न किन आपत्ति ? यदि मनैदेखि भगवानप्रति विश्वास छ भने सपथ ग्रहणका क्रममा भगवानका नाममा सपथ खान के को आपत्ति ? प्रश्न यहीँनेर हो । भगवान छन् कि छैनन् भन्ने कुरा कसैलाई थाहा छैन, यो एउटा परिकल्पना हो, देखिने विषय पनि होइन । तर भगवानप्रति विश्वास राख्दा मानिसले आफूलाई अनुशासनमा बाध्न भने अवश्यक सक्छ । भगवानरुपी विश्वासकै कारण व्यक्तिले आफूलाई श्रेष्ठकर सामाजिक प्राणीका रुपमा प्रस्तुत गर्न सकिरहेको पाइन्छ । धर्म नमान्दैमा केही नहुने होइन, तर धर्म मान्दा व्यक्तिले आफूलाई सामाजिक मर्यादाभित्र सहज रुपमा अवतरण गराउन सक्नु पर्दछ । त्यही विश्वासका आधारमा विगतदेखि वर्तमानसम्म मानिसले आफूलाई जनावर भन्दा फरक स्थानमा राख्न सकिरहेको छ । जब व्यक्ति आफूलाई सामाजिक मर्यादाबाट बाहिर निकाल्न खोज्छ, उसले आफूलाई स्वतन्त्र त महसुस गर्छ नै तर उसले मान्दै आएका विश्वासहरु तोडिदै जान्छन् र ऊ सामाजिक प्राणीकै रुपमा रहिरहन  सक्दैन । सामाजिक प्राणी हुनु भनेको परिवार, समाज र मुलुकप्रतिको केही जिम्मेवारी निर्वाह गर्नुपनि हो । तर जब त्यो समाजको घेराभन्दा बाहिर लगेर व्यक्ति आफूले आफैलाई हेर्न थाल्छ, ऊ परिवार, समाज वा मुलुकप्रतिको दायित्वलाई बोझ महसुस गर्न थाल्छ । कम्युनिस्टहरुले भन्ने त्यही हो । तर एउटा व्यक्ति सामाजिक दायराभन्दा बाहिर गएर सधैभरी बसिरहन सक्दैन । त्यसका पछाडि विभिन्न कारणहरु रहेका हुन्छन् । तर आफूलाई समाजको पृथक प्राणी हुँ भन्ने भ्रममा भने ऊ बाँचिरहन चाहन्छ वा अरुलाई भ्रममा पारिरहन चाहन्छ । जुन समस्या नेपालका सत्तासीन मात्र नभएर अरु कम्युनिस्टहरुमा पनि देखिन्छ । वास्तविकता भन्दा बाहिर रहेजस्तो पनि गर्ने र धर्म र अध्यात्मलाई पनि आत्मसात गर्ने नेपालका कम्युनिस्टहरुलाई ‘दुर्गा भवानी’ को आशिर्वाद अझ आवश्यक देखिन्छ  जस्तो लाग्न थालेको छ । दशैं, तिहार तथा तीज लगायतका पर्वहरुमा उनीहरुले दर्शाउने गरेको ‘भगवान’ प्रतिको विश्वास भित्रीमनमा मात्र होइन, बाहिर पनि खुलेर आओस्, दशंैको अवसरमा यही शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here