डाक्टरको लापरवाहीबाट बिरामी मर्छ भने त्यसको जिम्मेवार को ?

109

– निशा तामङ

मानिसलाई मृत्युको मुखबाट बचाउने डाक्टरहरूलाई भगवान सरह मान्ने बिरामीहरू डाक्टरप्रति अपार विश्वास गर्दछन् । आफूलाई डाक्टरले छुँदा मात्र पनि उपचार भएको जस्तो ठान्दछन बिरामीहरू । तर डाक्टरको लापरवाहीका कारणबाट विरामीको मृत्यु भएमा त्यही अपार विश्वास गर्ने बिरामीहरू नै आतकिंत बन्नुपर्ने अवस्था रहेको छ । पछिल्लो समय अस्पतालमा डाक्टरको चरम लापरवाहीले विरामीको मृत्यु हुने संख्या बढ्दै गएको छ । विरामी भएर उपचार गर्न जानेहरूमाथि अस्पतालका डाक्टरबाटै त्रासको सृजना गराइन्छ । सामान्य रोग लागेर उपचारका लागि अस्पताल गएका विरामीको पनि अस्पातालमै मृत्यु हुने गरेका घटनाहरू पटक–पटक दोहोरिरहेका छन् ।

भर्खरै मात्र काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल यस्तै विवादमा फसेको छ । अस्पताललाई विरामीको हत्या गरेको आरोप लागेको छ ।  यस्तै आरोपका कारण काठमाडौं चावहिलस्थित ओम अस्पताल पनि विवादमा परिरहने गरेको छ । यी दुई अस्पताल उदाहरण मात्र हुन् । यस्ता अन्य थुप्रै अस्पताल छन् जो यस्तै किसिमका विवादमा फसिरहने गरेकोे पाइन्छ ।

ठूलै रोग लागेर उपचारका क्रममा बिरामीको मृत्यु हुनु स्वाभाविक मानिएला । तर सामान्य अवस्थाका विरामी पनि उपचार हुने आशमा पुग्दा मृत्युवरण गर्नुपर्ने अवस्था दुखद हो । डाक्टरको लापरवाही भएको भन्दै नेपालका धेरै अस्पतालमा तोडफोड हुने गरेको छ । यस्ता विवादहरू धेरैजसो अस्पताल प्रशासनसँगको सहमतिमा टुंगिने गरेका छन् । अस्पतालमा डाक्टरका लापरवाहीका कारण विरामीको मृत्यु भएपछि पीडितका आफन्तले अस्पतालमा तोडफोड गर्ने गर्दछन् । जसले गर्दा अस्पतालको वातावरण तनावग्रस्त हुने गरेको पाइन्छ । विरामीको मृत्यु हुनासाथ आन्दोलनमा उत्रिने स्थितिले अस्पताल परिसरमा त्यहाँ उपचार गराइरहेका अन्य विारमीमा कस्तो असर पर्छ भन्ने पनि  मृत्यु भएका विरामीका परिवारलाई अलिकति पनि हेक्का हुँदैन । उनीहरू अस्पताल तोडफोड गर्नमै व्यस्त हुन्छन् । मृतक विरामीको शवको रकम लिएर मात्र उनीहरूको आन्दोलन टुङ्गिने गरेको पाइन्छ ।

अस्पतालजस्तो संवेदनशील ठाउँमा विरामीमाथि ‘डाक्टरले लापरबाही गरेको’ भन्दै मृतक विरामीका परिवार आफन्तले अस्पताल तोडफोड गर्ने अनि विरामी मृत्यु भएकोमा शवको क्षतिपूर्तिस्वरूप रकम माग्ने गर्नु लाशको व्यापार जस्तो देखिन्छ । एउटा डाक्टरको लापरवाहीका कारणबाट सम्पूर्ण अस्पताललाई नै दोषी देखाएर व्यवहार गरिनु उपयुक्त होइन । विरामीको उपचार गरेर जीवनदान दिने डाक्टर नै मृत्युको कारण बनेपछि डाक्टरप्रति जनमानसमा विश्वास घट्नु स्वाभाविक हो । तथापि कुनैपनि डाक्टरले आफ्नो विरामीलाई उपचार नगरेर जानी जानी मृत्युको मुखमा पु¥याउला भनेर शंका गरिहाल्न उपयुक्त हुँदैन । मानवीय कमजोरीका कारणले दुर्घटनाहरू हुनजानु डाक्टरको काबु बाहिरको परिस्थिति हो ।

स्वास्थ्य क्षेत्रमा सुधारका साथै अपराध र लापरबाहीका गतिविधिलाई नियन्त्रण गर्न सरकारले नागरिकको स्वास्थ्य सम्बन्धी हकलाई मध्यनजर गर्दै कानुन निर्माण गरेको थियो । मुलुकी अपराध (संहिता) ऐन २०७४ मा २३० देखि २४० सम्मका दफामा चिकित्सासम्बन्धी व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिता ऐन नयाँ व्यवस्थामा डाक्टरको लापरबाहीका कारण उपचारक्रममा बिरामीको मृत्यु वा अंगभंग भए पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको प्रावधान छ । त्यस्तै, हेलचक्य्राइँबाट मृत्यु वा अंगभंग भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने उल्लेख छ । तर यसमा व्यवस्था गरिएका विषयहरूप्रति चिकित्सकहरूले आन्दोलन नै गरेका थिए । उनीहरूले यो प्रावधान हटाउनका लागि  सबै चिकित्सा क्षेत्रलाई नै प्रभावित गर्ने गरी आन्दोलन थालनी गरेका थिए । अस्पतालमा सेवा प्रभावित हुने गरी उनीहरूले ऐनमा लेखिएका प्रावधान हटाउन माग गरेका थिए । बिरामी जचाउन आउनेहरू धेरै अलपत्र परेको अवस्था थियो । त्यहीबीच चिकित्सक र सरकारबीच केही सहमति पनि भए । यही सहमतिले आज फेरि डाक्टरहरूबाट बिरामी लुटिने र लापरवाही गरिने क्रम बढ्दै गएको छ भन्ने बुझ्न सकिन्छ ।

यस्ता लापरवाही गर्ने डाक्टरलाई के–कस्तो कारबाही गर्ने ? यस विषयमा चिकित्सकको योग्यता र दक्षता, आफ्नो पेशाप्रति मर्यादामा ल्याउन उनीहरूलाई सजग गराउन जरुरी छ । सबै भन्दा मर्यादित र सम्मानित पेशा मानिएको यो क्षेत्रमा देखिएको चरम लापरवाहीप्रति सम्बन्धित निकायले सोच्नु जरुरी देखिन्छ । डाक्टरको लापरवाहीबाट विरामी मर्छ भने त्यसको जिम्मेवार को ? स्वयं डाक्टरहरूले छातिमा हात राखेर सोच्नुपर्छ । चिकित्सा क्षेत्रमा लागेका डाक्टरहरूले पनि विरामीको उपचार जस्तो संवेदनशील विषयमा ध्यान पु¥याउन जरुरी छ । –  जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here