मोदीको आशीर्वादमा नेपालको कार्यकारी बन्ने प्रचार !

70

काठमाडौं । अमेरिकाबाट प्रकाशित ‘फोब्र्स’ म्यागजिनको व्यवस्थापन पक्षलाई रिझाएर विश्वका अर्बपतिहरूको सूचीमा सूचीकृत हुन सफल भएका नेपालका उद्यमी विनोद चौधरी नेपालकै कार्यकारी प्रमुख बन्ने प्रचारमा लागेको पाइएको छ । विनोदले आफूलाई इण्डियन प्रधानमन्त्री नरेन्द्र मोदीको अभिन्न मित्रको रूपमा विगत लामो समयदेखि प्रचार गर्दै आएका छन् ।

तत्कालीन नेकपा एमालेले संविधानसभाको सदस्यमा समानुपातिकबाट प्रवेश गराएपछि राजनीतिक नशामा तानिएका यी अर्बपति दोस्रो पटक संविधानसभामा एमालेलाई छोडेर कांग्रेसको पछि लागे । एमालेले २० करोड रूपैयाँको मोलमोलाइ गरेकाले आफू कांग्रेसतर्फ लागेको स्पष्टीकरण समेत उनले धेरै जनासँग दिने गरे । यस्तो गुनासो विनोद चौधरीले जनधारणासँग पनि फोन संवादमा गरेका थिए । बिनोद चौधरीसँग माओवादीले युद्धकालमा २५ करोड रूपैयाँ चन्दा माग गरेको थियो । माओवादीलाई केही रकम चन्दा दिएर छुटकारा पाउन यिनले धेरै जनासँग हारगुहार पनि गरेका थिए । पछि माओवादीका नेता ‘कान्छा बहादुर’सँग लेनदेनको काम सम्पन्न गरेका थिए ।

यिनै विनोद चौधरीले सञ्चालन गरेको सिजी इलेक्ट्रोनिक्समा आगलागी गराएको घटनामा बढी बीमा दाबी गरेको आरोप लागेको थियो । उच्च अदालत पाटनबाट ५८ करोड बढी दावी गरी बीमा रकम ठगी गरेको आरोपसमेत उनलाई लागेको ठहर भएको हो । यिनै बिनोद चौधरीले नेपालबाट विदेशतिर पुँजी पलायन गरेका छन् । आफ्ना छोराहरूलाई समेत विदेशी नागरिक बनाएर नेपालबाट पुँजी पलायन गर्ने चोरबाटो यिनले अपनाएको बयान आफै सार्वजनिक गरेका थिए । अहिले नेपाली कांग्रेसको समानुपातिक कोटाको सांसदको हैसियत बनाएका बिनोदले नेपालको कार्यकारी प्रमुख बन्ने महत्वाकांक्षा देखाएर मोदीको आशीर्वाद रहेको प्रचार गराउँदै हिँड्नु आश्चर्यको विषय भएको हो ।

इण्डियाका शक्तिशाली प्रधानमन्त्रीका रूपमा रहेका नरेन्द्र मोदीले एकातिर नेपालका सबै नदीहरू कब्जा गरेका छन् भने नेपालको भौगोलिक सिमानासमेत प्रयोग गरेर इण्डियन सैन्य क्याम्प राखेका मात्र नभई नेपाली भूभागलाई इण्डियाको नक्सामा गाभेर नेपालप्रतिको दुर्भावना स्पष्टै देखाएका छन् । यस्ता नेपालको अहित गर्ने छिमेकी देशका प्रधानमन्त्रीको आशीर्वादबाट नेपालको कार्यकारी बन्ने सपना देखिरहेका अर्बपति चौधरीको प्रचार फगत प्रचार मात्र नभई ठूलो षड्यन्त्र हुने आशंका पनि बढाएको छ । सिक्किमलाई इण्डियामा बिलय गराउने क्रममा खेलेको खेलझैं नेपालविरुद्ध इण्डियाले अहिले खेल्न थालेको आभास भइरहेको टिप्पणी एक राजनीतिक विश्लेषकले गरेका छन् ।  -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here