नेताहरूको दीर्घायुको कामना

7

– हुकुमबहादुर सिंह

नेपालका प्रधानमन्त्री के.पी. ओलीको बिग्रँदो स्वास्थ्य स्थिति र अन्तिम श्वास रहेसम्म सरकार र पार्टीको नेतृत्व गरिरहने उनमा रहेको उत्कट इच्छालाई लिएर नेपालको राजनीतिक तथा सामाजिक वृत्तमा एक खालको बहस चल्न थालेको छ । आखिरमा सरकारमा र सत्तामा रहेका नेताहरू किन आफ्नो स्वास्थ्यको अवस्था यतिसम्म खराब हु“दा पनि आफू स्वस्थ रहेको नाटक मञ्चन गरिरहन्छन् ? गम्भीर प्रश्न छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादका पितामहहरू कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले आ–आफ्ना अन्तिम समयसम्म विश्व कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक, वैचारिक र सांगठनिक नेतृत्व प्रभावकारी रूपले गरिरहे । पछि लेनिनले सर्वहारा वर्गीय सत्ताको नेतृत्व २१ जनवरी १९२४ सम्म गरे, यद्यपि सन् १९१८ मा बोल्सेविक क्रान्तिविरोधी योजनामा एक जना महिलाले लेनिनमाथि उनको छातीमा गोली हानी, जसको परिणाम लेनिनको स्वास्थ्य सदाका लागि बिग्रँदै गयो र २१ जनवरी १९२४ का दिन उनको निधन भयो ।

चीनमा माओले उनको अन्तिम अवस्थासम्म चिनिया“ कम्युनिस्ट पार्टीको नेतृत्व दिइरहे । तर पछि देङसियाओ पिङले भने आफूलाई सैन्य आयोगको प्रमुखमा राखेर पार्टी र सरकारको नेतृत्व अरुलाई दिएका थिए । अहिले सि चिनपिङले पुनः आफूलाई माओको जस्तै लामो समयसम्म पार्टी र सरकारको नेतृत्व गर्ने पोजिसनमा राखेका छन् । उनी स्वस्थ छन् ।

नेपालमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले अस्वस्थताको अवस्थामा पनि सरकारको नेतृत्व छाडेनन् । उनीहरू प्रधानमन्त्रीकै रूपमा आफ्नो मृत्युवरण गरेका थिए । पार्टीको हिसाबले नेपालमा पनि मोहनविक्रम सिंह, नारायणमान विजुक्छे ‘रोहित’ आदि नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेताहरूले पनि आफूलाई अहिलेसम्म पनि आ–आफ्ना पार्टीको नेतृत्व दिइरहेका छन् । नेपालका अन्य राजनीतिक दलहरूमा पनि त्यो खालका नेताहरूको वर्चस्व देखिन्छ । उनीहरूको राजनीतिक, सैद्धान्तिक तथा वैचारिक स्तरमा तल्लो पंक्तिका नेताहरू उत्पादन हुन नसक्नु पनि एउटा कारण होला । तैपनि युवा नेतृत्वलाई काम र जिम्मेवारी दिएर उनीहरूको सैद्धान्तिक, राजनीतिक, वैचारिक तथा सांगठनिक योग्यता र कार्यकुशलताको विकास गर्न गम्भीरतापूर्वक लागेको देखिँदैन ।

केपी ओलीमा विगतका अन्य नेता तथा वर्तमान जीवित अन्य नेताहरूमा भन्दा बढ्ता यो खालको मनोवृत्ति अझ बलियो देखिन्छ । यसका केही उदाहरणहरू छन्: उनी सिंगापुरमा औषधोपचार गर्दा पनि उनले तोकेको निमित्त प्रधानमन्त्री ईश्वर पोखरेलको समेत भर पर्न नसकी आफै सिंगापुरको अस्पतालको बेडमा बसेर भिडियो कन्फरेन्सद्वारा नेपालमा मन्त्रीमण्डलको बैठक बसाएका थिए ।

त्यसैगरी विभिन्न मन्त्रालयअन्तर्गत पर्ने विभिन्न आयोजनाहरूलाई झिकेर विकासका अनेकौं कामहरूलाई प्रधानमन्त्रीको कार्यालय अन्तर्गत ल्याउने काम गरे । यही कारणले होला उनका केही निर्णयहरू विवादित पनि बनेका छन् । बिग्रँदै गएको स्वास्थ्यलाई उनले बलजफती म बलियो छु, स्वस्थ छु भनेर देखाउन केही अस्वाभाविक निर्णहरू, अभिव्यक्तिहरू र व्यवहारहरू देखाउने काम पनि गर्ने गर्दछन् । माक्र्स, एङ्गेल्स, लेनिन, माओ आदिले आ–आफ्नो पछिल्लो उमेरमा पनि ज्यादै अहम् सैद्धान्तिक तथा वैचारिक र सांगठनिक महत्व राख्ने कामहरू गरेको इतिहास छ तर नेपालका केही दीर्घ रोगले सताइएका नेताहरूले अहम् सैद्धान्तिक तथा वैचारिक र सांगठनिक महत्व राख्ने कामहरू गर्न सक्ने हैसियत त राख्दैनन् नै, तै पनि सरकार र पार्टीको कुर्सीमा टासिरहने रोगबाट भने ग्रस्त देखिएका छन् । केपी ओली अहिले त्यो मार्गतर्फ अग्रसर देखिँदै छन् । उनका सल्लाहकारहरूले उनको स्वास्थ्य सम्बन्धी समस्यालाई नेपाली जनताको नजरबाट लुकाएर राख्ने प्रयास गर्ने गरेको पाइन्छ, जो देश र जनताका लागि र स्वयम् केपी ओलीका लागि पनि घातक देखिन्छ । उनका लागि धेरै आराम थोरै काम हो, तर पार्टीका अन्य नेताहरूले पनि यसबारे खुलेर भन्न सकिरहेका छैनन् ।

प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धी सल्लाहकार डाक्टरहरूले पनि वास्तविकतालाई बाहिर ल्याउन डराइरहेको भान हुन्छ । यो सब किन ? यसका पछाडि धेरै कारण होलान् तै पनि प्रमुख उनीहरूका लागि सत्ता र सरकारको कुर्सी र त्यसबापत प्राप्त हुने आर्थिक चलखेल अहम् बनेको हो कि भन्ने लाग्न जान्छ । आम नेपालीका लागि अब यस्ता नेताहरूको सन्दर्भमा भन्नै पर्ने एउटै वाक्य हुनेछ, ‘सबै नेताहरू जो आफ्नो जीवनभर पद छाड्न अनिच्छुक देखिन्छन्, भगवान् (यदि छ भने) उनीहरूको जीवन स्वस्थ र दीर्घायु बनाउन सहयोग गर ।’– singhhukum683@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here