आत्मनिर्भर नेपालको अभियान थाल्ने कि ?

218

– राज्यलक्ष्मी शाक्य

नेपालको परनिर्भरता दिन प्रतिदिन बढ्दो छ । हरेक वस्तुमा हामी अन्य देशसँग निर्भर हुँदै गएका छौं । नेपालीहरूले विदेशमा कमाउने र त्यो पैसा नेपालमा आएर विदेशी सामग्री खरीद गर्ने प्रवृत्ति बढ्दै गएको छ । नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी न्यून छ । त्यसैले यहाँ न उत्पादन छ, न त रोजगारी नै । देशमा कलकारखानाको संख्या न्यून हुँदा नै परनिर्भरता बढेको हो ।

हालै मात्र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउन र भदौ महीनाको प्रतिवेदनले मुलुकको व्यापार घाटामा केही कमी आएको देखाएको छ । गत भदौ महीनासम्मको कुल वस्तु व्यापारघाटा २ खर्ब ११ अर्ब रूपैयाँ पुगेको छ । यस्तो घाटा पोहोरको भन्दा केही कम हो । गत वर्षको भदौसम्मको तुलनामा यो वर्षको व्यापारघाटा ३ दशमलव १ प्रतिशतले कम भएको राष्ट्र बैंकको भनाइ छ ।

यो अवधिमा निर्यात भने बढेको छ । भदौ महीनासम्ममा कुल वस्तु निर्यात २५ दशमलव ९ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो । निर्यात बढ्नुको प्रमुख कारण पाम तेल रहेको छ । तर, पाम तेलको कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने रहेछ । यसैले पाम तेलको निर्यात बढ्दैमा नेपाली पक्ष उत्साहित बन्नुपर्ने अवस्था छैन ।

नेपालको व्यापारघाटा अब बंगलादेशसँग पनि असन्तुलित हुँदै गएको छ । बंगलादेशमा निर्यात हुनेभन्दा पनि आयात हुने वस्तुको संख्या बढ्न थालेको छ । चालू आर्थिक वर्षको तीन महिनामा बंगलादेशसँग नेपालको व्यापार घाटा १ अर्ब ३१ करोड पुगिसकेको छ । तीन महिनामा १ अर्ब ७० करोड ९४ लाखको आयात गर्दा नेपालबाट ३९ करोड बराबरको वस्तु मात्रै निकासी भएको देखिन्छ । आफ्नो मुलुकबाट १२ प्रकारका औषधिहरू नेपाल निर्यात गरिरहेको बंगलादेशले नेपालबाट औषधि आयातको बाटो खोल्न अझै आनाकानी गरिरहेको छ । नेपालले काँकडभिट्टा नाकामै बंगलदेशलाई अनअराईभल भिसा जारी गर्ने गरे पनि नेपालीले बंगालादेश–भारत सीमाबाट उक्त सुविधा पाउन सकेका छैनन् ।

यही अवस्था रहिरहने हो भने नेपालको अर्थतन्त्र व्यापारघाटाकै कारण ठूलो संकटमा पर्ने निश्चित छ । तर, मुलुकमा दुई तिहाइको बहुमतयुक्त सरकार भए पनि आत्मनिर्भर अर्थतन्त्रका लागि काम हुन सकेको छैन । यो सरकार गठन भएको दुई वर्ष पूरा हुन लाग्दा पनि स्वदेशी वस्तुको प्रवद्र्धनमा उल्लेखनीय काम हुन सकेको छैन ।

सरकारले अहिले मन्त्रीमण्डल पुनः गठन गर्ने चर्चा चलेको छ । यदि त्यसो हो भने नयाँ र पुराना सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्रमा स्वदेशी वस्तुको प्रवद्र्धनका लागि गर्नसक्ने कामतर्फ ध्यान दिन आवश्यक छ । कृषिप्रधान मुलुक नेपालले अहिले तरकारी तथा चामल उल्लेख्य मात्रामा आयात गर्दै आएको छ । आफ्नो घरको करेसाबारी, छत र कौसी फलाउन सकिने तरकारीहरू पनि नेपालीहरूलाई किनेर खानी बानी परिरहेको छ । त्यसकारण कौसीखेती जस्तो अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक छ ।

सरकारले तत्काल आत्मनिर्भर हुनसक्ने, केही समय लाग्ने र दिगो योजना बनाएर आत्मनिर्भर हुन सक्ने योजनाको पहिचान गर्न आवश्यक छ । अनि त्यसका लागि बलियो योजना बनाएर प्रभावकारी ढंगले लागू गर्न आवश्यक छ । नेपाल तरकारी तथा केही प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने हो भने अहिलेको व्यापारघाटा धेरै कम हुनेछ । साथै, ग्यास तथा पेट्रोल खपतलाई कम गर्दै विद्युतीय सवारी साधन र खाना पकाउन विद्युत्को उपयोग बढाउने हो भने व्यापारघाटा निकै घट्नेछ । – [email protected]जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here