राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना व्यक्त

104
Presedent Bidya Devi Bhandari. Photo: President's Office

काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक (तिहार)ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दिपावली गर्ने तथा अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले सन्देशमार्फत तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस पर्वको अभिन्न अङ्गका रूपमा रहेको देउसीभैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ ।

‘समाजमा शान्ति एवम स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here