फोहोरलाई मोहरमा बदल्न चुक्दै स्थानीय सरकार

13

– राज्यलक्ष्मी शाक्य

नेपालका स्थानीय तहलाई अहिले दैनिक निस्कने फोहोर ठूलो टाउको दुखाइको विषय भएको छ । फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय अपनाउन नसक्दा यस्तो समस्या आइलागेको हो । फोहोरको व्यवस्थापन गर्न नसक्दा शहर प्रदूषित हुनुका साथै सर्वसाधारणको स्वास्थ्यमा पनि ठूलो असर पु¥याउँदै आएको चिकित्सकहरूले बताउँदै आएका छन् ।

मुलककै राजधानी रहेको काठमाडौं महानगरपालिकाले पनि फोहोर व्यवस्थापनको समस्या हल गर्न सकेको छैन । महानगरले नुवाकोटको ओखरपौवामा फोहोर फाल्दै आएको छ । तर, त्यहाँका सर्वसाधारणले स्वास्थ्यको सवाल उठाउँदै पटकपटक फोहोर फाल्न अवरोध खडा गर्दै आएका छन् । काठमाडौं मात्र नभएर मुलुकका अन्य शहर र शहर बन्ने क्रममा रहेका स्थानहरू पनि फोहोर व्यवस्थापन ठूलो समस्याका रूपमा देखिएको छ ।

फोहोर भनेको काम नलाग्ने वस्तु हो भन्ने मानसिकताका कारण यो समस्याको रूपमा मानिँदै आएको छ । तर, फोहोरलाई व्यवस्थापन गर्न सके यसबाट मोहर पनि कमाउन नसकिन्छ भन्ने पक्षलाई भने स्थानीय सरकारका जनप्रतिनिधिहरूले बेवास्ता गरिरहेका छन् । विश्वका थुप्रै शहरमा त्यहाँको फोहोरलाई सरकारी वा निजी क्षेत्रबाट व्यवस्थापन हुँदै आएको छ । दैनिक निस्कने फोहोरलाई पुनः प्रयोगयोग्य बनाउने र त्यसबाट आम्दानी पनि गर्न मिल्ने प्रणाली उनीहरूले अवलम्बन गर्दै आएका छन् । यस्तो प्रणाली नेपालमा पनि विकास गर्न सके अहिले जस्तो फोहोर व्यवस्थापनको समस्या टाउको दुखाइको विषय बन्ने थिएन ।

यद्यपि, नेपालका केही शहरमा फोहोरलाई मोहर बनाउन काम हुँदै आएको पनि छ । मुलुकको सफा नगरको रूपमा पुरस्कार जित्दै आएको हेटौंडा उपमहानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउन लगाएर उठाउँदै आएको छ । सो नगरले कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउनुका साथै नकुहिने फोहोरलाई पुनः प्रयोगयोग्य बनाउने काम गर्दै आएको छ । मुलुकका केही शहरहरूले फोहोर व्यवस्थापन गर्नका लागि व्यवस्थित ल्याण्डफिल साइट निर्माण गरी प्रशोधन र पुनः उपयोग गर्दै आएका छन् ।

काठमाडौं नजिकै रहेको बनेपा नगरपालिकाले हालै मात्र फोहोर प्रशोधन गर्नका लागि जापानबाट मेशिन नै खरीद गरेको छ । नगरले जापानी प्रविधिको ‘हिटा’ नामक कम्पनीको धूँवारहित चिम्नी (एफ वान मोडल) ल्याइसकेको छ । सो मेशिनमा फलाम र सिसाका टुक्राबाहेक सबै किसिमका फोहोर जलाउन सकिने जनाइएको छ । मेशिनले प्रतिघण्टा ३० देखि ४० किलोसम्म फोहोर जलाउन सक्ने र जलेको फोहोरको खरानी ब्लक तथा टायर निर्माण र तरकारी खेतीका लागि प्रयोग गर्न सकिने बताइएको छ ।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने निर्णय गरेको छ । तर, सबैभन्दा बढी पर्यटक आउने काठमाडौं, पोखरा र चितवन जस्ता शहरहरू फोहोर व्यवस्थापनको समस्याले आक्रान्त छन् । पर्यटकीय शहर नै फोहोर भएमा त्यसले पर्यटकलाई पक्कै पनि राम्रो सन्देश दिनेछैन । अर्को कुरा, सरसफाइ भन्ने कुरा अरुका लागि भन्दा पनि सर्वप्रथम आफ्नो लागि हो । त्यसकारण आफ्नो नगर सफा राख्न जनप्रतिनिधिले फोहोर व्यवस्थापनमा उचित ध्यान पु¥याउन आवश्यक छ । त्यसका लागि फोहोरलाई मोहरमा बदल्ने उपाय पहिल्याउनेतर्फ सचेत बन्नुपर्छ ।–rajyalaxmishakya@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here