– निशा तामाङ
नेपाल १२७ भन्दा बढी समुदाय बसोबास गर्ने बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय लोकतान्त्रिक मुलुक हो । नेपालमा रहेका आदिवासी जनजातिको आफ्नो छुट्टै मातृभाषा, परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचान रहेको छ । हाल नेपालको आदिवासी जनजातिमा ५९ जाति सूचीकृत गरिएको छ । आदिवासी जनजाति भन्नाले कुनै पनि ठाउँमा परापूर्वकालदेखि बसोबास गर्दै आएका र आफ्नो छुुट्टै सांस्कृतिक पहिचान भएका समुदायलाई बुझिन्छ । जनजातिको संस्कृतिलाई संरक्षण गर्नकै लागि २०४७ सालयताका नेपालको संविधानमा बहुजातीय देश भनेर व्यवस्था गरेको समेत पाइन्छ ।
तर, नेपालका रहेका सबै जातजातिहरूको समानुपातिक विकास हुन सकेको छैन । अझ आदिवासी र जनजाति भनिएका समुदायका ठूलो जनसंख्या गुणस्तरीय शिक्षा र स्वास्थ्यबाट वञ्चित छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, सुरक्षा, प्रशासन, राजनीति आदि सबै क्षेत्रमा समान रूपमा अधिकार पाउन सकेका छैनन् । जबसम्म मुलुकका सम्पूर्ण जातजातिहरूको समान विकास हुँदैन तबसम्म सुखी नेपाली, समृद्ध नेपाल भन्ने वर्तमान सरकारको लक्ष्य पनि पूरा हुन सम्भव छैन ।
नेपालमा रहेका आदिवासी जनजातिको यकिन तथ्यांक अझैसम्म पाउन सकिँदैन । २०६८ को जनजगणना अनुसार जनसंख्याको कुल ३५.२ प्रतिशत (कुल ९३,४८,९०४ संख्या) आदिवासी जनजातिले ओगटेको छ । पछिल्ला जनगणना अनुसार जनजातिको संख्या घट्दै गएको पाइन्छ । तर, हाल जनजातिमा धर्म परिवर्तन लहर पनि उत्ति नै बढेको पाइन्छ । हिमालदेखि तराईसम्म रहेका जनजातिहरू धर्म परिवर्तन गर्दै कतै हिन्दू त कतै क्रिश्चियनतर्फ लागिरहेको पाइन्छ । यसअर्थमा भन्ने हो भने एक प्रकारले आफ्नो छुट्टै संस्कृति, परम्परा र रीतिरिवाज रहेका जनजाति आफ्नो संस्कृति परित्याग गर्दै गइरहेका छन् । आफ्नो धर्म बिर्सिंदै गएका छन्।
नेपाल भन्नेबित्तिकै दौरा सुरुवाल र शिरमा ढाका टोपी लगाएको छवि नेपालीलाई चिनिन्छ । तर, त्यति मात्र नेपालको पहिचान होइन । हरेक जनजातिको आआफ्नै वेषभूषा छ, जुन नेपालकै सम्पत्ति हो । तर, पछिल्लो समय आदिवासी र जनजातिको पोशाक ओझेलमा पर्दै गएको छ । हरेक जातजातिको पोशाक संरक्षणमा हाम्रो चासो र चिन्ता बढ्न आवश्यक छ । देशको पहिचान त्यस देशमा बसोबास गर्ने सबै नागरिकको भाषा, इतिहास, संस्कृति, पुर्खा, वेषभूषा, मूल्य र मान्यता तथा सभ्यतासँग जोडिएको हुन्छ । त्यसैले यहाँका प्रत्येक समुदाय, जाति र क्षेत्रको मौलिक पहिचानको बारेमा चिन्तन एवं बहस वर्तमान युवावर्गमा आवश्यक छ ।
हालै मात्र काठमाडौंमा सम्पन्न राष्ट्रिय जनजाति विद्यार्थी सम्मेलनले जनजाति विद्यार्थीहरूमा आफ्नो संस्कृति कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा छलफल आयोजना गरेको थियो । सम्मेलनमा जनजाति क्षेत्रमा सकारात्मक वातावरण निर्माण, उचित अवसरको सृजना, शिक्षा, स्वास्थ्यको प्रभावकारी व्यवस्था तथा प्रशासनिक, शैक्षिक, न्यायिक एवं सामाजिक आदि क्षेत्रमा संस्कारित एवं योग्य नेतृत्व निर्माण गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।
जनजाति उत्थान तथा संस्कृति परम्परा संरक्षणका लागि उनीहरूको शीप कौशललाई उजागर र संरक्षण गर्न जरुरी छ । यसका लागि जातिगत, राजनीतिक प्रभाव र स्वार्थबाट माथि उठ्दै सबै जनजातिको हितका विषयमा सोच्नुपर्ने बेला आएको छ । जातीय संस्कृति र पहिचानको संरक्षणसहित राष्ट्रिय पहिचानका लागि जनजाति क्षेत्रलाई नेतृत्व प्रदान गर्नका लागि सही मार्गनिर्देश गर्नु पर्दछ । उनीहरूको शीप कौशल र क्षमतामा अभिवृद्धि गर्दै नेतृत्व तहमा पु¥याउनुपर्दछ । जनजातिको कला, साहित्य र संस्कृतिको संरक्षण गर्दै यसको पुस्तान्तरण गर्नु जरुरी छ ।
विगतमा देशको सार्वभौमिकता, सुरक्षा, अखण्डता र राष्ट्रिय एकताका लागि जनजाति समुदायले निकै नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हामी सबैलाई थाहा भएकै विषय हो । देश विकासका लागि हरेक क्षेत्रमा जनजाति समुदायले योगदान दिँदै आएका छन् । तर, जनजाति समुदायका नयाँ पुस्ताले आफ्नो भाषा, संस्कृति र परम्परा बिर्सिन थालेका छन् । जनजातिहरूले आफ्नो संस्कृति, परम्परा र भाषा संरक्षणमा त्यति चासो देखाएको पाइँदैन । यसले गर्दा निकट भविष्यमा जनजातिको भाषा, संस्कृति र परम्परा इतिहास बन्न सक्ने सम्भावना बढ्दै गएको छ ।
प्रत्येक समुदायभित्र रहेको आफ्नो भाषा, संस्कृति, इतिहास र मौलिकतालाई जीवन्त राख्न आवश्यक छ । यसको लागि जनजातिका नयाँ पुस्ता जागरुक हुन जरुरी छ । राष्ट्रको सुरक्षा, संस्कृति, इतिहास र एकतामा महत्वपूर्ण ऐतिहासिक भूमिका खेलेको जनजाति मूल प्रवाहमा कमजोर देखिन्छन् । जनजाति कतै विदेश गएका छन् त कतै विदेश लाहुरमा भर्ती हुने गरेका छन् । उनीहरू देश विकासमा लाग्नुपर्ने आवश्यकता छ । सरकारले पनि यस विषयमा गम्भीरतापूर्वक सोचेर जनजाति हितका लागि कार्य गर्नु जरुरी छ ।
यसका साथै नेपालका आदिवासी र जनजातिहरूको संस्कृति तथा परम्परा संरक्षणका लागि सञ्चारमाध्यमहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ । सञ्चारमाध्यमहरूले पश्चिमा संस्कृतिलाई पछ्याउनेभन्दा मुलुक मौलिक संस्कार संस्कृतिलाई प्रचारप्रसार गर्नुपर्दछ । यसबाट हामी हाम्रो पहिचान जोगाउन सक्दछौं, आफ्नो संस्कृति, भाषा र परम्पराको संरक्षण गर्दै भावी पुस्तामा पुस्तान्तरण गर्न सक्नेछौं । नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ मा भनिएजस्तै नेपालमा विविधतायुक्त जातजातिका फूलहरू एउटै माला भएर देश विकासमा अग्रसर हुनु आवश्यक छ । – जनधारणा साप्ताहिक