चाडपर्वमा पनि उखु किसानले पाएनन् भुक्तानी

276

रौतहट । रौतहटको गरुडामा रहेको श्री राम सुगर मिल्सले उखुको भुक्तानी नदिएपछि किसान निराश भएका छन् । चाडपर्वका बेलामा पनि चिनी मिलले उखुको भुक्तानी नदिएपछि किसान चिन्तित भएका हुन् । पटक पटक भुक्तानीका लागि मिल प्रशासनलाई आग्रह गर्दा बेवास्ता गरेकाले समस्यामा परेको किसानहरुको गुनासो छ ।

दीपावली तथा छठ पर्वको समयमा उखुको भुक्तानी नपाउनु दुःखद भएको उखु किसान राकेश प्रसाद साहले बताए । अघिल्ला वर्षझैं यस वर्ष पनि ऋण गरेर नै चाडपर्व मनाउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ । समयमा नै चिनी मिलले उखुको भुक्तानी नदिएपछि उखु खेतीतर्फ किसानको आकर्षण घट्न थालेको छ ।

उखु खेती गरेपछि भुक्तानी लिन झन्झटिलो र वर्षौंसम्म कुर्नुपर्ने बाध्यताका कारण आकर्षण घट्दै गएको किसान साहको भनाइ छ । उखु भुक्तानी लिनका लागि हरेक वर्ष किसानले आन्दोलन नै गर्नु परेको भनाइ उनको छ । उखुको मूल्य तोक्नदेखि भुक्तानी लिनसम्म आन्दोलन गर्नुपरेपछि किसानले झन्झटिलो भन्दै अन्य खेती गर्न थालेको उनले बताए ।

यस वर्ष पनि समयमा नै भुक्तानी नपाएपछि उखु किसानले प्रमुख जिल्ला अधिकारी मार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र वुझाएका छन् । प्रमुख जिल्ला अधिकारी किरण थापालाई भेटेर उखु उत्पादक संघ रौतहटका पदधिकारीले समयमा नै भुक्तानी पाउनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । यस विषयमा आफूले पहल गर्ने प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

श्री राम सुगर मिल गरुडाले ४४ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको उखु उत्पादक संघ रौतहटले जनाएको छ । आर्थिक वर्ष २०७१/०७२ को १२ करोड र ०७५/०७६ को ३२ करोड उखुको भुक्तानी दिन बाँकी रहेको जारी ज्ञापन पत्रमा उल्लेख छ । छठ पर्वअघि नै उखुको भुक्तानी नपाएमा आन्दोलनका कार्यक्रम गर्ने उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद राय यादवले बताए । यसअघि भुक्तानीका बारेमा पटक—पटक छलफल र बार्ता भएपनि मिल प्रशासनले बेवास्ता गर्दै आएको उनको आरोप छ ।

विविध कारण गर्दा भुक्तानीमा समस्या आएकाले उखु किसानको रकम चाँडै नै भुक्तानी हुने श्री राम सुगर मिल गरुडाले जनाएको छ । यसअघिको धेरै बक्यौता रकम मिलले दिइसकेकाले पछिल्लो पटक किसानलाई उखुको भुक्तानी लिन समस्या नरहेको सुगर मिल प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here