पेट्रोलियम अन्वेषणको दोस्रो चरण शुरु

298

दैलेख / नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थान लगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ। यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन भूभागमा रहेको छ भन्ने कुराको निष्कर्ष निकालिने जनाइएको छ ।

चीन सरकारको विशेषज्ञ टोली दशैंअघि दोस्रोपटक दैलेख आएको छ। उत्खनन कार्यका लागि आवश्यक पर्ने इन्धन लगायतका सामानहरुको व्यवस्थापनसँगै उत्खनन समयमा विशेषज्ञ टोली बस्ने स्थानको समेत छनोट भइसकेको छ। टोलीले सिडिओ, दैलेखका सांसद, निर्वाचित जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गरेर काठमाडौँ फर्केको र दशैँ सकिएलगत्तै काम शुरु हुने जनाइएको छ ।

असार २६ गते औपचारिक उद्घाटनसँगै दैलेख आएको चीन सरकारको विशेषज्ञ टोली करिब १५ दिन अनुसन्धान गरेर फर्केको थियो। उक्त समयमा दैलेखका विभिन्न भूभागहरुको स्थलगत अध्ययनसमेत गरिएको थियो। असोज दोस्रो साता फेरि टोली दैलेख आएर अन्वेषणका लागि आवश्यक पर्ने विषयहरुमा छलफल गरेको प्रजिअ युवराज कट्टेलले जानकारी दिए।

दोस्रो चरणको अन्वेषणका लागि चीनबाट आवश्यक सामग्रीहरु दशैंलगत्तै काठमाडौं आउने र सो सामग्रीसहित टोली दैलेख आउने अन्वेषण परियोजनामा संलग्न गणेशराज त्रिपाठीले जानकारी दिए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उद्घाटनपछि काम शुरु गरिएको अन्वेषणको कार्यका लागि दशैँपछि भौगर्भिक सर्भे, म्याग्नेट सर्भे लगायतका कामहरु हुने जनाइएको छ ।

जमीनको ५ किलोमिटरमुनिसम्म ड्रिलिङ गरेपछि पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्न सक्ने भएकाले सोहीअनुसार अनुसन्धान शुरु हुने भएको छ। यसपालिको अनुसन्धानबाट कति परिमाणमा भण्डारण छ भन्ने कुराको ठोस निष्कर्ष आउने र सोहीअनुसार काम अगाडि बढ्ने सरकारको तयारी रहेको छ।

नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौताअनुसार काम शुरु भएको यो परियोजना परिणाममुखी हुने र नेपालको आर्थिक अवस्था सुधारसँगै समग्र दैलेख जिल्लाको विकासमा टेवा पुग्ने प्रतिनिधिसभाका सांसद रवीन्द्रराज शर्माले बताए। जिल्लाका निर्वाचित जनप्रतिनिधि र स्थानीय सरकारले अन्वेषण कार्यका लागि सबै तह र तप्काबाट सहयोग गरेर अन्वेषण सफल बनाउनेतर्फ अगाडि बढेको प्रदेशसभा सदस्य अमरबहादुर थापाले जनाए ।

दैलेख जिल्लामा पेट्रोलियम पदार्थ रहेको विभिन्न अध्ययन–अनुसन्धानबाट थाहा भए पनि अझै यसको गहन अध्ययन र उत्खनन हुन सकेको छैन। चिनियाँ विशेषज्ञ टोलीसहित नेपाली विशेषज्ञहरुको पहलमा यसपटक गरिने अन्वेषणबाट आगामी दिनमा उत्खननका लागि सजिलो हुनेछ। पेट्रोलियम पदार्थमा पूर्ण रुपमा विदेशमा निर्भर रहनुपर्ने नेपालका लागि स्वदेशमै उत्खनन हुनु आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हुनसक्ने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here