मोदीले नेपालमा राष्ट्रियताको पुनर्जागरण गराएका छन् !

113

–प्रीति रमण

केपी ओली नेतृत्वको नेपाल सरकारले सिमा अतिक्रमणका बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर नेपालको सिमा अतिक्रमण भएको निष्कर्श निकालेको छ । नेपालको इतिहासमै राष्ट्रियताका सन्दर्भमा राष्ट्रिय सहमति बनेको यो पहिलो घटना हो । सायद नेपालका राजनीतिक दलहरू सत्ताका लागि गुटबन्दीमा लागिरहने अवस्था हुन सक्दथे हालका दिनहरू । कहिलेकाहीँ कुनै घटनाले नयाँ मार्गनिर्देश गर्दछ । हामी को हौं ? हाम्रो हैसियत के हो ? हाम्रो उद्देश्य र लक्ष्य के हो ? के कुरामा हामी केन्द्रित हुनुपर्ने हो भन्ने जस्ता विषयहरूमा यस्ता घटनाले सोच्न घच्घच्याउने गर्दछ । नेपालका राजनीतिक दलहरूको सन्दर्भमा यो तथ्यले झनै काम गरेको देखिन्छ । २०६४ सालमा संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन गरेर प्रयास शुरू गरेका राजनीतिक दलहरू करीब ८ वर्षसम्म आन्तरिक खिचातानीमै अल्मलिए । ‘मेरो गोरुको बाह्रै आना’ भन्ने खालको मनोवृत्ति भएका दलका नेताहरूका कारण २ वर्षभित्र निर्माण गर्न सकिने संविधानका लागि त्यत्रो समय कुर्नुप¥यो ।

बल्लतल्ल राजनीतिक दलहरूले सहमति जुटाए र २०७२ सालमा नयाँ संविधान जारी गरे । तर, यसको प्रमुख श्रेय भने राजनीतिक दलका नेताहरूलाई मात्र होइन, भूकम्पलाई पनि जान्छ । कैयौं वर्षदेखि एकअर्कासँग पिठ फर्काएर बसेका दलहरूलाई २०७२ को भूकम्पले आमनेसामने गरायो । देशको शोकपूर्ण अवस्थामा हामी नेताहरू एकजुट हुनैपर्छ र नयाँ संविधान निर्माण गरेर भए पनि जनतालाई खुशी बनाउनेतर्फ काम गर्नुपर्छ भन्ने सम्पूर्ण दलहरूको साझा धारणा बन्यो । सोही कारण कैयौं असमझदारीमा सहमति गर्न समय लागेन । ७ वर्षसम्म सहमति नभएका विषयमा ५ महिनामा नै सहमति भयो र नयाँ संविधान जारी भयो पनि ।

राजनीतिक दलहरूलाई एकजुट बनाउन कारक बनेको पछिल्लो घटना हो, भारतले नेपाली भूमिलाई पनि समेटेर आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गर्नू । यद्यपि, यो घटनाको पृष्ठभूमिमा ४ वर्षअघि भारतले नेपालविरुद्ध लगाएको नाकाबन्दी पनि छ । २०७२ मा नेपाली दलका नेताहरूले आपसी सहमतिमा नयाँ संविधान जारी गर्दा असन्तुष्ट बनेको भारतले नाकाबन्दी जस्तो अमानवीय व्यवहार देखाएको थियो । पहिलोपटक नेपाली दलहरूले दिल्लीको सहयोग नलिई नेपालको भविष्यमा ठूलो महत्व राख्ने संविधान जारी गर्न सहमति जुटाउँदा भारत चिढिएको थियो । जसको परिणाम नाकाबन्दी हुनपुग्यो ।  तर, नाकाबन्दी गर्दाको बेफाइदा उल्टै भारतलाई नै भयो । भाषण गर्दा नेपालसँग राम्रो सम्बन्ध गर्न खोज्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकाविरुद्ध नेपालमा अप्रत्यासित नाराबाजी सुरु भए । भारतले आफ्नो राम्रो छिमेकीलाई ठूलो घात गर्दा कैयौं वर्षसम्म नमेटिने घृणामात्र कमायो । यता नेपालमा भने राजनीतिक दलहरू राष्ट्रवादी एजेन्डालाई बोक्न एकजुट बन्ने वातावरण बन्यो । भलै त्यो बेलामा राजनीतिक दलहरू एक ठाउँमा त आउन सकेनन्, तर अब भारतीय साम्राज्यवादी र हेपाहा नीतिको विरुद्धमा आवाज उठाउनुपर्छ भन्ने धारणालाई बलियो बनायो । फेरि नाकाबन्दीको सामना गर्नु नपरोस् भनेर दैनिक उपभोग्य सामानहरूको वैकल्पिक उपलब्धताको माध्यम खोजी गर्ने काममा एक किसिमको सफलता भएको मान्नुपर्दछ ।

भारतीय हेपाहा प्रवृत्तिको पुनरावृत्ति फेरि एकपटक देखिएको छ । भारतले नेपाली भूमिलाई आधिकारिक रूपमा नै आफ्नो भनेर दाबी गरेको छ । प्रत्यक्ष रूपमा भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई अतिक्रमण गरेको छ, तर अप्रत्यक्ष रूपमा नेपालको सुस्ता, तिलाठी लगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई भू–भागसंग जोडिएका सिमा क्षेत्रका थुप्रै भूभाग अतिक्रमण गरेको विषय गम्भीर रूपमा उठ्न बाँकी नै छ ।

भारतको पछिल्लो कदमले नेपालमा राष्ट्रवादको पुनर्जागरण देखिएको छ । यो पटक नेपालका राजनीतिक दलहरू भारतीय अतिक्रमणको विरुद्धमा एकजुट भएका छन् यो नै राष्ट्रियताप्रतिको पुनर्जागरण हो । यस्तो पुनर्जागरणले देशमा राष्ट्रिय संकटको समाप्ती हुन सक्छ । देशलाई आत्मनिर्भर अर्थतन्त्रमा विकसित तुल्याउन राष्ट्रिय सहमति बनाउने आधार पनि तयार हु्न सक्छ । राजनीतिक दलहरूले यसमा बुद्धिमतापूर्ण तवरले काम गर्न सक्ने हो भने नेपालको समृद्धिको प्रवेशद्धार यही भारतबाट सृजित संकट हुनसक्ने छ । यसबारेमा छिटोभन्दा छिटो भारतसँग उच्चस्तरीय वार्ता गरी नेपाली भूमिको संरक्षण हुनु जरुरी छ ।

भारतीय पक्षको गलत कदमले धुमिल बन्न लागेको नेपाली राष्ट्रवादबारे चर्चा र बहस गर्ने वातावरण सृजना भएको छ । नेपालमा छिमेकी देशले सीमा मिच्दा राष्ट्रवाद जाग्ने गरेको छ । सडकमा नागरिकहरूको भीडले ‘हामी वीर गोर्खाली हौं, कसैको हेपाहा प्रवृत्ति सहन्नौं’ जस्ता नारा लाग्ने गरेका छन् । ‘इन्डिया गो ब्याक’जस्ता नाराले राष्ट्रियताप्रति नेपाली जनता कति सचेत छन् भन्ने सन्देश प्रवाह भएको छ । घटना सेलाएसँगै विरोध बन्द हुने र उही भारतसँग परनिर्भरता यथावत् हुने वातावरणको अन्त्य गरिनुपर्छ । दीर्घकालीन समस्या समाधानका लागि दलहरूले सामुहिक प्रयास थालनी गर्नुपर्छ । नरेन्द्र मोदीले नेपाली जनतामा राष्ट्रियताको भावना जागरण गराउन ठूलो योगदान पु¥याएका छन् । यसअर्थमा मोदीलाई हामी नेपालीहरूले धन्यवाद दिएपनि फरक नपर्ला ! – [email protected] जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here