अवैध लागूऔषध सहित पक्राउ

196

काठमाडौं / काठमाडौं शंखरापुर नगरपालिका-९ इन्द्रेणीबाट अवैध लागूऔषध पोल्याण्ड १ केजी सहित काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारी प्रगति चोक बस्ने भारत जितिया पोखरीया घर भएका राकेश शाहालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा. ९६ प ९८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा शाहालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ८५ ट्याब्लेट सहित ललितपुर सानेपा बस्ने सर्लाही हरिवन नगरपालिका-११ घर भएका २३ वर्षीय सूर्य बहादुर तिमल्सिनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

साथै पर्साकाे  वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका-१४ दैनी खोला घर भएका २१ वर्षीय प्रकाश लामा, झापा दमक नगरपालिका-१० घर भएका २६ वर्षीय मनोज कुमाल र उदयपुर गाईघाट नगरपालिका घर भएका २४ वर्षीय रोशन थापा मगर रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले प्रकाश लामालाई नाईट्राभेट १ सय ५० ट्याब्लेट, मनोज कुमाललाई नाईट्राभेट १ सय ५० ट्याब्लेट र रोशन थापालाई नाईट्राभेट ३ सय ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके जिल्लाकाे नेपालगंज उपमहानगरपालिका-२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम र नगद ७० हजार रुपैयाँ सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ घर भएका २५ वर्षीय सुमित बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भ. ७ प १४८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरका चालक बोहरालाई उक्त परिमाणको लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here