काठमाडौं / नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले पहिलोपटक काठमाडौंदेखि उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सिधा हवाई उडान सुरु गरेको छ ।
आइतबार बिहान बेइजिङले हालै सञ्चालमा ल्याएको डाक्सीङ विमानस्थलका लागि पहिलो व्यावसायिक उडान थालनी भएको हो।
‘६५ जना यात्रु बाकेर आइतबार बिहान पहिलो उडान एच९६६५ बेइजिङ उड्यो,’ हिमालयको प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले सञ्चारमाध्यमलाई जनाए । उनले भने, ‘नेपालबाट चीनको बेइजिङका लागि हामीले थालेको उडान पहिलोपटक हो ।’ उनका अनुसार, आइतबार बिहान गएको जहाज राति पौने १० बजे काठमाडौं फर्किने तालिका छ । यस एयरलाइन्सले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर २४ हजार रुपैयाँ छ ।
नेपालले चीनका ७ वटा सहरमा सिधा उडान गर्ने हवाई सम्झौता गरेको २ दशक बढी भए पनि चीनको राजधानी बेइजिङमा सिधा व्यावसायिक उडान भएको थिएन । चार दशक बढी समय उड्डयन क्षेत्रमा बिताएका केसीका अनुसार, हिमालयअघि नेपालबाट कुनै पनि स्वदेशी वायुसेवाको सिधा उडान थिएन ।
‘हिमालय नै पहिलो व्यावसायिक र पहिलो चार्टर उडान गर्ने नेपालमा दर्ता भएको एयरलायन्स हो,’ केसीले भने । उनका अनुसार, यसै एयरलायन्सले ४ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चार्टर उडानमा बेइजिङ पुर्याएको थियो । प्रधानमन्त्रीपछि हालै नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर राष्ट्रपति विद्या भण्डारी पनि चीन भम्रणमा गएकी थिइन् ।
काठमाडौं बेइजिङ रुटमा एकतर्फी उडान समय साढे ५ घन्टा हाराहारी लाग्छ । हिमालयले आफ्नो न्यारोबडी विमान एयरबस ३२० पठाएको छ । यो १ सय ५८ सिट क्षमताको जहाज हो । ‘फर्किँदा ७० हाराहारी यात्रु छन्,’ हिमायलकी मार्केटिङ हेड उज्वला दलीले भनिन् । यो रुटमा ७० प्रतिशत यात्रु पर्यटक हुने हिमालयले जनाएको छ । अहिले हिमालयसँग दुईटा न्यारोबडी विमान छन् । यस्को एउटा अर्को जहाज भियतनामको ब्याम्बो एयरलाई भाडामा दिइएको छ । उक्त विमान एक महिनाभित्र फिर्ता ल्याइने भएको छ ।
हिमालयले हाल काठमाडौंबाट बंगलादेशको ढाका, यूएईको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहा सिधा उडान गर्दै आएको छ । नेपालले हालसम्म ४० वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । चीनले नेपाललाई १५ वटा सहरमा उडान अनुमति दिएको छ भने नेपालले अब सञ्चालनमा आउने भैरहवा र पोखरामा चीनलाई उडान अनुमति दिइसकेको छ ।