पूर्वअर्थ सहायकमन्त्री तथा व्यापारी रूप ज्योति पक्राउ

10

काठमाडौं /  बिहीवार साँझ महानगरीय प्रहरी परिसरको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वअर्थ सहायकमन्त्री तथा व्यापारी रूप ज्योतिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले पक्राउको आदेश दिएको थियो । सोही आदेशअनुसार प्रहरीले ज्योतिलाई पक्राउ गरेको हो ।

बिहीवार सिल्क एयरको विमानबाट साँझ साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका उनलाई विमानबाट उत्रेको केही समयमा नै परिसर र सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । देशबाहिर रहेका उनी बिहीवार स्वदेश फर्कंदै गरेको सूचनाका आधारमा परिसरको टोली साँझ नै विमानस्थल पुगेको थियो ।

जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा उनलाई पक्राउ आदेश दिएको थियो । तर, अदालतको आदेशविरुद्ध निषेधाज्ञाको माग गर्दै ज्योति सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले मंसिर २४ मा उनलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

तर, मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलाशले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रीट निवेदन खारेज गरिदिएपछि प्रहरीले जिल्ला अदालतको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरेको हो ।

ज्योतिले विभिन्न व्यक्तिलाई २ करोड ७० लाख रुपैयाँ ठगी गरेको जिल्ला अदालतले ठहर गरेको थियो । उनले ल्यान्डमार्क डेभलपर्स प्रालि दर्ता गरी ठगी गरेका प्रहरीको भनाइ छ । पीडितमध्ये काठमाडौं महानगरपालिका–२६ गल्कोपाखाका विज्ञेन्द्रकृष्ण मल्ललगायतले उनीविरुद्ध प्रहरीमा उजुरी गरेका थिए । ज्योति शाहीकालीन समयमा सहायकमन्त्री भएक थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here