बेइजिङ उडानलगत्तै चाङसा र गोयाङमा पनि व्यावसायिक उडान गर्दैछौं

14

विजय श्रेष्ठ,
उपाध्यक्ष–हिमालय एयरलाइन्स

विजय श्रेष्ठ हिमालय एयरलाइन्सका उपाध्यक्ष हुन् । पाँच वर्षअघि चिनियाँ संयुक्त लगानीमा स्थापना भएको कम्पनी सञ्चालनमा नआउँदै नेपाली लगानीकर्ताबीच विवाद आयो । नेपाली लगानीकर्ता पृथ्वीबहादुर पाण्डे समूह कम्पनीबाट बाहिरियो । पाँच वर्षको अवधिमा कम्पनीले विभिन्न आरोहअवरोह भोगेर अहिले भने आक्रामक रूपमा उडान विस्तार गरिरहेको छ । प्रस्तुत छ कम्पनीका उपाध्यक्ष श्रेष्ठसँगको संवाद :

चिनियाँ संयुक्त लगानीको अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनी हिमालयले सुरुवातमै लगानीकर्ताको विवाद बेहो¥यो । त्यसपछि उडानका लागि भारतीय गन्तव्य पाएन । यस्तो असहज अवस्थाबाट सुरु भएको कम्पनीले अहिले कस्तो गर्दै छ ?
हिमालय एयरलाइन्स चिनियाँ संयुक्त लगानीका रूपमा स्थापना भयो । हाम्रो दृष्टिकोणबाट हेर्दा ठ्याक्कै विवाद त भन्न मिल्दैन । अब प्रश्न र जिज्ञासा राख्नु स्वाभाविक हो । कुनै पनि कम्पनी देशको सेवा गर्ने भनेर अगाडि आइसकेपछि कम्पनीले कसरी मुलुकको सेवा गर्छ, व्यावसायिक उडान कुन ठाउँबाट सुरु गर्छ भन्ने जिज्ञासा हुन्छ ।
इतिहास हेर्ने हो भने काठमाडौं–भारत उडानबाट नेपाली हवाई व्यवसाय सुरु भयो । पछि नेपाल उड्डयन क्षेत्र विस्तार भएपछि थाइल्याण्ड लगायत दक्षिण एसिया, युरोप लगायत क्षेत्रका मुख्य शहरमा उडान सुरु गरियो । अहिले आएर त्यो विकासलाई निरन्तर कायम गर्नुपर्ने हो तर गर्न सकिएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली वायुसेवा कम्पनीको स्थिति हेर्ने हो भने रिभाइभल ‘पुनरुत्थान’ गर्ने अवस्थामा छौँ । त्यसमा काठमाडौं–दिल्ली उडान गर्ने जिज्ञासा आउनु स्वाभाविक हो । सामाजिक, राजनीतिक, सांस्कृतिक, व्यापार, पर्यटन लगायतलाई मध्यनजर गर्दै नेपाली भ्रमण गर्ने मुख्य गन्तव्य भनेको भारत नै हो । कुनै पनि नयाँ वायुसेवा कम्पनीले व्यावसायिक उडान सुरु गर्दा भारतबाट गर्दै आएकोमा हिमालयले पनि त्यहीँबाट सुरु गर्न खोजेको हो । हिमालयले किन सकेन भन्ने कुरा स्वाभाविक हो ।
पर्यटकीय दृष्टिकोणले हेर्ने हो भने सार्क मुलुक अन्तर्गत भारतबाट धेरै पर्यटक आउँछन् । भारतको पनि दिल्लीबाट आउँछन् । स्वाभाविक रूपमा पर्यटन प्रवद्र्धनका लागि नेपाली एयरलाइन्समार्फत भारत उडान गर्नु हाम्रो दृष्टिकोण हो । हाम्रो आवश्यकता र अर्को पक्षको आवश्यकता ठ्याक्क मिल्नुपर्छ भन्ने पनि छैन । हामीले भारत उडानका लागि निवेदन दिएका थियौं । र, अहिलेसम्म पनि हामी भारत सरकारको प्रतिक्रियाको पर्खाइमै छौं ।
एयरलाइन्स बिजनेश भनेको बाघको सवारी हो । झर्न पनि नमिल्ने तर उसको स्पीडमा दौडिन परिरहने भन्ने सामान्यीकृत दृष्टिकोणबाट हिमालय एयरलाइन्स पनि टाढा हुन सकेन । सञ्चालनमा आएको केही महिनामै विमान नै भाडामा दिनेसम्मका कुरा बाहिर आए नि ?
संसारभरिको उत्कृष्ट एयरलाइन्सको उदाहरण दिनुपर्दा सिंगापुर एयरलाइन्सलाई लिन सकिन्छ । यो एयरलाइन्सको आफ्नै युनिट थियो । ‘सिंगापुर एयरलाइन्स एयरक्राफ्ट लिजिङ’ नामक विभागले भाडाको काम गथ्र्यो । संसारभरिको वायुसेवा कम्पनीले सिजनल मार्केटलाई मध्यनजर गर्दै यो युनिट सञ्चालनमा ल्याइएको हो । एउटा सिजनमा फ्लाइटको माग धेरै हुन्छ, अर्को सिजनमा त्यत्तिकै माग हुन्छ भन्ने पनि छैन । सिजन हुँदा एयरलाइन्सले आफूसँग भएको जहाजभन्दा बढी माग भएको स्थितिमा भाडामा ल्याउने हो । तीन महिना, छ महिना समयावधिको लागि ल्याउने हो ।
अब कुनै सिजनमा आफूसँग जहाजको माग कम भएको बेलामा लिज आउट गरिन्छ । लिज इन र लिज आउट संसारभरि एयरलाइन्स उद्योगले गर्दै आएको व्यावसायिक अभ्यास हो । यसलाई सामान्य रूपमा लिनुपर्छ । जस्तो अहिले हामीलाई थप जहाज आवश्यक छ । हामी थप जहाज लिने तयारीमा छौं । हामीसँग अहिले तीनवटा एयरबस ३२० ‘न्यारोबडी’ छ । हामी २०२० मा भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य र चाहनाअनुसार सहकार्य गरेर काम गर्ने योजनामा छौं । त्यही भएर अहिले हामी जहाज भाडामा दिनेभन्दा पनि लिने चरणमा पुगेका छौं ।
तपाईं हिमालय एयरलाइन्सको उपाध्यक्ष हुनुहुन्छ । यसको सबै पक्षमा जानकार पनि हुनुहुन्छ । एयरलाइन्स बिजनेश भनेको ‘क्यास बर्निङ बिजनेश’ हो । चिनियाँ संयुक्त लगानीको कम्पनी भए पनि नेपालीले पनि नाफाघाटा बेहोर्नै पर्छ । त्यो आधारमा हामीसँग अन्तर्राष्ट्रिय विमान चलाउने क्षमता कस्तो छ ?
क्षमताको कुरा गर्दा सुरुमा समग्र व्यवस्थापनलाई मुख्य मानिन्छ । समग्र व्यवस्थापनको लागि वर्क म्यानेजमेन्टमा विभिन्न टिम बनाइएको हुन्छ । टप म्यानेजमेन्ट टिम भनेर अध्यक्ष र दुईजना उपाध्यक्ष सहितको टिम छ । हामीसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सफल रूपमा सञ्चालन गरेको अनुभव छ । अपरेशन, क्वालिटी एस्योरेन्स, सेफ्टी, मेन्टिनेन्स, कमर्सियल, सेक्युरिटी, एचआर लगायत विभागमा बलियो टिम छ । बलियो टिम भन्नाले एडिक्वेटली र सक्सेसफुल्ली काम गरेको पुरानो अनुभव पनि हो । त्यसपछि हाम्रो संस्थाको व्यवस्थापन र संरचनाको आधारमा बलियो छ । त्यसपछि हामीकहाँ तालिम प्रभावकारी रूपमा दिँदै आइएको छ । हामीसँग कम्पनी सञ्चालनका लागि पाँचबुँदे सैद्धान्तिक नीति छ ।
एयरलाइन्सको हकमा हामीले सुरक्षा अन्तर्गत हवाई सुरक्षा र अकुपेसनल हेल्थ सेफ्टीलाई प्राथमिकतामा राखेका छौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले अडिट गरे अनुसार एसिया प्यासिफिक रिजनमा आउटस्ट्याण्डिङ एयरलाइन्स कम्पनीको उपाधि दिएको छ । कम्पनीभित्रका कर्मचारीहरूको लागि पनि सुरक्षाको व्यवस्था कार्यान्वयनमा ल्याएका  छौँ ।
अर्को भनेको कस्टुमर सर्भिसमा केन्द्रित छौं । सबै यात्रुलाई पूर्ण रूपमा सन्तुष्ट गराउनु हाम्रो मुख्य उद्देश्य हो । विभिन्न मुलुकबाट आएका यात्रु, जनशक्ति लगायतलाई आफ्नै (हिमालयकै) परिवार सदस्यको रूपमा लिएका छौँ । सबैलाई युनिभर्सल्ली हिमालयको उपमा दिएपछि दायित्वप्रति इमान्दार र निष्ठावान् देखिन्छन् । कार्य सम्पादनमा नचुकेर एक नम्बरको हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यसका लागि सम्पूर्ण कर्मचारीले कम्पनीभित्र र बाहिर इमानपूर्वक काम गर्नुपर्छ भन्ने सिद्धान्त बोकेका छौँ ।
अहिले जायन्ट भनिएका वायुसेवा कम्पनी समेत धमाधम संकटमा पर्दै छन् । नेपालकै सन्दर्भको कुरा गर्ने हो भने सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम समेत आर्थिक भारमा छ । राम्रो रुट नपाएका कारण तपाईंहरू पनि ठूलो नोक्सानीबाट ग्रुजिरहनुभएको सुनिन्छ । यो संकटबाट पार पाउने योजना कसरी बनाउँदै हुनुहुन्छ ?
एक नम्बरमा नेपाल वायुसेवा निगम छ । नेपाल वायुसेवा निगम भनेको राष्ट्रिय ध्वजावाहक संस्था हो । हाम्रो गौरव र राष्ट्रिय सम्पत्ति हो । त्यसकारण हिजो, आज र भोलि सबै समयमा नेवानी राम्रो हुनुपर्छ । त्यसपछि सम्पूर्ण नेपाली नागरिकले सरोकार, सहयोग र सद्भाव राख्नुपर्ने अर्को पक्ष हो । एयरलाइन्स उद्योगलाई अरु उद्योगलाई जस्तै गरी लिनुपर्छ । हरेक दशकको दौरान हेर्ने हो भने हिजोको उद्योग आज हुनुपर्छ भन्ने छैन। र, आजको उद्योग भोलि हुनुपर्छ भन्ने छैन । यो मान्छेको जीवनचक्र जस्तै हो ।
कतिखेर चलिरहेको उद्योग डुब्न पनि सक्छ । उद्योग व्यवसाय सधैँ एकैनास हुँदैन । विश्वभर कति एयरलाइन्स आए कति गए पनि । विभिन्न दृष्टिकोणबाट हेर्दा एयरलाइन्स बिजनेश चुनौतीपूर्ण छ । अर्थात् यो उद्योग चलाउन गाह्रो हुनेभएको कारण सबै सरोकारवालाले सकारात्मक हिसाबले योगदान गर्नुपर्छ । हवाई यातायात, सञ्चार र अन्य यातायात भनेको मुलुकको अर्थतन्त्रको इन्जिन हो । अब हवाई यातायातसँगै अन्य यातायात नै भएन भने मुलुकको अर्थतन्त्र राम्रोसँग अघि बढ्न सक्दैन ।
हिमालय एयरलाइन्सको सवालमा सिजनल, बिजनेश साइकल (चक्रीय प्रणाली) मा चल्छ । जीवन चक्रको आधारमा हेर्दा हामी दूधे बालकको अवस्थामा छौं । अहिलेको समयमा हामी बलियो हुन खोजिरहेका छौँ । सुरुको अवस्थामा प्राकृतिक रूपमा चुनौती पार गरेर अगाडि बढिरहेका छौँ । संसारभरका वायुसेवा कम्पनी सञ्चालनको सुरुवाती अवस्थामा केही नोक्सानी पनि हुन्छ त कतिपय कुरा सिकिन्छ पनि । हाम्रो कुरा गर्दा यो समयभरिमा हामीले लर्निङ साइकललाई अधिकतम प्रयोग गरेका छौँ । यसलाई हामीले पूँजीको रूपमा हेर्नुपर्छ । हाम्रो कामका कारण चाँडै लाभांश पाउनेमा विश्वस्त छौं ।
केही समयअघि चिनियाँ लगानीकर्ता तिब्बत एयरलाइन्स फेरिएर तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्टले एयरलाइन्सले किनेको छ । अहिले नेपालको उद्योग विभागमा शेयर हस्तान्तरणको चरणमा छ । नयाँ कम्पनी आउँदा सबल रूपमा अगाडि बढ्न सक्ने अवस्था रहला ?
अब नयाँ कम्पनी आउँदा सबल नरहने भन्ने त कुरै भएन । नयाँ कम्पनी किन आउँछ भन्दा सबल बनाउनै आउने हो ।
तपाईंहरूले सुरुमा श्रीलंका र म्यान्मार लगायतका देशमा पनि उडान गर्नुभयो । तर ती उडान लामो समय निरन्तरता दिन सक्नुभएन । ती गन्तव्य बिजनेशका हिसाबले भायबल थिएनन् कि अरु कुनै कारणले बन्द भए ?
यसका लागि दुईवटै देशलाई हेर्नुपर्ने हुन्छ । श्रीलंकाबाट अहिले नेपालमा ७० हजारभन्दा बढी पर्यटक आइरहेका छन् । अब ती यात्रीहरूको लगभग पाँच प्रतिशत हवाई यात्रु हुन्छन् । ९५ प्रतिशत पदमार्गी रहेका छन् । धेरै यात्रु लुम्बिनी सुनौली हुँदै आउँछन् । पर्यटकीय भन्दा पनि धार्मिक यात्राका लागि आउँछन् । हाम्रो योजना २५ प्रतिशतलाई हवाई मार्गमार्फत ल्याउने थियो ।
त्यो पर्यटनमार्फत भ्यालुएडेड बढ्छ भन्ने हाम्रो पूर्व लक्ष्य थियो । हाम्रो लक्ष्यअनुसार तीर्थयात्रीलाई पर्यटकको रूपमा परिवर्तन गर्न नसकेकै हो । यो लक्ष्य हामीले छोडेका छैनौँ । भोलिका दिनमा यो लक्ष्यलाई पुनर्जागरण गर्ने हाम्रो योजना छ । यस्तै अवस्था म्यानमारमा पनि भएको हो । हाम्रो पोटेन्सियललाई हामीले परिचालन गर्न नसकेको हो । पर्यटन भनेको एउटा इकोसिस्टम हो । पर्यटनमा एयरलाइन्समात्र भएर पुग्दैन । एयरलाइन्स त एउटा अंगमात्र हो । त्यसमा भूमिका खेल्ने ट्राभल एजेन्सी, होटल लगायत क्षेत्रको पनि बराबर भूमिका हुनुपर्छ । समग्र रूपमा पर्यटन इकोसिस्टमका अंगहरूले काम गरे पर्यटनको विकास हुन्छ ।
एयरलाइन्स बिजनेशका लागि ग्राउन्ड ह्याण्डलिङ लगायतका शुल्क महँगो छ । त्यसमा पनि नेपाल अझै महँगो रूपमा चिनिन्छ । अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीका लागि यसले कति महत्व राख्छ ?
अन्य विदेशी एयरपोर्टको तुलनामा हाम्रो एयरपोर्टको ग्राउण्ड ह्याण्डलिङ शुल्क महँगो छैन । यहाँको शुल्क महँगो पनि छैन र सस्तो पनि छैन । सस्तो भयो भने विदेशी एयरलाइन्सलाई राम्रो भइहाल्छ ।
तीनवटा एयरबस ३२० जहाजमार्फत छिट्टै चीनको बेइजिङ सँगै विभिन्न गन्तव्यमा उडान गर्ने योजना बनाउनुभएको छ । तयारी कस्तो हुँदै छ ?
अहिले चीनको बेइजिङ उडानलगत्तै चाङसा र गोयाङमा यही महिनादेखि व्यावसायिक उडान गर्न लागेका छौं । नेपाल सरकारसँग चीनको सेनजेङ र चोङचेङ लगायत दुई गन्तव्यको लागि निवेदन दिएका छौँ । अनुमति दिएपछि स्लट, अपरेशन लगायतको प्रक्रिया अगाडि बढाउँछौँ । यो सबै प्रक्रिया सिध्याउन तीन महिनाको समय लाग्छ । त्यसपछि यी गन्तव्यमा व्यावसायिक उडान गर्ने योजना बनाएका छौँ ।
यसैगरी ल्हासा (हाइ अल्टिच्युड अपरेशन) का लागि प्रणाली, तालिक, प्रोसिड्योर लगायतका कुरा तयारी भइरहेको छ । यसका लागि एयरबस ३१९ किसिमको जहाज ल्याउने तयारी गरिरहेका छौँ । यो सम्पूर्ण तयारी सिद्धिने बेलामा हामी अपरेशन क्यापबलिटी, रेगुलेशन, कमर्सियल्ली तयार हुनेछौँ ।
चीनमा नेपाल वायुसेवा निगमले अहिलेसम्म पनि उडान अनुमति पाएको छैन । तपाईँहरूले सरकारी स्वामित्वलाई समेत उछिन्नुभयो । यो कसरी सम्भव भयो ?
हामी लामो योजना र लामो तयारी गर्छौँ । उदाहरणका लागि बेइजिङको ड्याक्सिङ उडान एक वर्ष अगाडि देखिको तयारी हो । आजको भोलि नै तयार भएको होइन । उडानका लागि चिनियाँ नागरिक उड्डयन प्राधिकरणले एक वर्ष अगाडि नै अडिट गरेर उडान अनुमति दिएको थियो । हामीले तीन वर्ष अगाडिदेखि तयारी थालेका थियौं ।
वायुसेवा उद्योगप्रति सरकारले कस्तो नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ ?
नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरण नीति २०६३ मार्फत नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा चलाउनका लागि वातावरण सिर्जना गरिदिएको छ । यसका लागि हामी हवाई उद्योगमा भएको नाताले सरकारप्रति आभारी छौँ । सरकारले कुनै पनि नयाँ गन्तव्यमा गएर पर्यटक भित्र्याउने प्रस्ताव राख्दा प्रोत्साहन गर्दै आएको छ ।
हामीले विदेशी एयरलाइन्स कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्छ । प्रतिस्पर्धाको आधार भनेको इन्धन मूल्य हो । हवाई यातायातको ठूलो लागत भनेकै इन्धन हो । ३५ देखि ४० प्रतिशतसम्म एयरलाइन्सको प्रत्यक्ष सञ्चालन लागत लाग्छ । यो लागतलाई मध्यनजर गर्दै भाडादार निर्धारण गर्नुपर्ने हुन्छ । हाम्रो इन्धन महँगो भयो । अन्य मुलुकमा तुलनात्मक हिसाबले इन्धन सस्तो छ । इन्धन लागतलाई अन्तर्राष्ट्रिय मूल्य अनुसार कार्यान्वयनमा ल्याउनुपर्छ । भाडादरकै कारण विदेशबाट पर्यटक आउन पनि हिच्किचाउँछन् । इन्धन महँगो हुँदा हामी प्रतिस्पर्धामा पछि परिरहेका छौं । अर्को महत्वपूर्ण खर्च भनेको एयरक्राफ्ट हो । एयरक्राफ्ट लिजमा ल्याउँदा भन्सार १० प्रतिशत पैसा तिर्नुपर्छ । तीन प्रतिशतलाई बढाएर १० प्रतिशत पु¥याउँदा हामीलाई समस्या भएको छ । (वसन्तराज उप्रेती, बिजमाण्डू डटकम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here