चिनियाँ राष्ट्रपति सी काे नेपाल भ्रमण समयतालिका सार्वजनिक

253

काठमाडौं / चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समयतालिका सार्वजनिक भएको छ।  असोज २५ गते, शनिबार सी नेपाल आउन लागेका हुन्। उनी चढेको जहाज शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।

यसका लागि विमानस्थल साढे २ घण्टा बन्द हुने पनि विमानस्थल कार्यालयले जनाइसकेको छ। शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गर्न कार्यालयले आदेश दिएको छ।

विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय भएको छ। तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ।

यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको कांग्रेस नेता तथा पूर्वमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन्।

यी भेटवार्तापछि साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको कार्यक्रम रहेकाे छ । शनिबारका लागि सीको औपचारिक भ्रमणतालिका यति नै हो।

भाेलि आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।

त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता र द्विपक्षीय सम्झौता हुनेछ।

आइतबारै दिउँसो १ बजे सीको चीन फर्किन उडान छ। आइतबार पनि बिहान ११ः२० देखि १ः५० सम्म विमानस्थल बन्द हुनेछ।

विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त अवधिमा काठमाडौं विमानस्थलमा कुनै पनि उडान हुने छैनन्। सोहीअनुसार एयरलाइन्सहरूले उडान तालिका हेरफेर गर्नुपर्नेछ।

उडान तथा अवतरणमा न्यून असर परोस् भनेर विमानस्थल २४ घण्टा खुला राखिने विमानस्थल कार्यालयले सूचनामा उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here