चीनबाट रेल ल्याएर समाजवादको वैतरणी पार गर्ने रहर

9

-नारायण नेपाल

चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतिक्षित नेपाल भ्रमण गत महिना सम्पन्न भएको छ । सी भ्रमणले पैदा गरेको तरङ्ग भने नेपाली राजनीतिको केन्द्रमा कम्पायमान गरिरहेकै छ । यो भ्रमणले राजनीतिक, बौद्धिक र कूटनीतिक तहमा व्यापक रूपमा ध्रुवीकरण भएको देखिन्छ । अकस्मात् सी वादी भएर देखापरेका नेता तथा विद्वानहरूको बिस्तारै रङ्ग खुइलिँदै असली रूपमा प्रकट हुन थालेको छ । नेपाली समाजमा एक उखान छ, ‘काशी जाने कुतीको बाटो’ भन्ने विपरीत गन्तव्यको मार्गमा हिँड्नेलाई कटाक्ष गर्ने यो उखान नेपाली राजनीतिमा यतिबेलाचाहिँ ठ्याक्कै उल्टो गरी हिँड्नुपर्ने बाध्यता आइनलाग्ला भन्न सकिन्न । सी भ्रमणको पूर्वसन्ध्यामा सरकारी नेकपाले सी पथको हल्लाखल्ला बेजोडले गरेको थियो । अब केही समयपछि कमरेडहरूले गज्जबले मोदीकरणको हल्ला गर्नेछन् । हिजोको नाकाबन्दीको घाउ भुलेर अरुणको गंगाजलले मोदीको पाउ पखाल्ने, चिनियाँ रेलको पुच्छर समातेर समाजवादको वैतरणी तर्दै छन् ।

आजको क्षेत्रीय राजनीतिमा एसिया महाद्वीपको क्षेत्रीय स्वार्थमा भारत पहिलो प्राथमिकतामा होला कि नेपाल आजको चीनका लागि ? यही प्रश्नमा घोत्लिएर खोज्यो भने उत्तर सल्र्लकै आउँछ । नेपाली कमरेडका सी पथको मोदीकरणको सूत्र । अझै सरल भाषामा भन्ने हो भने चिनियाँको नेपाल हेर्ने भारतीय चस्माको किस्सा गज्जबको छ ।

इतिहासकार अंशुबर्माको लिच्छविकाल अघिको इतिहासका तथ्य उजेल्न सकेका छैनन्, तर सरकारी घोषणाले नेपाल–चीन कूटनीतिक सम्बन्धलाई छोटो अवधिको भन्ने चर्चा गरे । भृकुटी र अरनिको इतिहास र बिरासत त सरकारले बोक्नै नसकेपछि जनताले बोक्नुपर्ने होला । उत्तरका बादशाहसँग घा राख्नु भन्ने पृथ्वीनारायण शाहको उपदेश र आजसम्म बिस्तारै पलाउँदै गएको नेपाली समाजका मनोविज्ञानको साइनो पक्कै छ होला । नेपालीलाई चिनियाँ पाहुना आउँदा केटाकेटीलाई मामा आएजस्तो, पापा ल्याउने आस र भारतीय पाहुना आउँदा ज्वाइँ आएजस्तो नदीनाला दक्षिणा दिनुपर्ने त्रासको मनोविज्ञानको जग किन कसेको होला ?

इतिहासतिर फर्केर नियाल्दा १८५६ को थापाथली सन्धि, नेपाल–तिब्बत युद्धको लफडादेखि सगरमाथा विवाद हँुदै आजको लिपुलेक मामिलालाई अपवादमै राखौं । त्यो बोक्ने जिम्माचाहिँ भारतीय र पश्चिमा दलाललाई टीकोटालो लाएर दिउन ! के भो र ? नेकपा (नेकपा)ले सी पथको हल्लाखल्ला गरेर एक तमासा देखायो होटेल याक एण्ड यतीमा । माओ विचारबाट माओवाद हँुदै प्रचण्डपथको उत्कर्षसम्म पुगेका कामरेडको आज जनताको बहुदलीय जनवादमा दुःखद अवसान अर्थात् पतन भएको छ । विचारको विकासका शृंखलामा पूर्णविराम लगाएर सत्ताको तर मार्न गएका दुनियाँ माझको रमिता अब त ‘…भन्दा देख्नेलाई लाज’ भनेझैँ भइसक्यो । शब्द प्रयोगका हिसाबले नयाँ जनवाद, बहुदलीय जनवाद कार्यनीतिक भ्रम थियो, नेपाली कम्युनिस्ट आन्दोलनमा र त्यही भ्रमको आडम्बरमा बाँचेको छ आजको ओली लालसत्ता ।

आज पश्चिमा आँखाले पुँजीवादी लोकतन्त्रको सङ्कटको मोचन गर्ने नयाँ प्रजातन्त्रको रूपमा लिन खोज्दै छन् । कतिपयले चिनियाँ व्यवस्थालाई, तर चिनियाँ आफूलाई वैज्ञानिक समाजवाद भन्दै छन् । नेपालमा भने आफ्नो पथको ठेगान नहुने कहिले सी त कहिले मोदी नै हो । अझै ट्रम्प र पुटिनपथको हल्ला नचल्ला भन्न सकिन्न । तर, सवालचाहिँ पहिलो बन्ध्याकरण गरेको विचार संश्लेषणको प्रक्रिया खोल्ने र बाटो निर्धारण पहिलो सर्त हो । कम्युनिस्टको पहिला विचार र त्यसपछि विचारको आधारमा मार्ग तयार गर्ने चलन हो ।

हिजोको नेपाल कम्युनिस्ट पार्टीलाई नपत्याउने चिनियाँ आज खड्गप्रसाद ओली सरकारको दुईतिहाइ देखेर आए कि उनीको राष्ट्रिय स्वार्थका लागि होला ? त्यो सत्य बोल्न अहिले धेरै नेपाली बुद्धिजीवी तयार छैनन् । माओले भनेका थिए भन्दै डा.केशरजंग रायमाझी भन्छन्– नेपालका राजा फिलिपिन्सका मार्कोसजस्तो अरूको दलाल होइन भन्दै राजासँग मिल्न सुझाएका थिए भन्ने उल्लेख गरेका छन् (फर्केर हेर्दा पृष्ठ ५५) । तर आज न देशमा राजा नै राजनीतिमा बिक्न सक्यो न त रायमाझीको धार नै कम्युनिस्ट आन्दोलनमा टिक्न सक्यो । यो किस्सा पक्कै समीक्षा गरेको होला आजको चिनियाँ कम्युनिस्ट पार्टीले । यस्ता अनगिन्ती असफलताको किस्सा छ नेपालमा चिनियाँको ।

नेपाल सरकारको अर्थ मन्त्रालयको रेकर्डले देखाएको वैदेशिक सहायताको तथ्य हेर्दा पनि प्रस्ट हुन्छ नेपालमा विश्वबैंक सबैभन्दा धेरै, अन्तर्राष्ट्रिय मुद्राकोषलगायतको पश्चिमा सात समुद्रपारिको देश अमेरिकाको लगानी छिमेकी देश चीनको भन्दा झन्डै तेब्बर छ । नेपालमाथि सहायताको नाममा भएको लगानी होस् वा ऋण लगानी त्यो चीनको टाउको दुखाइ हो । विश्वशक्ति राष्ट्रको छिमेकमा पश्चिमा देशको लगानीभन्दा अति न्यून चिनियाँ लगानी र पश्चिमा प्रभाव चिनियाँको सवालको मुख्य पाटो हो र २३ वर्षपछि चिनियाँ सरकारप्रमुखको पाइलो टेक्नुको अर्थ पनि शायद यही नै हो ।

नेपालमा आज चीन र अमेरिका प्रत्यक्ष मैदानमा उत्रिएका छन् । उदाहरणका लागि सशर्त मिलिनियम च्यालेन्जको ५० अर्बको काउन्टरमा निसर्त ५४ अर्ब चिनियाँ सहयोग त्यही कडीको पछिल्लो एक किस्सा हो सी को उपहार । तर, चिनियाँको दाबी भने सी पथ होइन माओको राजनीतिक जग, देङको अर्थनीति र सीले जोड्न खोजेको प्रविधि र आधुनिकताको ऐतिहासिक रेसमीमार्गको कूटनीति र एसियाली सभ्यताको क्षेत्रीय नारा हो । अझै मौलिक रूपमा भन्ने हो भने हिजो बाजेले रेसम बेच्ने व्यापारीको बाटोमा नातिले रेल दौडाएर बजार नियन्त्रण गर्ने हो, व्यापार गर्ने हो र नाफा असुल्ने हो । नेपाल आउनुअघि भारतमा सीलाई मोदीले दुई हजार वर्ष पहिलेको झल्को दिलाउन महावलीपुरममा भ्रमण गराए, प्राचीन मित्रताको सन्देश दिएर वार्ता गरे, नरिवलको पानी पिलाएर र मौलिकताको पहिचान गराउँदै वार्ता गरेका थिए । तर, नेपालीचाहिँ विदेशी रक्सीमा गिलास ठोक्काएर रेल माग्न हात पसारेर तमासा देखाए । वर्तमानको कस्मिरको राजनीतिक स्वार्थ हो भारतको भने चीनको भारतीय बजारको स्वार्थ हो । भारतको बजार गुमाएर न चीनले नेपालीलाई राहत दिन्छ न त संसार नै जित्न सक्छ । तर, सीको यसपटकको दक्षिण यात्राको दाउपेचको राजनीति कस्मिरको नजरबन्द र त्यो खोल्दाको परिणाम पहिला व्यवस्थापन गर्ने भारतीय सोच हो, त्यहाँ पाकिस्तानी अडान र पश्चिमाहरूको स्वार्थको लगनगाँठो भारतको टाउको दुखाइ हो । त्यो दुखाइ मेट्न मोदीले चिनियाँ औषधि खोजिरहेका छन् । चीन आर्थिक युद्धको मैदानतिर अग्रसर छ आज । सैन्य युद्धभन्दा हजारौँ गुणा खतरनाक हुन्छ व्यापारयुद्ध । यो पेचिलो बेला नेपालले कहाँ के हो आफ्नो लाइन पहिला क्लियर गर्न जरुरी हुन्छ । भारतलाई सरापेर चीनतिर अढेस लाग्ने नेपालीे राष्ट्रवादको रमिता लिपुलेकले छर्लङ्ग पारेको छ ।

त्योभन्दा लम्पट चेतना र सोचाइचाहिँ कतिपय विद्वानले सहेको देखियो । सीले नेपाल आएर सुनको अन्डा कोरल्ने कुखुरा देलान् अनि समृद्धिको समाजवाद मौलाउँछ भन्ने सोच्नेहरू हीराको पहाडमाथि निदाएका छन् । सीको झटारो मज्जैले भेटेका छन् । बोलेको गर, जनताको मन जितेर मात्रै शासन टिक्छ भन्दै । तर, हामी नेपाली संसार हल्लाउने चाबी (साँचो) गोजीमा राखेर आफै हल्लिँदै कहिले उत्तर त कहिले दक्षिण भौँतारिएका छौँ । भारतीय दादागिरीविरुद्ध भरोसाको राहत चीनबाट लिने मनोभावना छ नेपालीमा । रेलको राजनीतिको हतियार बनाएका छन्, तर जनता नुन तेलका लागि अरबमा सस्तोमा श्रम बेच्न विवश छन् ।

संसारमा पहिलो विश्वयुद्धका बेला स्थलसेना लगेर जमिन र सत्ता हडप्ने तरिका थियो । दोस्रो विश्वयुद्धका बेलासम्म आइपुग्दा भने उपनिवेश कायम गर्न शासन गर्ने प्रचलन विकास भयो । दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रले आफ्नो वफादार दलाल खडा गर्ने गरेका थिए । पछिल्लो समय र अहिले बजार र अर्थतन्त्रमा नियन्त्रण गर्ने गरको पाइन्छ । नेपाली राजनीतिमा भने नेकपाको सी पथ र कमरेडको मोदीकरणको राष्ट्रवाद नेपाली जनतालाई रमिता भयो ।- जनधारण साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here